फ्रम ह्युस्टन टु काठमाडौँ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फ्रम ह्युस्टन टु काठमाडौँ !



-दीपक घिमिरे

करिब दुई वर्ष देखिको नेपाल जाने सपना आज बिपनामा परिणत हुँदैछ । म हतारमै छु । मलाई एयरपोर्ट सम्म पुर्‍याउन जाने सन्तोष सोल्टी अनि विवेक जी अघि देखि कराउँदै हुनुहुन्छ, म चैँ लास्ट म्यासेज उनलाई लेख्दै छु “लौ म एयरपोर्ट तिर लागेँ है !“

उनले तुरुन्तै लेखिन “ शुभ यात्रा अहिले नै भनु कि एयरपोर्ट पुगेर बोल्छौ ? “

मैले म्यासेज सिन गर्दिए तर रिप्लाई दिएन ।

सन्तोष सोल्टीको लेक्सस विवेक जिले चलाउनु भो , सोल्टी र म पछिल्लो सिटमा बसेर हुईकियौ ह्युस्टनको जर्ज बुस इन्टरनेसनल एयरपोर्ट तर्फ । बेलुका सात बजेको फ्लाईट थियो मेरो । म पाँच बजे एयरपोर्ट प्रवेश गरिसक्नु पर्ने थियो ।

मेरो नेपाल बसाई अनि फर्कँदा ल्याउनु पर्ने चिजहरूको बारेमा सन्तोष सोल्टीले बताउँदै हुनुहुन्थ्यो , तर मेरो ध्यान भने उहाँका गफमा थिएनन् । उनले म्यासेन्जरमा केही लेखिनकी भन्ने तर्फ नै म बढी उत्सुक थिए ।

“ बुझ्नु भो नि सोल्टी ! “ सन्तोष सोल्टीले कोट्याउँदै भन्नू भो ।

मैले मुन्टो हल्लाउँदै भने “ बुझे ! “

“ के बुझ्नु भो ?“ सोल्टीले कुरा खोतल्नु भो ।

म दिमागमा उनलाई बसालेर एयरपोर्ट जाँदै थिए । सोल्टीले के भन्नू भो केही थाहा छैन । कानले सुनेको त थिएँ तर दिमागमा बसालेको थिएन । एउटा कानले सुन्दै अर्कोले उडाउँदै थिए सायद । मुहारमा मुस्कान थियो , त्यसैले सोल्टीले सोच्नु भएछ ! म उहाँको कुरा सुन्दैछु । तर म उहाँको गफमा हर्षित थिएन, म उनीसँग भेट्ने आशामा हर्षित थिए ।

“आउँदा सिन्की , सुकुटी अनि भाँडो ल्याउने कुरा बुझेको छु सोल्टी । “ मैले पहिले नै भएका योजना बताइदिए ।

“हत्तेरी ! तपाईँको ध्यान कहाँ छ यार ? मेरो घरमा पुर्‍याउनु पर्ने सामान तपाईँ आफै लगेर दिनु होला , अरूको हातमा नपठाउनु भनेको । “सोल्टी हुक्किदै बोल्नु भो ।
म हाँस्दै भने“अवश्य ! म आफै जान्छु पक्का ।“

असी माइल प्रति घण्टामा कुदेको लेक्ससले हामीलाई जर्ज बुस इन्टरनेसनल एयरपोर्ट पुर्‍यायो । मलाई टर्मिनल बि मा बिदाइ गरेर सोल्टी अनि विवेक जी फर्किनु भो ।

मैले लगेज चेक गराए अनि जहाज चढ्ने गेटको अघिल्तिर सोफामा बसे । गोजीबाट मोबाइल निकाले ।

उनका सत्र वटा अनरिड म्यासेज थिए । सबै पढे , एक्लै हाँसें । छेउकाहरुले सायद खुस्कट भने होलान् । मोबाइलमा हेरेर मुस्कुराउने अरू पनि हुन्छन् , त्यसैले म लजाइन ।

