किन सांसद दोहोर्‍याउँदैन कर्णाली ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

किन सांसद दोहोर्‍याउँदैन कर्णाली ?



काठमाडौं-

कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् ।

२०४८ सालयताका ५ निर्वाचनमा मुगुका हस्तबहादुर मल्लबाहेक कोही दोहोरिएर सांसद भएका छैनन् । दलहरूले पनि यहाँका मतदाताको चाहना बुझेरै चुनावैपिच्छे फरक उम्मेदवार उठाइरहेछन् ।

कालिकोटमा ०४८ मा कांग्रेसका तिलक न्यौपानेले चुनाव जिते । ०५१ को मध्यावधि निर्वाचनमा उठे, तर पराजित भए । मतदाताले एमालेका यज्ञराज न्यौपाने चुने ।

एमालेले विगतको मतदाता प्रवृत्ति हेरेरै न्यौपानेलाई दोहोर्‍याएन र ०५६ को निर्वाचनमा प्रेमबहादुर सिंह विजयी भए । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचन माओवादी केन्द्रले जित्यो ।

तर उम्मेदवार फरक । पहिलो संविधानसभाका सभासद खड्गबहादुर विश्वकर्मा दोस्रो चुनावमा माओवादी वैद्य समूहमा लागेपछि महेन्द्रबहादुर शाही उम्मेदवार भए । उनले चुनाव जिते ।

हुम्लामा पनि एकै उम्मेदवार र पार्टीले लगातार जितेका छैनन् । ०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट छक्कबहादुर लामाले चुनाव जितेका थिए ।

०५१ मा कांग्रेसका चक्रबहादुर शाही र ०५६ मा एमालेका गोरख बोगटी सांसद निर्वाचत भए । ०६४ मा माओवादीका कर्णजित बुढाथोकी विजयी भए भने ०७० को संविधानसभाबाट कांग्रेसका जीवनबहादुर शाही सभासद बने ।

जनक नेपाल र तुलाराम पाण्डेले आजको कान्तिपुरमा यो समाचार लेखेका छन्, डोल्पाका मतदाताले पनि चुनावपिच्छे जनप्रतिनिधि फेरेका छन् । दलभन्दा व्यक्तिको प्रभावले हारजित हुने गरेको छ । ०४८ मा कांग्रेसका क्याबो बुढा सांसद भए ।

उनी राष्ट्रिय पञ्चायतमा स्थापित मोतीप्रसाद पहाडीले सघाएर कांग्रेस प्रवेश गरेका थिए । ०५१ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उठेका उनै पहाडी विजयी भए । त्यस्तै, ०५६ मा एमालेका नरबहादुर बुढाथोकीले चुनाव जिते भने ०६४ मा माओवादीका रामबहादुर बुढाथोकी र ०७० को संविधानसभा निर्वाचनमा एमालेका धनु बुढा विजयी भए ।