आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं « Himal Post | Online News Revolution
Logo

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं



कोहि मान्छे गालीले मर्थ्यो भने सायद यतिबेला प्रचण्ड यो संसारमा रहने थिएनन । पंक्तिकार स्वयं पनि प्रचण्डलाई सत्तोसराप गर्ने भिड़मा धेरै चोटि मिसिएको हो । यति धेरै गाली,यति धेरै श्राप र यति धेरै तिरस्कारको बिच पनि प्रचण्ड राजनीतिको केन्द्रमा छन, चानचुने भएर पक्कै होइन । प्रचण्ड बिलक्षण राजनीतिज्ञ हुन । उनी राजनीतिक,सामाजिक र सह अस्तित्वका चेतनाका पर्याय हुन । प्रचण्ड नेपाली समाजमा प्रत्येक नेपालीलाई म पनि एक विशेष अस्तित्व बोकेको नागरिक हुँ भन्ने चेतना स्थापित गराउने प्रतिनिधि हुन । उनी गल्ती त गर्छन,स्विकार पनि गर्छन । अडानको ईगो उनीमा अरु नेतामा भन्दा कम छ । उनी आक्रामक छन, तर लचिला पनि छन । हो, उनमा थुप्रै मानविय कमजोरी हरु छन, उनले थुप्रै राजनीतिक र व्यक्तिगत गल्तीहरु गरेका छन ।  तर उनी जत्तिको प्रभावकारी नेता समकालीन नेपालमा छैन, त्यसैले त उनलाई गाली गरेर मात्रै पनि कैयौंको रोजिरोटी चलिरहेको छ,राजनीति चलिरहेको छ ।

प्रचण्ड जब भूमिगत जीवनबाट सार्वजनिक जीवनमा आए, उनलाई हेर्ने मान्छेहरुको दृष्टिकोण दुई ध्रुवमा बिभाजित भयो । एक थरिले उनीबाट केहि आशा राखे । फलस्वरूप पहिलो संबिधान सभामा माओवादीले अपेक्षा गरे भन्दा बढ़ी मत पायो । तर त्यो मतलाई दोश्रो संबिधान सभा सम्म प्रचण्डले जोगाउन सकेनन । अर्को थरि प्रचण्डका कटु आलोचक थिए, जो दोश्रो संबिधान सभामा माओवादीले भोगेको पराजय पछि अझ बढ़ी हौसिए । ती आलोचक कोहि युद्धकालमा माओवादी बाट जानी जानी वा अंजानमा पीड़ित थिए त कोहि पंचायत देखि प्रजातंत्र सम्मका सामन्तहरु थिए । प्रचण्डहरूले युद्ध गर्नु हुन्थ्यो कि हुँदैनन्थ्यो,त्यो बहसको अर्को पाटो । प्रेम र युद्धमा सब जायज़ छ भनिए पनि युद्धका डोब पुरिन त्यति सजिलो पक्कै हुँदैन । युद्धका घाउ भोगेकालाई प्रचण्डको प्रशंसा गरेको पक्कै मन पर्दैन । उहाँ हरु प्रति मेरो सम्मान र सहानुभूति छ । तर कोहि त बोल्नै पर्छ,कसैले त लेख्नै पर्छ । युद्ध देखि शान्ति सम्म आइपुग्दा प्रचण्डले जति गल्ती गरेका छन,त्यति महसूस पनि गरेका छन र पश्चात्ताप पनि गरेका छन । यो गुण जो कोहि नेतामा हुन्न ।

