कुनै बेला हालीमुहाली चल्ने नारायणकाजीको अहिले माओवादीभित्र बिजोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कुनै बेला हालीमुहाली चल्ने नारायणकाजीको अहिले माओवादीभित्र बिजोग



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठलाई आफ्नै पार्टीमा अर्को झट्का लागेको छ । पार्टीको प्रवक्ता पद खोसिएको केहि समयमै उनलाई जिम्मेवारी विहिन बनाइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता खोसेर अर्का नेता कृष्णबहादुर महरालाई दिएपछि असन्तुष्ट बनेका श्रेष्ठले अर्को झट्का खानुपरेको हो । प्रवक्ता खोसेर विदेश विभाग प्रमुख बनाउने बचन दिएका प्रचण्डले त्यो पनि नदिने भएपछि श्रेष्ठ फायर बनेका छन् ।

पार्टीले राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारी गरेपछि उनको असन्तुष्टीको पारो चढेको छ। पार्टीमा बार्गेनिङ गरेरै लाभको पद खाइरहेका श्रेष्ठ अहिले जिम्मेवारी बिहिन बनेका छन्।

उपप्रधानमन्त्री सहित माओवादीको नेतृत्व गरेर सरकारमा जान मरिहत्ते गरेका श्रेष्ठलाई प्रचण्डले नयाँलाई मौका दिने भन्दै थन्काएपछि प्रचण्डसँगको सम्बन्ध बिग्रिएको थियो । त्यसलगत्तै श्रेष्ठले प्रचण्डलाई लक्षित गर्दै संसद विघटन हुनुमा उनको पनि हात रहेको संकेत गरेका थिए । त्यसलगत्तै बसेको पार्टीको बैठकले श्रेष्ठलाई कारबाही गर्दै जिम्मेवारी खोसेको थियो ।

अहिले विदेश विभाग गठनको तयारी भएपछि श्रेष्ठ थप तनावमा परेका छन् । कतिपय संचार माध्यममा समाचार नै बाहिरिएपछि उनले हतारमा सामाजिक संजालमै तुष्टी पोखेका थिए । श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

माओवादी स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरिसकेको छ । त्यसलाई औपचारिकता दिन भने बाँकी छ । सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम समावेश गरिएको छ ।

यसबारे स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ ।गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

स्थायी समिति वैठक त्यस निर्णयबाट श्रेष्ठ असन्तुष्ट बनेका छन् । उनलाई भने प्रवास समिति इन्जार्जको भूमिका दिइएको थियो । प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ । तर, पार्टीले अर्कै निर्णय गरेपछि उनको हातबाट सबै अवसर गुम्ने भएको छ ।