सर्लाहीको हरिवनमा ठूलो घोटाला, बिल भर्पाइ बिना लाखौँ निकासा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सर्लाहीको हरिवनमा ठूलो घोटाला, बिल भर्पाइ बिना लाखौँ निकासा



सर्लाहीको बागमती नगरपालिकामा भएका अनियमितताको विषय सेलाउन नपाउँदै सोहि जिल्लाको हरिवनमा पनि ठूलो अनियमितता बहेको खुलेको छ । रोचक त के छ भने यो नगरपालिका जिल्लामै उत्कृष्ट घोषणा भएको थियो ।

हरिवन–८ मा अवस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ३९ लाख ६४ हजार पैयाँभन्दा धेरै आर्थिक अनियमितता भएको छानबिनको क्रममा फेला परेको छ ।

अनियमितता भएको आशंकाबीच गरिएको छानबिनमा करिब ४० लाख अनियमितता भएको खुलेको हो । हरिवन नगरपालिका–८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको क्रममा समितिको कोषबाट ३९ लाख ६८ हजार ४६५ रुपैयाँ आर्थिक अनियमितता भएको बताइएको छ।

गएको साउन २५ गते भएको उपभोक्ता भेलामा सहभागीले समितिमा व्यापक आर्थिक अनियमितता भएको भनेर चर्को विरोध गरेपछि वडाध्यक्ष ढुंगानाको नेतृत्वमा ११ सदस्यीय सर्वदलिय तथा सर्वपक्षिय छानविन समिति गठन गरिएको थियो।

आर्थिक वर्ष ०७५÷०७६ देखि चालु आर्थिक वर्षको अहिलेसम्म संस्थाको आय व्ययको विवरण, सम्पूर्ण श्रेस्ता र जिन्सी सामानहरुकोसमेत अभिलेख हेरेपछि समितिले प्रतिवेदन तयार पारेको हो।

संस्थालाई सरकारीसहित विभिन्न निकायबाट प्राप्त अनुदान र खानेपानीको महशुलबापत उपभोक्ताबाट संकलित रकममध्येबाट ३९ लाख ६८ हजार ४६५ रुपैयाँ आर्थिक अनियमितता भएको छानविनका क्रममा खुलेको प्रतिवेदनमा उल्लेख छ।

आइतबार संस्थाको प्रांगणमा आयोजित उपभोक्ता भेलामा छानविन समितिका संयोजक प्रज्वल ढुंगानाले हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र उपमेयर हरिमाया घलानलाई छानविनको प्रतिवेदन हस्तान्तरण गरेका छन्।

खानेपानी समितिको अध्यक्ष यज्ञविनोद ढुंगेल छन्। ढुंगेल निवर्तमान वडाध्यक्षसमेत हुन्। अध्यक्ष ढुंगेल र कोषाध्यक्ष संजिता घिमिरलेले विभिन्न व्यक्ति र संस्थालाई बिना विल भर्पाइ विभिन्न मितिमा रकम भुक्तानी गर्दा आर्थिक अनियमितता भएको निष्कर्ष छानविन समितिले निकालेको हो।

स्वयं अध्यक्ष ढुंगेल र कोषाध्यक्ष उप्रेतीको नाममा पनि बिना बिल भर्पाइ लाखौँ रकम निकासा भएको छानबिनका क्रममा देखिएको छ। अध्यक्ष ढुंगेलको नाममा एकपटक एक लाख २० हजार र अर्कोपटक २१ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। त्यसैगरी कोषाध्यक्ष उप्रेतीले पनि समितिबाट विभिन्न मितिमा गरेर ४ लाख ६३ हजार ५ सय रुपैयाँ भुक्तानी लिएकी छन्।

अध्यक्ष ढुंगेल र कोषाध्यक्ष उप्रेतीको नाममा भुक्तानी भएको रकमकोसमेत सम्पूर्ण बिल भर्पाइ फेला पार्न नसकिएको संयोजक ढुंगानाले जानकारी दिए।

त्यसैगरी समितिकी पूर्व कर्मचारी देवी भट्टराईले अझैसम्म एक लाख ९४ हजार ३८८ रुपैयाँ बैँक दाखिला नगरी आफैँसँग राखेको छानबिनमा देखिएको छ।

त्यस्तै इन्धन खर्चबापत २ लाख ४८ हजार १८३ रुपैयाँ खर्च भएको देखाइए पनि त्यसको पनि कुनै बिल भौचर फेला पार्न नसकिएको समितिले जनाएको छ।

‘समितिले आवश्यक सामान खरिद गरेको भने पनि त्यसको कुनै विल भर्पाइ नभएकाले निकासा भएको करम के काममा कति खर्च भयो, त्यो यकिन गर्न सकिएन,’ संयोजक ढुंगानाले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘श्रेस्ता हेर्दा जिन्सी सामग्रीहरु खरिद गरेको देखिए पनि त्यसको अभिलेख देखिँदैन। भुक्तानी दिँदा कुनै बिल भर्पाइ पनि राखेको पाइएन।’

समितिले हरिवन नगरपालिकाको वडा नम्बर ८ र ११ मा खानेपानी वितरण गर्दै आएको छ।