प्रचण्डले राजनीतिमा धेरै थरि प्रयोग गरे । सबै जसो प्रयोग असफल जस्ता देखिए पनि नेपाली समाजमा बिस्तारै सुसुप्त रूपमा देखिंदै गरेका परिवर्तन हरुमा ती प्रयोगहरूकै योगदान छ । उनले जानाजान गरेको मुख्य ग़ल्ती बाबुराम भट्टराईको पार्टी बहिर्गमन रोक्न नसक्नु हो । उनले यो गल्तीको मूल्य आगामी चुनावमा चुकाउने निश्चित छ । तथापि देशको खातिर प्रचण्ड आफ़ैमा ख़राब नियत भएका नेता चाहिं होईनन । उनको राष्ट्रभक्तिमा जो जसले जुन स्वार्थले औंला उठाए पनि औंला उठाउनेको भन्दा कम उनको राष्ट्रभक्ति छैन बरु बढ़ी नै होला । सानो सपना र चानचुने आकांक्षाले टाउकोको मूल्य तोकिएर कोहि राजनीति गर्दैन । यिनै प्रचण्ड हुन, जसले दुई जनाको अगाड़ी उभिएर आफ्नो कुरा राख्न नसक्ने नेपालीलाई अधिकार माग्न सक्ने बनाए । पंचायत क़ालीन मुखिया र क़ाज़ीहरुक़ो फ़रमान चल्ने गाऊँ बस्ती हरुमा म पनि बराबरीको नागरिक हुँ भन्ने अनुभूति प्रत्येक नागरिकलाई दिलाए । त्यसैले त त्यत्रो विध्वंशको बाबजुद पनि प्रचण्डको पार्टीलाई जनताले एकपटक पत्याए । तर प्रचण्डले त्यो विस्वास लाई व्यवस्थापन गर्न सकेनन । उनको व्यवस्थापकिय कमजोरीको फ़ाईदा त्यही सामन्ती वर्गले उठाउन सुरु गर्यो, जसको बिरुद्ध प्रचण्डले बुलेट देखि ब्यालेट सम्मको यात्रा तय गरे । सरकारी/ग़ैरसरकारी संयन्त्र र मीडियाको मजबूद पकड़ भएको त्यो वर्ग संक्रमणक़ालीन राजनीतिको फ़ाईदा उठाऊँदै यति हावी भै दियो कि प्रचण्ड-हरूले अघि सारेर उनिहरूलाई समेत लतारिन बाध्य परेका परिवर्तनका मुद्दाहरुमै जनतालाई दिग्भ्रमित पार्न सुरु गरियो ।  र यो क्रम अहिले पनि जारी छ । सामन्ती वर्गको त धर्म नै त्यही हो, तर यहाँ दोष बढ़ी प्रचण्डको छ । प्रचण्ड अलि बढ़ी सत्वाकांक्षि भए, अलि बढ़ी आत्मकेन्द्रित र स्वार्थी भए । फलस्वरूप मध्यमवर्ग़िय सामन्तवादले नेपाली समाजलाई जित्दै गयो, परिवर्तनका बिचारक (कुशल व्यवस्थापक नभएकोले संवाहक भनी नहालौं) प्रचण्डहरु हार्दै गए । नेपाली समाजको बनोट अनुसार यो घम्सा घम्सीमा एकदिन प्रचण्डले हार्ने निश्चित प्रायः छ । भोलीका दिनमा प्रचण्ड राजनीतिमा रहलान नरहलान, तर उनले केहि गुन नेपाली समाजमा लगाएका छन जसको इतिहासले मूल्यांकन गर्ने छ । र ती गुन प्रचण्डले केहि अस्वाभाविक प्रयोग गरेर लगाएका हुन । अस्वभाविक यस अर्थमा कि जुन प्रयोगहरुको कल्पना सम्म गरिंदैनथ्यो नेपाली समाजमा, आज ती प्राक्टीसमा छन ।

४६ सालमा प्रजातंत्र आएको त भनियो । तर मलाई सम्झना छ, गाउँ घरमा कसैले पनि पंचायत क़ालीन मुखिया,काजी र प्रधान हरुको कुरा काट्न सकदैनथ्यो, कानून भनेकै उनीहरुक़ो मुट्ठीमा थियो, सर्वसाधारणको अधिकार भनेकै उनीहरुक़ो फ़रमान(सहि/गलत) थियो । शहर तिर टोले गुण्डा,नाइके र डन हरूको दबदबा थियो । सोझा निमुखाहरु आवाज़ सम्म निकाल्न सकदैनथे । जब प्रचण्डहरु सतहमा आए, सामन्तहरु निश्तेज भए । डरले वा रहरले,, दलितले मन्दिर,महिलाले मंच,अनि मुखियाका हलीहरुले शहर सम्म देख्न पाए । तर जब प्रचण्ड हरु सत्ताको लागि आतुर भएर आए, सामन्त हरूले फेरि टाउको उठाए । कोहि प्रचण्ड हरुमै समाहित भएर त कोहि ‘प्रचण्ड हरुको बन्दूक़ खोसियो अबक के नपिंछ र’ भनेर हौसिए  । बुलेट बाट ब्यालेटमा आउँदा जनमतको लालचले प्रचण्डहरु अलि बढ़ी उदार भए । प्रचण्डले गरेको यो पहिलो प्रयोग थियो सत्ता राजनीतिमा । पहिलो संबिधान सभामा भोट बटुल्न त यो प्रयोग सफल देखियो तर प्रकारान्तरमा त्यही प्रयोग प्रत्युत्पादक बन्यो । तर पनि भनिन्छ नि प्रयोग नै विज्ञानको मुहान हो । नेपाली समाजको मध्यमबर्गिय सामन्ती चरित्र पर्दामा आयो । यो चरित्र सत्ता र शक्तिको अघिपछि गरिरहन्छ, आफूले जसरी पनि पाईरहन्छ र भनिरहन्छ ‘मलाई पनि पुग्यो सम्धिलाई पनि पुग्यो’ । यो चरित्र यति बेला ज़बरदस्त आवाज़मा भनिरहेको छ, परिवर्तन हाम्रो लागि घाँडो हो, हामीलाई जे जसो गरेर पुगिरहेको छ त्यसमा हस्तक्षेप नगर । नपुगेका हरुको बाल (चल्तीको भाषामा) भएन । यो दृश्य पर्दामा देखाइदिने प्रचण्डलाई आऊनोस, न्वारन देखिको बल लगाएर गाली गरौं ।

