कक्षाको झ्यालढोका थुनेर छात्रामाथि शिक्षकले गरे यस्तो हर्कत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कक्षाको झ्यालढोका थुनेर छात्रामाथि शिक्षकले गरे यस्तो हर्कत



काठमाडौं– स्कुलका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५५ वर्षका एक शिक्षकलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित श्री नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका हुन्।

कक्षा ३, ४ र ५ मा अध्ययनरत २६ जना छात्राको उजुरीका आधारमा शिक्षक निरौला पक्राउ परेको प्रहरीले जनाएको छ । स्कुलकी प्रिन्सिपल सविता सिलवालले छात्रामाथि भएको यौन दुर्व्यवहारबारे प्रहरीलाई जानकारी गराएकी थिइन् ।

कसुर प्रमाणित भएका शिक्षक निरौलालाई ३ वर्षसम्म जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यसअघि विद्यार्थीहरुले आफूहरु शिक्षकबाट दुर्व्यवहारमा परेको भन्दै प्रिन्सिपललाई लेखेको पत्र सार्वजनिक भएको थियो। ९ देखि १३ वर्षका छात्राहरुले पत्रमा शिक्षकले आफूहरुको शरीरका संवेदनशील अंगमा छुने गरेको बताएका थिए ।

शिक्षक निरौलाले कक्षाकोठाको झ्याल–ढोका बन्द गरेर विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीले बताएका छन्।

प्रिन्सिपल सिलवालका अनुसार शिक्षक निरौला यसअघि पनि यस्तै व्यवहारका कारण दुईवटा स्कुलबाट निकालिएका थिए । तर, यो कुरा प्रहरीसम्म नपुगेका कारण उनी बच्दै आएका थिए ।

यसैबीच, अभिभावक संघ नेपालले छात्रामाथि यौन दुर्व्यहार हुँदा पनि विद्यालय व्यवस्थापनले उदासिनता देखाएको भन्दै आपत्ति जनाएको छ। घटनालाई संवदेनशिलताका साथ लिन र निष्पक्ष छानबिन गर्न संघले प्रहरीलाई आग्रह गरेको छ ।

विद्यालयले शिक्षक निरौलालाई निलम्बन गरी आन्तरिक छानबिन समिति गठन गरेको आज प्रकाशित द हिमालय टाइम्स छ ।

प्रहरीका अनुसार पीडितहरु नाबालक भएकाले लिखित रुपमा अभिभावकबाट उजुरी नआएसम्म औपचारिक रुपमा घटनाको छानबिन गर्न मिल्दैन ।

त्यसैगरी कुनै व्यक्तिलाई २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न पनि पाइँदैन । त्यसैले प्रहरीले शिक्षक निरौलालाई हरेक दिन प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छाडिदिएको छ।