परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीलाई झनै विवादित बनायो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीलाई झनै विवादित बनायो



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाइले नेपाल र भारतमा तहल्का मच्चाइरहेका बेला परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री ओलीले बोल्दैमा केहि फरक नपर्ने आसयको विज्ञप्ति जारी गरेको छ ।

प्रधानमन्त्री ओलीले भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको । नक्कली अयोध्या बनाएर नेपालका भगवान रामलाई आफ्नो भनेको आरोप लगाएपछि चर्किएको विवादमा पराराष्ट्र मन्त्रालय पनि विवादित बनेको छ ।

देशका प्रधानमन्त्री ओलीको अभिव्यक्ति सच्याउँदै परराष्ट्र मन्त्रालयले प्रष्टिकण दिएको शैलीमा प्रधानमन्त्रीले बोलेका भनाइले खासै फरक नपार्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले नै देशका प्रधानमन्त्रीले बोलेको कुराले फरक नपर्ने बताएपछि थप विवाद सृजना हुने पक्का छ । मंगलबार मन्त्रालयले ओलीको भनाइ सच्याउँदै भारतको अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्य कम नहुने प्रष्टिकरण दिएको हो।

प्रधानमन्त्रीको भनाइप्रति नेपालभित्र अझ विशेष गरी आफ्नै पार्टी नेकपाभित्र व्यंग्य र आलोचना भएपछि सरकार प्रधानमन्त्रीको भनाइप्रति २४ घण्टा नबित्दै परराष्ट्र मन्त्रालयमार्फत स्पष्टिकरण दिन बाध्य भएको छ । तर परराष्ट्रले चालेको यो कदमले प्रधानमन्त्री ओली नै थप विवादको केन्द्रमा तानिने पक्का छ ।

परराष्ट्रले जारी गरेको नोटका अनुसार घुमाउरो तरिकाले प्रधानमन्त्री ओलीले गल्ति गरेको स्वीकार्दै उनको भनाइले दुई देशको बिचमा फरक नपर्ने, भारतमा रहेको अयोध्याको महत्व नघट्ने र राजनीतिक उद्देश्य समेत नभएको बताइएको छ ।

प्रधानमन्त्रीले भानुभक्त जन्यतको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए। यद्यपि परराष्ट्र मन्त्रालयले मंगलबार थप अध्ययन र अनुसन्धानको खाँचो औंल्याएको जिकिर गरेको छ।

उक्त अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देशवासीको भावनामा चोट पुर्‍याउन व्यक्त नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमी जनकपुर आउने उल्लेख पनि आफ्नो विज्ञप्तिमा गरेको छ।

त्यस्तै दुई वर्षअघि नेपालको जनकपुर र अयोध्याबीच सिधा बस सेवा सञ्चालन गरेको स्मरण पनि गरिएको छ। ‘यी तथ्यले नेपाल भारतबीचको साँस्कृतिक सम्बन्धको महत्वलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।