प्रचण्डले गरेको अर्को प्रयोग पशुपतिको पुजारी प्रकरण हो । भगवान हाम्रा,रखवाला अर्कै। प्रचण्डले आफ्ना नाथ आफनै हातको प्रक्टिस नगरेका होईनन । तर कहाँ कता बाट अबरोध भयो घाम जत्तिकै छर्लंग छ । त्यो बेला छिमेकि देश संगको सद्भावको दुहाइ दिनेहरु अहिले महान राष्ट्रवादी भएका छन अनि सद्भाव कुन चराको नाम हो भने झैं गरी घृणाको ब्यापार गरिरहेक़ा छन । गरून ब्यापार, उठाउन नाफा, सरोकार भएन । तर प्रचण्डको यो प्रयोगले स्वकथित राष्ट्रवादीहरूले धर्म वा राजनीतिको नाममा वर्षौं देखि स्विकारेको दासत्व लाई पर्दामा देखाइदियो । नपत्याए भोलि नै पशुपतिको पुजारी काण्ड प्रयोग दोहोरियोस, कथित राष्ट्रवादीले नै दासत्व भित्रको कथित सद्भाव अलापेनछन भने म लेख्न छोडिदिउँला,चुनौती भो । यहाँ राष्ट्रवाद मौसमी छ । कुनै मौसममा भारतसंग सुरुंग युद्धका असम्भव योजना सुनाउने प्रचण्ड-बाबुराम खाँट्टी राष्ट्रवादी थिए त यो मौसममा सय मूसा मारेर हज जाने बिरालो प्रवृत्तिका मान्छेहरु सबभन्दा बढ़ी राष्ट्रवादी भएका छन,फरक यत्ति हो । पशुपति पुजारी काण्डको प्रयोग प्रचण्डको लागि त प्रत्युत्पादक बन्यो,तर त्यो काण्डले पर्दामा देखाइदिएको सत्य उजागर जरुर भयो । नेपाली समाजले खुशी-खुशी वा दबाबमा स्विकारिरहेको भारतीय दासत्वलाई कुनै इतिहासले आफ्नो पानामा समेटनछ भने त्यो हाम्रा भावी सन्तति प्रतिको सबै भन्दा ठूलो बेइमानी हुनेछ । आउनोस, यो दासत्वको नज़ीरको लागि पनि प्रचण्डको सत्तोसराप गरौं ।

