कोरियामा "इतर"को पहिलो साहित्यिक मेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरियामा “इतर”को पहिलो साहित्यिक मेला



सिओल 

“आदिवासी सौन्दर्य,पहिचानको आवाज” मूल नाराका साथ दक्षिण कोरियाको दोस्रो ठुलो औद्योगिक सहर बुसानमा यो हप्ता इतर साहित्य समाजको पहिलो साहित्यिक मेला सम्पन्न भएको छ।

राजनितिकर्मी, कवि एवं साहित्यकार मिलनकान्छा किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व समाजका शिर्षबिन्दु पारिजात पोमूले गरेका थिए। त्यसै गरी अन्य अतिथिहरूमा नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवश,एन आर एन बुसान अध्यक्ष रबिन राई,नेपाल पत्रकार महासङ्घ,कोरियाका अध्यक्ष खेम कार्की, अनेसास, कोरिया प्रतिनिधि सरोज सर्वहारा आदि उपस्थित थिए। मेलामा चर्चित साहित्यकारहरुको पुस्तक प्रदर्शन तथा स्रष्टा सम्मान पनि गरिएको थियो।

“पूर्वीय र पश्चिमी साहित्यबाट हामी प्रभावित छौँ”- प्रमुख अतिथि मिलनकान्छा किरातिको सुझाव थियो-“यी साहित्यहरुबाट हामी प्रभावित हैन, जानकार मात्रै हुने हो।मौलिक सृजना आजको हाम्रो आवश्यकता हो।” उनले थपे- “यसैको पूर्तिको निम्ति इतर साहित्य समाज जन्मिएको हो,अब “संस्कृतितिर फर्क” अभियान थाल्न बिलम्ब गर्नु हुँदैन।”

बिश्वबिख्यात कवि विलियम वर्सपले भनेझै अनुभूतिको स्वतस्फूर्त अभिव्यक्ति नै कविता भएकोले यसबारे हठात बोल्नु ठट्टा मात्रै हो,त्यो सर्जक र सृजना दुवैको लागी घातक हुन्छ-
“अनाम फुल” शीर्षकको कविता वाचन गरेका किरातीको ठहर थियो। उनले कवि पराजित पोमूको कविता सङ्ग्रह “ल्हेप्मुहाङको ढुङ्गा”माथि पनि केही भनाइहरु राखेका थिए।

नेसास अध्यक्ष यल्जी विवशको भनाइमा साहित्य र कविता वर्तमान र विगतको दस्ताबेज मात्र नभएर भविष्यको धेरै हदसम्म अन्दाज पनि हो, उनको भनाई थियो- “साहित्य दिर्घकालिन् र दुरद्रस्टी हुनुपर्छ, जसले वर्तमान युग र ब्रह्माण्डको वैचारिक प्रसोधन गर्ने अभिभारा उठाउनुपर्दछ। उनले संघार शीर्षकको लामो कविताको केही भाग प्रस्तुत गरे।

त्यसै गरी अर्का स्रष्टा गणेश केरुङ हाङसेङ्मले
डायस्पोरा साहित्यको बारे मात्र बोलेनन्- त्यही कार्यक्रमबाट अनुभूति साहित्यिक आन्दोलनको उद्घोष समेत गरे। विश्वका चर्चित दर्शनहरुदेखी हामी आत्मसमर्पण गरेर पछि लाग्नुको सट्टा त्यसको माटो सुहाउँदो व्याख्या जरुरी भैसकेको भनाई राख्दै उनले थपे-“समाजको समस्या र बिकृतीहरुको बारे हामीले पाखुरा सुर्कियौं,तर समाधानको बाटो खोजेनौ।” एकातिर साहित्यमा सम्पूर्णताको व्याख्या भैसकेको अवस्थामा नेपाली साहित्य वैचारिक रूपमा अपांङ्ग रहेको उनको दाबी थियो। उनले अनुभूति साहित्यिक आन्दोलनले उठाएका चार प्रमुख निम्न मुद्दाहरू पनि प्रस्तुत गरे-

