हिमाली जिल्ला मुस्ताङ जहिले पछाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हिमाली जिल्ला मुस्ताङ जहिले पछाडी



हिमाल पोष्ट /मुस्ताङ, २० मङ्सिर । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम जोड्न कालीगण्डकी माथि निर्माण गर्न लागिएको पक्की पुल अलपत्र बनेको छ ।

निर्माण सुरु भएको चार वर्षसम्म पनि पुलले पूर्णता पाउन सकेको छैन । पुल निर्माण नहुँदा हिउँदको समयमा सदरमुकाम जोमसोम र त्यसभन्दा माथि आठभन्दा बढी गाविसका सर्वसाधारण कालीगण्डकीमा जोखिम मोलेर काठे पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ भने वर्षायाममा सवारी आवागमन ठप्प हुने समस्या छ । सर्वसाधारण कालीगण्डकी माथि वर्षौं पुरानो काठको पुलमार्फत गन्तव्यमा जाने गरेका छन् ।

भारतीय लगानीमा निर्माण हुने पक्की पुलको दायाँबायाँतर्फको संरचना निर्माण भइसकेको छ । मङ्सिर महिनादेखि काम रोकिएपछि स्थानीयले तत्काल त्यसलाई अघि बढाउन माग गरेका छन् । मङ्सिर अघिसम्म धमाधम काम भइरहेको भए पनि अहिले अलपत्र बनेको नेपाली काँग्रेस मुस्ताङका कार्यवाहक सभापति नोर्बु गुरुङले बताउनुभयो । “सडक विभाग र ठेकेदार कम्पनी एकअर्कालाई आरोप लगाइरहेका छन् । पुसदेखि काम गर्न सकिँदैन, त्योभन्दा अघि नै सक्नुपर्ने थियो तर काम रोकिएको छ”, उहाँले भन्नुभयो ।

बिहान र बेलुकी मुस्ताङमा अत्यधिक चिसो हुने भएकाले प्राविधिक दृष्टिले राम्रो काम नहुने भएकाले हिउँद सिजनसम्म काम नगर्न निर्देशन दिइएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । “फागुनबाट यो कामलाई फेरि सुचारु गर्नेछौँ । यो अलपत्र बनेको होइन केही समय निर्माण कार्य रोकेको मात्र हौँ”, उहाँले भन्नुभयो, “यसलाई बजेटको अभाव पनि छैन ।”