देश बेच्‍ने गद्दार : काजी लेन्डुप दोर्जी « Himal Post | Online News Revolution
Logo

देश बेच्‍ने गद्दार : काजी लेन्डुप दोर्जी



~कुमुद अधिकारी~

काजी लेन्डुप दोर्जी सिक्किमको भारतमा विलयका प्रमुख नाइके र विलयपछि बनेको राज्य सिक्किमका प्रथम मुख्यमन्त्री थिए।

प्रारम्भिक जीवन

काजी लेन्डुप दोर्जीको जन्म पूर्वी सिक्किमको पाक्योङमा सन १९०४ मा भएको थियो। उनको जन्म खाङ्सार्पा परिवारमा भएको थियो जुन सिक्किमेली कुलीनतन्त्रीय परिवार थियो। उनका पुर्खा लेप्चा थिए। काजी लेन्डुप दोर्जी खाङ्सार्पा ६ वर्षको उमेरमा रूम्तेक गुम्बामा प्रवेश गरेका थिए। त्यसबेला उनका काका त्सुर्फुक लामा राब्देन सो गुम्बाका प्रमुख थिए, र लेन्डुप उनकै शिष्य बने। तत्काली सिक्किमका महाराज सिद्कियोङ टुल्कु नामग्यालले रूम्तेक गुम्बाको भ्रमण गर्दा काजीलाई मन पराए र गान्तोक लगी तिब्बती स्कुलमा भर्ना गरिदिए। सोह्र वर्षको उमेरमा उनी रूम्तेक फर्किए र दुई वर्षको कडा लामा(पुरोहित)को तालिमपछि काजी रूम्तेक गुम्बाका प्रमुख भए। काजी रूम्तेक गुम्बाका प्रमुखका रूपमा आठ वर्ष रहे। दाजु काजी फाङ छिरिङसँग काम गर्नका लागि उनले रूम्तेक गुम्बा छाडे। काजी फाङ छिरिङले दार्जीलिङमा युवा बुद्धिस्ट एसोसिएसन स्थापना गरेका थिए। दुई दाजुभाइ भिलेर पश्चिम सिक्किममा थुप्रै स्कुलहरू खोले तथा सामाजिक एवम् अन्य सुधारहरू ल्याउनका लागि उनीहरूको प्रमुख भूमिका रह्यो।

राजनैतिक यात्रा सुरु

दोर्जीले १९४५ मा सिक्किम प्रजा मण्डलको स्थापना गरे र सोको पहिलो अध्यक्षका रूपमा काम गरे। उनी १९६३ मा सिक्किम राज्य काङ्ग्रेसका अध्यक्ष बने र सो पदमा १९५८ सम्म सेवा दिइरहे।

१९६२ मा उनले सिक्किम राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापनामा गरेका थिए। यसलाई उनले एउटा गैर-साम्प्रदायिक राजनैतिक पार्टीका रूपमा स्थापना गरेका थिए। यस पार्टीले आम निर्वाचनमा १८ मध्ये आठवटा सिटमा विजय हासिल गऱ्यो।

१९७५ मा सिक्किम भारतमा विलय हुनुमा दोर्जीको प्रमुख भूमिका रह्यो। उनलाई सिक्किमको प्रथम मुख्यमन्त्री बनाइयो र उनको कार्यकाल १९७९ सम्मको थियो।