१. सांस्कृतिक,राजनैतिक,सैद्धान्तिक र दार्शनिक उपनिवेश र अतिक्रमण विरुद्धको उद्घोष ।
२. हरेक चिन्तन र दर्शनको सापेक्षित र व्यवहारिक व्याख्याको दाबी।
३. परिवर्तनको अनुभूति सैदान्तिक नभै व्यवहारिक हुनुपर्ने।
४. नेपाली साहित्यमा समानन्तर साहित्य स्थापनाको लागी बैकल्पिक विचारको निर्माण ।
उनैले यसैमा आधारित कविता पनि प्रस्तुत गरे।

त्यसै गरी अर्का कवि शेशेफुङ लिम्बु शेर्माले कवि पराजित पोमुको पुस्तक “ल्हेप्मुहाङको ढुङ्गा”माथि समीक्षा गर्दै सहपहिचान,सह अस्तित्व, र सहचिन्तनको आधारभूमिमा आधारित कविताहरुबाट यो कीर्तिले एउटा अपराजित यात्रा थालेको टिप्पणी गरे। उनले थपे-“ल्हेप्मुहाङको डुङ्गा” मानसपटलमा गुन्जनासाथ आदिम नोस्टाल्जिक मिथकले भरिपूर्ण नक्सा मस्तिष्कमा कोरिन्छ,जहाँ ब्रह्माण्डको तापले भरिएर डुबिरहेको ईक्सा(पृथ्वी) को दृश्यहरू नाँच्न थाल्दछन् अनि तागेरा निमाफूङ्मा माछाको रूप धारण गरेर असत्यको पराजयमा डुबेको पृथ्वीमाथि ल्हेप्मुहाङ सवार डुङ्गा लाई कविले घचेटिरहेका छन्।”
कवि शेर्माले अन्त्यमा प्रवासी भोगाईसम्बधी एक सुन्दर कविता पनि प्रस्तुत गरे-
“…खुल्ला आकाशमा
चरा बनेर उड्ने पालो अब मेरो पनि हो,
त्यसैले साजाङ्निम!(हाकिम/साहुजी)
म त्यहाँ फर्कन्नँ…”

उत्तम खुजुमको सुन्दर उद्घोषणसँगै सम्पन्न भएको उक्त कार्यक्रममा कवि/गजलकारहरु शुश्मा राई, मातृका नेम्बाङ,शुरेशसिंह सम्हाम्फे, राज सुबेदी,सरोज सर्वहारा,नवीन नेपाल,अनजान काईला, कृष्ण किरात,रोदुङ यायावर,डम्बर सुब्बा,डोलु आले मगर, मधु सिन्जाली, डेनिसा राई,राम कँडेल “अधिश”,मिलन किराती, छबिशित कुलुङ,रबिन राई, लगायत करिब दुई दर्जन स्रस्टाहरुले आफ्नो रचना पाठ गरेका थिए।

त्यसै गरी इतर आवाज साहित्य, समाजले यो कार्यक्रमबाट मिलन कान्छा किराती, यल्जी विवश, धरती कल्पना, जीवन खत्री, सरोज सर्वहारा लाई कविता/गजल र नेपाली साहित्यमा गरिरहेको योगदानको कदर गर्दै सम्मानित गरेको छ। त्यसै गरी साङ्गीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सङ्गीतकार डी.आर. अटु , गायिका शकुन लिम्बु र गायक दोस्तिहाङ पनि सम्मानित गरिएको छ। सम्मानित हुनेमा कलाकार बाबु साँईला र संचारकर्मी उमेश शेरालुङ पनि छन्।

अन्त्यमा सबैप्रती आभार प्रकट गर्दै इतर आवाजका अध्यक्ष पराजित पोमुले छिट्टै नै इतर साहित्यको अवधारणा ल्याईने समेत जानकारी दिए।