श्रीमान्–श्रीमती मिलेर यसरी चलाए ‘हनि ट्रयाप’को धन्दा - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

श्रीमान्–श्रीमती मिलेर यसरी चलाए ‘हनि ट्रयाप’को धन्दा



काठमाडौं- एक जोडी श्रीमान र श्रीमती मिलेर हनी ट्रयापको धन्दा चलाएको खुलेको छ । उनीहरूले नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर) खडा गरेर हनी ट्रयाप गर्दै ठगी धन्दा चलाएको खुलेको छ ।

ट्रयाप गर्दै ठगी धन्दा चलाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये श्रीमान्–श्रीमती पनि छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रीमान्–श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षकै कृष्णहरि खड्का र नक्कली इन्सपेक्टर बन्ने कमलामाई नगरपालिका–४ का २८ वर्षीय सञ्जय कार्की छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा आपराधिक लाभ लिने उदेश्यले हनी ट्रयाप शैलीमा ठगी हुने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

महिला प्रयोग गरेर सामाजिक सञ्जालमार्फत् सम्पर्क बढाउने र पछि मोबाइल फोनमा समेत सम्पर्क बढ्दै गएपछि भेटघाट गरेर विभिन्न डर, धाक–धम्की दिएर झुटा मुद्दा लगाइदिने भन्दै धम्क्याएर रकम लिएर ठगी गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरुले केटीको प्रयोग गरी पुरुषहरुलाई खाजा खान होटलमा बोलाउने गर्दथे। भेटघाट गर्ने र त्यसपछि मोलमोलाइ गरी रकम माग गर्दै ब्ल्याक मेलिङ गर्ने, रकम दिन बाध्य बनाउन नक्कली इन्सपेक्टर खडा गर्ने र मानसिक हैरानी दिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक लाभको कसूरमा अनुसन्धान गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए।