लामिछानेलाई मीनपद्म पुरस्कार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लामिछानेलाई मीनपद्म पुरस्कार



भैरहवा/कात्तिक २४  ।

भैरहवामा वरिष्ठ कथाकार प्रा.डा.कपिल लामिछानेलाई मीनपद्म गौचन स्मृति पुरस्कारबाट सम्मान गरिने भएको छ । उक्त पुरस्कार समाजसेवी ओमकार गौचनद्वारा आफ्नो मातापिताको सम्मानमा स्थापित गरिएको हो । सम्मानित हुने लामिछानेले भाषा साहित्यको क्षेत्रमा दशकौं देखि अनवरत रुपमा कलम चलाउंदैं आएका छन् । उनका दर्जनौं पुस्तकहरु प्रकाशित छन् । उनी सिद्धार्थ साहित्य परिषदका पुर्व अध्यक्ष तथा प्रश्रित प्रतिष्ठान नेपालका हालका अध्यक्ष पनि हुन् ।

पुरस्कार स्थापना गर्ने गौचन सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा हाल भैरहवा क्षेत्रका नागरिक अगुवाहरुको संस्था बि.एम.जी. ग्रुपका अध्यक्ष हुन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्मजयन्ती तथा २०३ औं सिद्धार्थ साहित्य संगमका अवसरमा कार्तिक २७ गते लामिछानेलाई पुरस्कृत गरिने छ । सोही अवसरमा समाजका विविध क्षेत्रमा महत्वपुर्ण योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई सिद्धार्थ साहित्य सम्मान (२०७४) समर्पण गरिने पनि भएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि कार्तिक २७ गते सोमबारका दिन देवकोटा जयन्ती विशेष रुपले मनाउने गरी तयारी थालिएको आयोजक संस्था सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिए ।

परिषदका सदस्य लक्ष्मी प्रसाद अधिकारीले दिएको जानकारी अनुसार तिलक लामिछाने, राम प्रसाद बराल, बाबुराम अर्याल, योगनाथ आचार्य, चन्द्रकान्त भट्टराई, कृष्ण गुरुङलाई सिद्धार्थ साहित्य सम्मान प्रदान गरिने भएको छ । यसैगरी भैरहवाको रुपन्देही क्याम्पस र अंकुर बचत तथा क्रृण सहकारी संस्था लि. बैंकरोडलाई संस्थागत रुपमा सिद्धार्थ साहित्य सम्मान गर्न लागिएको हो ।

सिद्धार्थ साहित्य परिषदले हरेक वर्ष देवकोटा जयन्ती, भानुजयन्ती विशेष रुपले मनाउंदै आएको छ । परिषद्कै पहलमा भैरहवाको मुख्य चौंकको नाम देवकोटा चौंक नामाकरण गरी त्यहाँ महाकविको पुर्ण कदको प्रतिमा समेत स्थापना गरिएको छ भने भैरहवा क्याम्पसमा अर्धकदको प्रतिमा राखिएको छ । यसै गरी भैरहवाको भानु विद्यालयको प्रांगणमा भानुभक्तको अर्धकदको प्रतिमा राखिएको छ ।