“रिसाहा मान्छे ! शुभ यात्रा है ।“ उनको लास्ट म्यासेज यही थियो ।

मैले दुवै आँखामा लभको चिन्ह भएको इमो पठाइदिएँ ।

उनले तत्कालै हेरेर लेखिन “ आई लभ यु । “

मैले उनको म्यासेन्जरमा कल गरे ।
“हेल्लो !“ उनी सुरिलो स्वरमा बोलिन ।

“कालू ! मलाई लिन एयरपोर्ट आउँछ्यौ ? “ मैले प्रश्न गरे ।

“तिम्रा भाईहरु आउलान् नि ? अनि मलाई के भनेर चिनाउँछौ त ? “ उनले झन् प्रतिप्रश्न गरिन ।

“तिमी आउने भए म भाइहरूलाई बोलाउँदैन ।“

“प्लिज ! भाइहरूलाई फ्लाईट ढिला भो भनेर झुट बोल्देऊ, म तिमीलाई एयरपोर्टमा पिकअप गरेर एक छिन बसौँ न ल ! “ उनले आग्रह गरिन ।

हामी सहमति भयौ । नेपालको एयरपोर्टमा मलाई लिन उनी आउने भइन । म खुसीले गद गद भए ।

एयरलाईन्सका कर्मचारीहरू आए , मैले फोन काटिदिए । गेट खुल्यो । टिकेट हेर्दै गेट छिराउने क्रम सुरु भो ।

ह्युस्टन देखि स्पेनको बर्सिलोना जाँदै थिए म । करिब १३ घण्टाको फ्लाईट थियो । बर्सिलोनामा चार घण्टा ट्रान्जिट भएपछि म त्यहाँबाट मध्यपूर्वको देश संयुक्त अरब इमिरेट्सको दुबई सहर उड्ने छु । अनि त्यहाँ दुई घण्टा ट्रान्जिट भएपछि मेरो प्यारो देश काठमाडौँ तर्फ उड्नेछु ।

मलाई जहाजको यात्रा एकदमै पट्यार लाग्दो लाग्छ । म निक्कै थाक्छु पनि । न फोनमा गफिन पाउनु , न त च्याटमा गफिन । उहीँ नयाँ पुराना गीत सुन्दै यात्रा गर्ने हो ।

म प्लेन भित्र छिरें । लास्ट पटक म्यासेन्जर हेरे , उनले लेखेकी थिइन “तिमी मजाक गरेको त हैनौ नि ? कस्तो सपना जस्तो लाग्दैछ यार !“

मैले टिकटको फोटो खिचे अनि प्लेन भित्रै सेल्फी लिए । ती दुवै उनलाई पठाउँदै लेखे “ अब त विश्वास भयो होला नि मोटी ! “

उनी केही लेख्दै थिइन, मैले नेट डिस्कनेक्ट गरिदिएँ । कानमा इयरफोन लगाएँ अनि मोबाइलमा गीत बज्न सुरू भयो । पुरानो फिल्म जिन्दगानीको गीत बज्दै थियो “ …….तिमीलाई भेट्न आउँदै छु तिम्रो गाउँमा !“

म आँखा चिम्लेर गीतमा मस्त हुँदै थिए, एयरहोस्टेजहरुले खाना पानी लिएर आए । छेउमै बस्नेहरूले कसैले ह्विस्की पिए त कसैले वाईन अनि बियर । मैले चैँ एक गिलास जुस लिए ।

सिटको अघिल्तिरको स्क्रिनमा बर्सिलोना एयरपोर्ट एराईभल टाईम चेक गरे । अझै आठ घण्टा बाँकी थियो ।

लामो यात्रा , उसैमाथि एक्लो । म निक्कै झन्झटिलो यात्रामा थिए । खाना खाएर फेरि गीतमा मस्त हुँदै निदाउने कोसिस गरें । एकछिन निदाएछु सायद , ब्युँझेर कहीँ स्क्रिनमा हेरेको ! बर्सिलोना पुग्न जम्मा दुई घण्टा बाकी थियो । फेरीपनी आँखा चिम्लिए तर निदाउन सकिन ।

बर्सिलोनामा मलाई चार घण्टा समय कटाउनु थियो । आकाशमा उड्दा भन्दा जहाजको प्रतीक्षामा बस्न मलाई सजिलो महसुस हुन्छ । ट्रान्जिट हलमा बस्दा कमसेकम उनीसँग च्याट गर्न त पाइन्छ ।