देश बेचुवा

काजी लेन्डुप दोर्जी अझसम्म पनि सिक्किममा विवादस्पद व्यक्तित्व छन्। उनलाई आफ्नो स्वार्थका लागि देश बेचेको आरोप लगाइन्छ र उनको दोस्रो नाम नै “देशबेचुवा” रहेको छ। लेन्डुप दोर्जी र उनकी पत्नी एलिसा मारियाले आफ्ना पछिल्ला वर्षहरू आफ्ना अघिका कार्यहरूप्रति पछुतो गर्दै कालिम्पोङमा बिताए। उनकी पत्नीको मृत्यु १९९० मा भयो, र त्यसपछि लेन्डुपले एकल जीवन बिताउनुपऱ्यो। उनका बालबच्चा थिएनन् र आफन्त पनि थिएनन्। आफ्नै मानिसहरूको कोप र घृणाबाट बच्न उनी एक्लिएका थिए। “सबैले मलाई देश बेचुवा भन्छन्। मैले मातृभूमिक बेचेको कुरा सत्य नै भएता पनि के म एक्लै दोषी हुँ ? मलाई सहयोग गर्ने, उक्साउनेहरूको भूमिका खै ?” उनको भनाइ रहेको थियो। तर यो आरोप यति बलियो भयो कि उनले राजनैतिक जीवन अगाडि बढाउन सकेनन्। उनले कालिम्पोङस्थित ‘चाकुङ हाउस’ मा जिन्दगीका बाँकी दिन बिताउनु पऱ्यो। सिक्किमको विलयपछि आफूलाई भारत सरकारले त्यागेको आरोप उनको थियो। नेहरू र इन्दिरा गान्धीले उनलाई मान्थे तर पछिका नेताहरूले उनलाई कति पनि गनेनन्। उनी काम सकिएर पोहोरमा फ्याँकिने अनुपयोगी वस्तु बने। पहिले आफूलाई रातो कार्पेटमा स्वागत गरिने गरेको तर पछि दोस्रो ग्रेडको नेतालाई भेट्न पनि हप्तौँ कुर्नु परेको उनको गुनासो थियो।

उनकी पत्नी कजिनी एलिसा मारिया, बेल्जियन अभिजात(कुलीन) परिवारकी र पारचुके गरेकी थिइन्। उनले एडिनबर्ग विश्वविद्यालयमा कानुनको अध्ययन गरेकी थिइन् र  पछि बुद्ध धर्म अँगालिन् र सङ्घरक्षितालाई आफ्नो शिक्षक बनाइन्।

सिक्किमको राजनैतिक वातावरण

सिक्किममा छिमेकी देशहरू नेपाल, भुटान र तिब्बतबाट आक्रमणहरू भैरहन्थे। हरेक आक्रमणपछि शक्ति सन्तुलन ब्रिटिस साम्राज्यप्रति ढल्किन्थ्यो। सिक्कमले ब्रिटिस साम्राज्यसँग हात मिलाउन खोज्यो किनकि दुवैको साझा शत्रु नेपाल थियो। यसको प्रतिशोध लिँदै नेपालले सिक्किममाथि आक्रमण गऱ्यो। इस्ट इन्डिया कम्पनीले आफ्नो नयाँ सहयोगीको सहायता गऱ्यो र नेपालमाथि आक्रमण गऱ्यो। यही युद्धको परिणाम थियो सुगौली सन्धि जुन ब्रिटिसहरू र नेपालबीच भएको थियो। यसो हुँदा नेपालले जितेको भूभाग फिर्ता गर्नुपऱ्यो। ब्रिटिसहरूको सिक्किमसँगको सम्बन्ध एउटा स्वार्थका कारण थियो। प्राचीन रेशम मार्ग(सिल्क रोड) सिक्किम भएर जान्थ्यो र त्यसबाट ब्रिटिसहरूले तिब्बतसँग व्यापार बढाउन सक्थे।

टासी नामग्यालको चोग्याल शासन व्यवस्थामा सिक्किमले स्वतन्त्र दर्जा हासिल गरेको थियो र यसको ग्यारेन्टी ब्रिटिसहरूले गरेका थिए।  ब्रिटिसहरूले भारत छोडेपछि स्वत यो ग्यारेन्टी भारतमा सरेको थियो।  नेहरूले सिक्किम भारतमा जोडिन आओस् भन्ने चाहेका थिए तर त्यसमा सफलता प्राप्त नभएपछि, सिक्किम भारत संरक्षित विशेष राष्ट्रका रूपमा रह्यो। प्रतिरक्षा, कुटनीति र सञ्चारमा भारतको नियन्त्रण रहने गरी भारत-सिक्किम सन्धीमा १९५० मा हस्ताक्षर गरियो।