प्रचण्डले गरेको अर्को प्रयोग कटुवाल काण्ड हो । दरबार बाट पालित पोषित एक सिपाहीको नाइके, जसले ६२/६३ को आन्दोलन र जनताको परिवर्तनको चाहनालाई सधै अवमूल्यन गरिरह्यो,जो बोल्नै नमिल्ने पदमा बसेर पनि आन्दोलन र कैयौंको शहादत बाट प्राप्त उपलब्धिको बिरुद्ध बोलिरहयो,त्यो सिपाहीको नाइकेलाई हटाउन खोज्दा देशमा ठूलो रडाको मच्चियो । अहिले आफुलाई राष्ट्रवादी र परिवर्तनकारी दाबी गरिरहेको जत्था नै उक्त सिपाहीको नाइकेको पक्षमा ज्यान फालेर लाग्यो । प्रचण्ड एक़्लिए अनि हारे । जनता पनि चूँइक्क बोलेनन, किन बोल्थे ? सनातनि राजनीतिक आस्थाको बर्खिलाप बोल्नु हुन्न, चाहे असत्यले नै जितोस । नेपाली जनमानसको यो मान्यता आगामी कैयौं युग सम्म उस्तै रहने छ । नेपाली समाज बोल्ने समाज होइन, आदेश मान्ने समाज हो । तर कटवल काण्डले के कुरा छर्लंग देखाइदियो भने, चाहे तपाइँ जति नै ब्यबस्था फेरेका कुरा गर्नुस, चाहे शासन प्रणालीलाई जे नाम दिनुस नेपाली समाजले स्वीकार्दै आएको शासन भनेको दासताको शासन नै हो, जुन कुनै समय राणाले गरे, कुनै समय राजा र तिनका भारदारले गरे । अनि अहिले राजा प्रवृत्तिका लोकतांत्रिक भनाउदा नेता र झूठको पुलिन्दा-आत्मकथा लेखेर जनतामाँझ भ्रम छर्ने अटेर कटवाल जस्ता जर्साबहरुले गरिरहेक़ा छन । आउनोस, यो दासी जीवन र आगामी हाम्रा कैयौं दासी पूस्ताको ख़ातिर प्रचण्डको मृत्युको कामना गरौं ।

प्रचण्ड बाबुरामले जातीय राज्यको कुरा गरे भनियो । वास्तवमा त्यो जातीय नभएर सांस्कृतिक र भाषिक थियो भनेर न उनीहरुले बुझाउन सके न भोट बढ़ने लालचमा बुझाउन न नै चाहे । फल स्वरुप जातीय विभेद ल्याउन खोजे भनेर प्रचार गरी देश भर आगो बालेर आफ्नो राजनीतिक रोटी सेक्न खप्पिस हरूले जनतालाई अर्कै पाठ पढ़ाइदिए । अहिले पनि तिनै पछि परेका समुदायका जनता ‘जातीय राज्य चाहिंदैन,देश तुक्रयाउन पाइंदैन’ भनिरहेका छन । प्रचण्डमा यो भन्न तागत बाँकि पनि रहेन कि ‘हामिले तपाइँ हरुको भाषिक,सांस्कृतिक अनि पृथक पहिचानको आधारमा अधिकारको माग गरेका हौं,जातीय राज्य हैन’ । किनकि प्रचण्डहरुले अरुले नै रटान लगाइदिएको जातीय नाराले भोट बटुलिन्छ भनेर चुप लागे तर अभिष्ट पूरा भएन । यो मुद्दामा पनि प्रचण्ड चुके । तर हार्दा हार्दै पनि प्रचण्डको यो प्रयोगले एउटा सत्य के सतहमा ल्याइदियो भने कथित सद्भाव भन्नु नै कुनै एक खाईपाई आएको वर्गको दासत्व स्विकार्नु हो । र मान्नुस नमान्नुस, केहि नगण्य अपवाद छोडेर, नेपालमा वर्ग भनेकै जात हो । उदाहरणको लागि एउटा जनजाति सिपाहीले रीटायर्ड जीवनमा आफ्नो पल्टनको लड़ाईंको बखान गरोस, आफ्नै गल्तीले खुट्टामा गोली लागेको सुनाओस, उसको कुरा सुनिरहेक़ा पण्डित बा ले पात्रो पल्टाउँछन र भन्दिन्छन, ‘लाहुरेको त्यो दिन शनिको ग्रह परेको रैछ’ । लाहुरेले आफ्नो गल्ती भन्दा शनिको दोषलाई ठूलो देख्छ, अनि आफ्नो भोगाइलाई विस्वास नगरी पण्डितको भनाईलाई विस्वास गर्छ । नेपाली समाज यसरी नै चलेको छ । यसैलाई सद्भाव पनि भनिएको छ । र यी कथित सद्भावहरुलाई प्रचण्डका प्रयोगले हल्लाउनै सक्दैनन । तर पर्दामा ल्याउन जरुर मद्दत गर्छन । पर्दामा देखिने सर्वस्वीकार्य दृश्य के हो भने, यो समाज बदलिने समाज होईन । आऊनोस, बदलिनै नसक्ने हाम्रो समाजको ख़ातिर प्रचण्डलाई आर्यघाटमा पठाऊँ ।

