नवलपरासीमा हतियार बुझाउन प्रशासनको निर्देशन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नवलपरासीमा हतियार बुझाउन प्रशासनको निर्देशन



नवलपरासी : नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुर र बर्दघाट सुस्ता पश्चिम परासी क्षेत्रमा गरी ३३ वटा हतियार संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुर र परासीले चुनाव अगावै आफूसँग भएका हतियार प्रशासनलाई बुझाउन निर्देशन जारी गरे सँगै नवलपुर क्षेत्रमा ८ र परासी क्षेत्रमा २८ वटा हतियार संकलन भएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले चुनावलाई शान्तपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भन्दै कानुन संवत अनुमति लिएर राखेका वा नराखेका सबै हातहतियार बुझाउन निर्देशन गरेको छ ।

प्रशासनले भरुवा बन्दुक, पेस्तोल, कटुवा पेस्तोल, गोलीहरु र विष्फोटक पदार्थ जस्ता सम्पूर्ण हात हतियार चुनाव अगावै नजिकको प्रहरी कार्यालयमा बुझाउनका लागि जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो । अघिल्ला चुनावका बेला प्रशाससनले समय अवधी तोकेर हतियार बुझाउन आग्रह गर्ने गरेको भए पनि यसपटक गृहमन्त्रालयवाट समय सीमा तोकेर नआएकाले प्रशासनले समय सीमा तोकेको छैन ।

त्यसकारण यथाशिघ्र सम्बन्धित स्थानमा गएर हतियार बुझाउनको लागि सूचना जारी गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार अहिलेसम्म नवलपुर क्षेत्रमा ८ वटा ठूला हतियार संकलन भएको छ ।
चुनावलाई लक्षित गरेर हुन सक्ने घटनालाई मध्येनजर गरी नागरीकसँग भएका हातहतियारलाई सुरक्षित राख्नको लागि र गलत कामका लागि प्रयोग नहोस् भनेर चुनाव अगावै हातहतियार बुझाउनको लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताउनुभयो ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम परासी मा २५ थान हतियार संङकलन भएको छ । अनुमति लिएर राखिएका हातहतियार निर्वाचन अवधिभर जम्मा गरेपनि पछि फिर्ता गरिने आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनले सूचना प्रकाशित भएका अवधीमा हातहतियार नबुझाएकाको हकमा प्रहरीले बिशेष कारवाही सञ्चालन गरी हातहतियार बरामद भए कडा कारवाही गर्ने जनाएको छ ।