भारतको वक्रदृष्ठि

तर समाजवादी तानाशाह इन्दिरा गान्धीको उदयपछि दृश्य परिवर्तन हुन थाले। उनले अमेरिकीहरूलाई चुनौती दिँदै १९७१ को भारत पाकिस्तान युद्धमा पूर्वी पाकिस्तानलाई  स्वतन्त्र बङ्गलादेशमा परिवर्तित गरिन्।  भुटानले पनि १९७१ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता लियो। इन्दिरा गान्धीसँग भुटानको सम्बन्ध राम्रो भएन।  सिक्किमका राजा चोग्यालले नेपाल नरेश वीरेन्द्रको राज्याभिषेकमा भाग लिएका थिए र त्यस समारोहमा पाकिस्तान र चीनले पनि भाग लिएका थिए। यस घटनापछि दिल्लीलाई झट्का लाग्यो – सिक्किमले पनि संयुक्त राष्ट्र सङ्घको सदस्यता लिन सक्छ र अरूसँग मिलेर आफूमाथि खनिन सक्छ !

सिक्किमका अन्तिम राजा पाल्देन थोन्डुप नाम्यागलले सिक्किमलाई स्वतन्त्र दर्जा फिर्ता दिलाउनका लागि सक्दो प्रयास गरे। यसको सबैभन्दा महत्त्वपूर्ण पाटो संयुक्त राष्ट्र सङ्घमा सिक्किमलाई सदस्य बनाउनु हुन्थ्यो। यस अभियानमा उनलाई उनकी अमिरिकी पत्नी होप कूकले सहयोग गरिन्। अमेरिकी सुन्दरी कूकको भेट नामग्यालसँग दार्जीलिङको एउटा होटलमा भएको थियो र पछि उनीहरूले बिहे गरेका थिए। नयाँ दिल्लीले यो बिहेलाई जहिले पनि शङ्काका दृष्टिले हेऱ्यो र यसलाई सिआइएको योजना ठानिरह्यो। अमेरिकाले पनि इन्दिरा गान्धीलाई राम्रो दृष्टिले हेर्दैनथ्यो र भारत अमेरिका सम्बन्ध अत्यन्त असहज थियो।

भारतीय गुप्तचर संस्था रअका बारेमा रअकै भूतपूर्व अधिकारी आर.के. यादवले लेखेको पुस्तक “मिसन रअ”मा सिक्किमको विलयको विषयमा एउटा लामो अध्याय लेखेका छन्। १९७१ को बङ्गलादेशको मुक्ति पछि रअले सिक्किम विलय योजना कार्यान्वयन गर्न थाल्यो र यसलाई पूर्ण गोपनीय राखेको थियो। रअका प्रमुख आर.एन.काओले सहयोगीहरूको मद्दतले आगामी दुई वर्ष सिक्किममा विलयका लागि सहयोगी वातावरण बनाउन लगायो। यसका लागि नेपालबाट गएर सिक्किममा बसोबास गरेका हिन्दु नेपालीहरूलाई बौद्धमार्गी राजा र धनाढ्यहरूको विभेदबाट मुक्त गर्नु थियो। नेपालीहरूको जनसङ्ख्या तत्कालीन जनसङ्ख्याको ७५% थियो र उनीहरू हरेक क्षेत्रमा विभेदको सिकार भएका थिए।

सिक्किम विलयका लागि  पहिले ‘इन्टेलिजेन्स ब्युरो’ र पछि ‘रअ’ले थेन्डुप दोर्जीलाई समात्यो र उनीमार्फत सिक्किमी जनताका लागि भारतमा विलय नै सर्वोत्म विकल्प भएको भन्दै जनमतसङ्ग्रहको वातावरण तयार पाऱ्यो। सिक्किम विलय गराउन १९६८ मा स्थापना भएको ‘रअ’को प्रमुख हात  भएता पनि, १९४७ भारत स्वतन्त्र भएपछि गठित ‘इन्टेलिजेन्स ब्युरो(आईबी)’ले सिक्किमको राजनीतिमा खेल खेल्न सुरु गरिसकेको थियो। भारतीय सेनाको हातहतियार सहितको उपस्थितिमा गरिएको जनमत सङ्ग्रहको परिणाम थियो सिक्किमको भारतमा विलय।