कुर्दा कुर्दै स्पेनको बर्सिलोना एयरपोर्टमा हाम्रो जहाज उत्रियो । सबै यात्रु हतारमै थिएँ । म पनि हतारमै निस्किए ।

ट्रान्जिट हलमा आएर मोबाइलमा इन्टरनेट अन गरे । फेरि पनि भरल्तै म्यासेज आए । अधिकांश उनकै थिए ।

“दादा ! हामी कति बजे एयरपोर्ट पुग्ने हो ?“ भाइले लेखेको यो म्यासेजमा मैले सबैभन्दा पहिला रिप्लाई गर्दिए “प्लेन डिले भएको छ । म आफै होटेलमा आउँछु , फिक्स छैन । तिमीहरू आउन पर्दैन ।“

“बुढो ! कहाँ पुग्नु भो ? एउटा म्यासेज छैन त ? माया मारेको हो ?“ बसन्ताले यस्तो लेखेकी थिई ।

उसलाई पनि छोटो लेख्दिए “नेपाल उत्रेर कल गर्छु , आई लभ यु बड्डी !“

अब मस्तले गफिने उनीसँग थियो । बाँकी शुभ यात्रा दाजी , भाइ , अङ्कल , साथी भन्दै म्यासेज गर्नेहरूका म्यासेज सिन सम्म हुन पाएनन् ।

“वाउ ! बेबी , तिमीलाई कुर्दै छु है । “ह्युस्टन एयरपोर्टबाट प्लेन उड्दै गर्दा उनले लेखेको म्यासेज रहेछ । मैले म्यासेजमा लभको रियाक्ट गर्दिए अनि उस्तै लभको इमो पठाइदिएँ ।

उनले बेबी भनेपछि म आफूलाई बच्चा जस्तै सम्झिए । मेरो घोर्ले छोरोलाई भुलौँ कि भाइ भनौ जस्तै भयो । एक्कासि उमेर घटेर बचपनामा आइदियो । बेबी बनेर उनको काखमा लुटुपुटु गर्ने रहर पलायो अनि खिस्स हाँसें ।

“कहाँ पुग्यौ ? “ उनले म्यासेज गरिन ।

“स्पेन ! अब चार घण्टा पछि दुबई उड्छु । “ मैले लेखे ।

उनी हासेको इमो पठाइन । मतलब उनी धेरै खुसी छिन ।

मैले कल गरे , उनले काटिन । फेरि गरे , काटेर उनले लेखिन “अफिसमा छु , सिनियर स्टाफ सँग ।“

मैले “ओके अनि सरी ल !“ लेख्दिए ।

हामी च्याटमै थियौ । “ कालु ! मलाई लिन स्कुटी लिएर आउँछ्यौ ? “ मैले समय कटाउन बकम्फुसे कुरा सोधे ।

“अनि तिम्रो सामान नि ? स्कुटरमा अट्छ ?“ उनले भनिन ।

“सामान केही छैन , झोला अनि एउटा सानो ट्रली ब्याग मात्र हो । “ मैले भन्दिए ।

“ओके ! उसो भए हामी एयरपोर्टबाट स्कुटरमा सिधै साँगा जाने ल । दिनभर उतै बस्ने , घुम्ने अनि बेलुका तिमीलाई एयरपोर्ट मै छाडिदिन्छु अनि भाइहरूलाई बोलाउनु ।“ हाम्रा डेटिङका योजना बुनिए ।

बिहान नौ पैँतालिस मा म काठमाडौँ उत्रन्छु , अनि उनी सँग दिनभर । बेलुका परेपछि म भाइहरू सँग , उनी आफ्नाहरूसँग ।

हाम्रा च्याटमा धेरै कुरा भए । उस्तै गरी प्लेन चढ्ने समय आयो , लाइन बसे । प्लेन उड्यो , मोबाइलमा गीत बजे । करिब आठ घण्टाको पट्यार लाग्दो यात्रा पनि गीतले नै पार गरायो । उस्तै एयरहोस्टेज आएर खाना दिए , दारु पानी सोधे । मैले जुस पिए । मोबाइलमा उनै गीत दोहोरिए । म निदाउने कोसिस गर्दा गर्दै दुबई आयो ।

