लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा



लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी दाङकाे देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ।

स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ।

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन सुरु भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ।

राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए।

‘पूर्वाधारहरु छन् ’, प्रदेशसभा सदस्य थारुले भने, ‘अब संसद् बैठक देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ।’

प्रदेश प्रमुख सचिवसँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे।

‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं, जिम्मेवारी लिन तयार छौँ’, उनले भने, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौं।’

राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिए।

‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ। यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ।’

राप्ती प्राविधिक शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ।

एक हजार बिघा सरकारी जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको नापी कार्यालय लमहीका प्रमुख कृष्ण पौडेलले जानकारी दिए।

‘अहिले त फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएका छौं। दसैंपछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने छौँ’ उनले भने।

पूर्वाधार विकास प्राधिकरणको कार्यालय दसैंलगत्तै पूर्वाधार विकास प्र्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ।

यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो कार्यालय हुनेछ। प्राधिकरण कार्यालय प्रदेश स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि स्थापना गर्न लागिएको गाउँपलिकाका अध्यक्ष सुवेदीले बताए। रासस