काजी लेन्डुप दोर्जीले स्थापना गरेको सिक्किम राष्ट्रिय काङ्ग्रेसले राजा-विरोधी आन्दोलन थाल्यो। सिक्किम राष्ट्रिय काङ्ग्रेसको स्थापना नेहरूको सल्लाहमा भएको थियो। भारतले खुला रूपमा नै चोग्याल राजा पाल्देन थोन्डुप नामग्याल विरूद्धको आन्दोलनलाई सहयोग गऱ्यो। त्यसबेला राजाको एडिसि रहेका कप्तान सोनाम योङ्दाले भने अनुसार दोर्जीका आन्दोलनमा सादा पोसाकमा भारतीय सेनका जवानहरू रहन्थे। आन्दोलनका लागि दार्जीलिङ र अरू छेउछाउका छेत्रहरूबाट मानिसहरू ल्याइन्थ्यो। काजीको आन्दोलन योजना पूर्णतया भारतले बनाउँथ्यो र भारत सरकारले ‘इन्टेलिजेन्स ब्युरो’मार्फत पैसा र अन्य सामग्री पठाउँथ्यो। पछि १९६८ मा रअको स्थापना भएदेखि, रअका प्रमुख आर.एन.काओले इन्दिरा गान्धीको निर्देशनमा सिक्किम विलयको योजना बनाए र १९७१ को बङ्गलादेश युद्ध पछि सिक्किम विलयको कामले तीव्रता पायो।  वास्तवमा काजी भारतीय प्यादा बनेका थिए, आन्दोलन र हरेक क्रियाकलापको गुरुयोजना आइबी र रअले बनाउँथे।

गान्तोक टाइम्सका सम्पादक र पूर्व मन्त्री रहेका सि.डि. राईले भनेका छन्, “राजाबाट हेपिनु भन्दा त भारतीय हुनु नै ठीक छ भन्ने लाग्यो।” यस कुराले नेपाली मूलका जनतामाथि चोग्याल वंशले गरेको विभेद कति ठूलो थियो भन्ने देखाउँछ। यही भावनालाई भजाउने रणनीति भारतको थियो र त्यसमा सफल भयो पनि।

राजतन्त्रको पतन

लेन्डुप दोर्जीको काजी परिवार राजवंशँसग पुरानो दुस्मनी थियो। दिल्लीको दबावले गर्दा चोग्यालले सिक्किम नेसनल काङ्ग्रेस, भारत र सिक्किमबीच त्रिपक्षीय वार्ता गर्नुपऱ्यो। यस वार्तालापले राजतन्त्रको अधिकार कटौती गर्दै सिक्किमलाई ‘संरक्षित दर्जा’को स्थितिमा ल्यायो। १९७४ मा भएको आम निर्वाचनमा भारत समर्थित सिक्किम राष्ट्रिय काङ्ग्रेसले अभूतपूर्व बहुमत ल्यायो। सरकार र राजाले एकअर्कालाई दुस्मनका रूपमा हेर्न थाले। अन्तत: २७ मार्च १९७५ मा बसेको मन्त्रिपरिषद्को  बैठकले राजतन्त्र खारेज गऱ्यो। सिक्किमको संसदले यसलाई स्वीकार गर्दै राजतन्त्रको भविष्यका लागि जनमतसङ्ग्रह गराउने निधो गऱ्यो। त्यसपछि देशभरिका ५७ मतदान केन्द्रहरूमा गरिएको मतदानको अभूतपूर्व परिणाम “राजतन्त्रको अन्त्य” थियो।

सिक्किमका तत्कालीन कृषिमन्त्री के.सी. प्रधानले जनमतसङ्ग्रहलाई देखाउने दाँत मात्र भनेका छन्, “भारतीय सैनिकहरूले सोझा मतदाताहरूलाई बन्दुकको सङ्गीन सोझ्याएर मतदान गर्न लगाए।” जनमत सङ्ग्रहको तुरुन्तै पछि, काजी लेन्डुप दोर्जीले ३२ सदस्यीय संसदमा सिक्किमलाई भारतमा विलय गराउन प्रस्ताव पेस गरे। लेन्डुपकै सिक्किम राष्ट्रिय काङ्ग्रेसको ३१ सिट भएको संसदमा सो प्रस्ताव आँखा झिम्क्याउन नपाई पास भयो।