दुबईमा मलाई दुई घण्टा ट्रान्जिट थियो । उस्तै मोबाइल निकाले , नेट कनेक्ट गरे । म्यासेज धेरै थिए । महत्त्वपूर्ण म्यासेजलाई महत्त्व दिए बाकी लाई हेरिन ।

यो बेला नारायण दाइको म्यासेज थियो । “ठुले ! आउदैछस रे हो“

उहाँ मलाई अझै ठुले भन्नुहुन्छ । सानोमा गाउँ घरमा बोलाउने नामले बोलाउँदा मलाई आनन्द आउँछ । म अझै सानै छु झैँ फिलिङ आउँछ ।

नारायण दाइसँग मेरा धेरै कुरा मिल्थे , अझै पनि मिल्छन्। सानोमा दुख , परदेशको पीडा अनि अभावको त्यो जिन्दगी हामी दुई भाईले निक्कै भोग्यौ । नाताले गोत्यार दाइ भएपनी हामी एकदमै नजिकका छौ ।

उनको म्यासेज नहेरी पहिला नारायण घिमिरेको म्यासेज हेरे अनि रिप्लाई गरे “दाङ आएको भोलिपल्टै प्युठान आउँछु । दूध खान्न, भाले खाने है ।“

डेरी व्यवसाय गर्ने नारायण दाइ सँग म अलि बढी जिस्कन्छु । कहिले काहीँ उहाँको भाइलाई जस्तै दूधवाले दाइ पनि भन्दिन्छु । हाम्रो नाता अनि मित्रता थाहा नपाउनेहरू दूधवाले भनेको सुन्दा रिसाउँछन् । मलाई घमन्डी पनि भन्छन् तर हाम्रो नाता नै यस्तै छ ।

एक पटक यही दूधवाले भनेको सुनेर लमही का सन्तोष गिरी भाइ मसँग रिसाउँदै भन्नू भो “कामको सम्मान गर्नुस् दाइ , होच्याउनु राम्रो होइन ।“

म सँग कुनै शब्द थिएन । उहाँले भनेको कुरा ठिक थियो त्यसैले हाँसिदिए मात्र । यस्ता अप्ठ्यारा हामी बिच आउँछन् , कतिलाई नारायण दाइले सम्झाउनु हुन्छ कतिलाई मैले ।

नारायण दाईलाई प्युठानै गएर भेट्ने बाचा भएपछि म फेरि उनी सँग गफिन थाले ।

“कल गरु ? “ मैले सोधे ।

“नाई ! मिल्दैन । छोरो साथमा छ । उनी छोरा सँग डराईन ।
कहीँ च्याट ! आई लभ यु का पोका पठाउने अनि काठमाडौँ ओर्लेपछिका योजनामै हाम्रा गफ सीमित भइरहे ।

फेरि दुबई बाट उड्ने समय आयो , उस्तै गरी । अहिले प्लेनमा दर्जन बढी नेपाली भेटिए तर सँगैको सिटमा म एक्लो नेपाली । बाकी गोरा हुन तर युरोपियन हुन या अमेरिकन । म बोलिन ।

करिब चार घण्टाको फ्लाईट पनि उस्तै गरी बिते । अब आँखामा निद्रा थिएन । मनमा ढुकढुकी बढिरहेको थियो ।

नेपाली आकाशमा जहाज उडन थालेपछि मन खुसीले उडन थाल्यो । उस्तै गरी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो ।

चेकिङका काम सकिए । ट्रली ब्याग गुडाउँदै बाहिर निस्कँदै थिए । पार्किङ भन्दा अलिकति यता टाउकोमा हेलमेट अनि आँखामा चस्मा लगाएर उभिएकी एउटी मैयाँ खिस्स हाँसिन । म लाजले भुतुक्क भए ।

कालो जिन्स , रातो ह्यानेक अनि बाहिरबाट खैरो लामो कोट लगाएर उभिएकी उनी मेरी उनी थिइन । जसलाई भेट्न अनि डेटिङ जान ट्राभलिङ फ्रम ह्युस्टन टु काठमाडौँ भयो ।

अँगालोमा बेरेर खुसी साट्ने मन थियो तर सकिएन । उनले चलाएको स्कुटरमा बसेर हाम्रो पहिलो डेटिङमा हामी निस्कियौ ।