गौतम बुद्ध भारतमा जन्मेको भनेपछि जयशंकर विवादमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गौतम बुद्ध भारतमा जन्मेको भनेपछि जयशंकर विवादमा



काठमाडौं- भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको भनी झूठो दाबी गरेपछि उनीमाथि चर्को आलोचना सुरू भएको छ ।

जयशंकरले कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका थिए ।

उनको उक्त अभिव्यक्तिपछि नेपाल र भारतका कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरूले चर्को आलोचना गरिरहेका छन् । त्यतिमात्र होइन कतिपय भारतीय बुद्धिजीवीहरूले राष्ट्रवादका नामना मोदी र जयशंकरले देशको इज्जतमाथि खेलवाड गरेको आरोप समेत लगाएका छन् ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्ध भारतमा जन्मेको भनेपछि चर्को आलोचना भएको थियो । उनको चर्को आलोचना भएपछि नेपालमा आएको बेला सम्वोधन गर्दै उक्त भनाई सच्चाएका थिए ।

नेपालमा पनि अहिले जयशंकरको चर्को विरोध भैरहेको छ । उनले गौतम बुद्ध र महात्मा गान्धी भारतका महान नागरिक भएको झुटो दाबीगरेका छन् ।

‘तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन् ? म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन्,’ सो अनलाइन अन्तरक्रियामा धारणा राख्ने क्रममा उनले दाबी गरेका छन्।

गौतम बुद्धलाई कहिले भारतमा जन्मेका त कहिले भारतीय भनी विवादास्पद अभिव्यक्ति दिने भारतीय राजनीतिक तथा अन्य पदाधिकारी मध्येमा बहालवाला विदेशमन्त्री जयशंकर समेत थपिएका छन्।

प्रधानमन्त्री भएपछि पहिलो नेपाल भ्रमणमा आएका बेला नेपालको संसदमा भाषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेका महान व्यक्ति भनेका थिए।

तर पछि उनले पनि गौतम बुद्ध भारतमै जन्मेका भन्ने अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका थिए।

भारतीयहरुले गौतम बुद्धलाई भारतमै जन्मेका भनी विश्वभर प्रचार गर्ने र भारतमा आउने विदेशी पर्यटकलाई भारतमै विकास गरिएको लुम्बिनीलाई नै उनको जन्मस्थान भनी देखाउने गर्छन्।