खासमा भारतले सिक्किममा दोहोरो खेल खेलिरहेको थियो। एकातिर लेन्डुपलाई राजाविरूद्ध हरेक सम्भावित बाटोबाट उचालिरहेको थियो र अर्कातिर चोग्याललाई सिक्किममा राजतन्त्र जाँदैन भन्दै फकाउँदै थियो। चोग्यालले यस कुरामा विश्वास गरिएको देखियो किनकि राजा वीरेन्द्रको राज्याभिषेकमा काठमाडौँ आउँदा चोग्याललाई राजा वीरेन्द्र, चीनका उपप्रधानमन्त्री, र पाकिस्तानी प्रतिनिधिले सिक्किम नफर्किन सुझाव दिएका थिए। उनीहरूले चोग्याललाई भारतीय पञ्जाबाट बचाउन “गुरु-योजना” चोग्याललाई बताएका थिए तर उनले सुनेनन्। उनले भारतले बलजफ्ती सिक्किम हडप्न गर्न सक्छ भन्ने कुरा सोच्नै सकेनन्। फेरि, चोग्यालालाई भारतीय सेनाको मानार्थ मेजर जनरल बनाइएको थियो। उनलाई ‘आफ्नै सेना’ आफू विरूद्ध आउँछन् भन्ने लागेकै थिएन।

त्यसपछि ६ अप्रिल १९७५ का दिन ५,००० भारतीय सैनिकहरूलाई २४३ सैनिक रहेको राजदरबार कब्जामा लिन आधा घण्टा पनि लागेन। यससँगै स्वतन्त्र राजतन्त्र सिक्किमको अस्तित्व समाप्त भयो।

राजनीतिबाट पलायन

चोग्यालकी श्रीमति अमेरिकी होप कूक थिइन्  भने यता काजी लेन्डुपकी पत्नी कजिनी मारिया थिइन्। खासमा यो सम्पूर्ण घटनाक्रमलाई यी दुई महिलाको युद्ध बनाएर फाइदा लुट्न इन्दिरा गान्धी तम्सेकी थिइन्। काजी लेन्डुपसँग मारियाको बिहे भएपछि नै सिक्किमका राजनीतिक घटनाक्रमहरू तीव्र गतिमा अघि बढ्छन्।

कब्जा गरिसकेपछि काजी सिक्किमका प्रथम मुख्य मन्त्री भए। तर १९७९ मा भएको चुनावमा सिक्किम नेसनल काङ्ग्रेसले एउटै सिट पनि जित्न सकेन। यसैले काजीको राजनैतिक जीवनको अन्त्य गरिदियो।

जीवनको उत्तरार्ध र मृत्यु

काजी लेन्डुप दोर्जीको मृत्यु जुलाई २८, २००७ का दिन कालिम्पोङस्थित उनको घरमा भयो। उनको मृत्युको समयमा दोर्जीको आयो १०२ वर्ष २९० दिन थियो। उनको मृत्यु हृदायाघातबाट भएका पनि, उनी लामो समयदेखि कलेजोका रोगबाट पीडित थिए। उनको अन्त्येष्टि भने सिक्किमको रूम्तेक गुम्बामा अगस्ट ३,२००७ मा गरिएको थियो।

दोर्जीलाई भारत सरकारले पद्मविभूषण र सिक्किम सकरारले २००४ मा सिक्किम रत्नले पुरस्कृत गरेका थिए।

लेन्डुप प्रवृत्ति

दक्षिण एसियाका विभिन्न देशहरूमा आन्तरिक खेलहरू भैरहन्छन्। ठूला राष्ट्रहरूले साना छिमेकीलाई अनेक उपाय छलकपट र जालझेल गरेर आफ्नो प्रभुत्व कायम गरिरहन्छन्। ती “ठूला देश”हरूको बहकाउमा लागेर देशप्रति घात गर्ने प्रवृत्ति नै लेन्डुप प्रवृत्ति हो। लेन्डुप प्रवृत्ति देशद्रोहको पर्यायवाची बनिसकेको छ।

-0-