४६ साल पछि केहि हुनेखाने घरका केटाहरु राजनीति गर्थे । उमेरले बालक भए पनि ती मध्येको एक म पनि थिएँ । घर पारी कुमाल बस्ती,घर माथि भर्ताल टोल,अलि माथि दमाई टोल, ग़ैरिटोलमा कामी हरु, शीरमा गुरुंगहरु, हामी मिलेर नै बसेका थियौं । फरक यत्ति हो, कोहि कसैले छोएको खाँदैनथ्यौं त कोहि कसैलाई साथी मान्दैनथ्यौं । कोहि हाम्रा खेताला मात्र थिए त कोहि हाम्रा भरिया मात्र । हामी कोहि अह्राई मात्र रहन्थ्यौं, कोहि मानी मात्र रहन्थे । हामी जो जसले पाएका थियौं,जो जसलाई पुगेको थियो त्यति भए केहि चाहिएको नै थिएन, हामी मिलेर बसेका  थियौं ।  तर प्रचण्ड हरु आए, अधिकारका कुरा,छुवाछूतका कुरा गरे,विभेदका कुरा गरे,समानताका कुरामा हाम्रा कुरा मान्नेलाई उचाले । अनि समाज भाँडे । सद्भाव बिथोले । प्रचण्डहरु अपराधी हुन, आऊनोस प्रचण्डको टाउको काटेर फूटबल खेलौं ।

एक थरि नेपाली छन जो दुई किलो चामलको लागि दुई दिन हिंडेर सदरमुक़ाम पुग्छन । अर्को थरि नेपाली छन जो मोबाइलका स्क्रीन चर्किने गरी नेताको सत्तोसराप गर्छन ।  जो जसको हातमा मोबाइल छ, जो जसको इण्टरनेट,टी भी मा पहुँच छ, आजको दिनमा प्रचण्ड कसैलाई मन पर्दैनन, थाहा छ । कसैलाई मन नपर्ने मान्छेको बारेमा लेखेर म स्वयं पनि ठूलो रिस्क मोलिरहेको छु,त्यो पनि थाहा छ । तर जसरी प्रचण्डहरुका असफल प्रयोगले स्थापित गरिदिएका सत्यलाई इतिहासले आँखा चिम्लिने ठाउँ छैन, त्यसरी नै सत्य नलेखेर भोलि आफनै सन्तानबाट समेत कायर पुर्खाको उपाधि मलाई पाउनु छैन । प्रक्रियागत रूपमा प्रचण्डले अनगिंती गल्ती गरेका होलान । युद्धकाल देखि शान्ति प्रक्रिया सम्म आइपुग्दा प्रचण्डले गरेका गल्तीलाई उनकै पश्चात्ताप र स्विकारोक्तिले पखालिसकेका छन । प्रचण्ड एक कदम अघि र एक कदम पछि हुन सक्ने लचकदार राजनीतिज्ञ हुन । उनी जड़ होईनन । तर नेपाली समाज जड़ नेतृत्वको माग गर्छ ।  प्रचण्डले जुन जोखिम मोलेर सामाजिक चेतनालाई यहाँ सम्म ल्याए, त्यसको लागि उनको मृत्युको कामना गर्नै पर्छ । अरु नभए पनि, हामीलाई यति बिघ्न गाली गर्न पाउने छूट त दिलाएकै हुन उनले । नत्र त ४६ साल सम्म राजाको डर, ४६ साल पछि दलको डर, ५२ साल पछि बन्दूक़को डर, हामीलाई कम्ता सकस थियो ? न कसैलाई गाली गर्न पाउनु, न तथानाम भन्न पाउनु । यो चेतना र यो छूटको लागि प्रचण्डको फूट्टी कौड़ी योगदान छैन भने झैं गरी आउनोस, सामूहिक स्वरमा प्रचण्डको मृत्युको कामना गरौं । बदलिनै नचाहने हाम्रा बानी हरुक़ो रक्षाको लागि, ‘हामीले पाए त पुगिहाल्यो नि उसले किन पाउनु पर्यो’ भन्ने मर्म सहितको हाम्रो सद्भावको ख़ातिर, अनि सर्वस्वीकार्य हाम्रो सनातन दासताको ख़ातिर, प्रचण्डलाई जर्याकजुरुक बोकर आर्यघाट सम्म पूर्याऊँ ।

[email protected]