कसरी हुन्छ गुण्डाराजको अन्त्य ? गणेश लामा कांग्रेसबाट र दिपक मनाङ्गे एमालेबाट चुनाव लड्दै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कसरी हुन्छ गुण्डाराजको अन्त्य ? गणेश लामा कांग्रेसबाट र दिपक मनाङ्गे एमालेबाट चुनाव लड्दै



काठमाण्डौ/३० ,असोज ।

नेपाल प्रहरीको केही उच्च अधिकारीहरुले नेपालमा गुण्डाराज सकिएको बताउँदै आएका छन् । तर बेलाबखतमा गुण्डाहरुकै मिलेमतोमा हत्या र अपराधका घटना घटिरहेका छन् । पछिल्लो पटक निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या हुनुलाई पनि गुण्डाराजको प्रतिकको रुपमा कतिपयले लिएका छन् ।

यसबिचमा पनि केही कुख्यात भनिएका डन अर्थात गुण्डाको परिचय बनाएका अनुहार खुलेआम नेपाली राजनीतिमा सक्रिय देखिएका छन् । पछिल्लो समय गुण्डा नाइके दिपक मनाङ्गेलाई समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको भन्दै मनाङ्गे आवद्ध दल नेकपा एमालेको निकै आलोचना भइरहेको छ ।

मनाङ्गेलाई एमाले मनाङ जिल्ला कमिटिले समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेर केन्द्रमा पठाएपछि चौतर्फी आलोचना भएको हो । मुलुककै प्रमुख दल एमालेले गुण्डा तथा डनलाई संरक्षण गरेको भन्दै विरोध समेत भइरहेको छ ।

यसैबिच सोमबार प्रधानमन्त्री निवास वालुवाटारको एक औपचारिक कार्यक्रममा अर्का गुण्डा नाइके गणेश लामा देखिएपछि टिका टिप्पणी सुरु भएको छ । फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच भएको पार्टी एकता कार्यक्रममा गुण्डा नाइके भनेर चिनिएका लामा प्रधानमन्त्रीसँगै देखिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पछाडिपट्टी सुरक्षागार्डको छेल परेर कार्यक्रम अवधिभर लामा आसन जमाएर बसेका थिए । विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकमा आवद्ध लामा आफु आवद्ध पार्टी कांग्रेसमा एकता भएसँगै अब उनी पनि कांग्रेसमा प्रवेश गरेको स्पष्ट भएको छ ।

दिपक मनाङ्गेलाई संरक्षण गरेको भन्दै एमालेको आलोचना भइरहँदा अब आलोचना खेप्ने पालो कांग्रेसको पनि आएको छ ।
लामा काभ्रे जिल्ला केन्द्रित रहेर राजनीतिमा आवद्ध छन् । लामालाई विजयकुमार गच्छादारले यसअघिको चुनावमा काभ्रे जिल्लाबाट उम्मेदवार बनाएका थिए । आगामी चुनावमा पनि लामालाई सोही जिल्लाबाट उम्मेदवार बनाउने आश्वासन गच्छादारले दिएको बुझिएको छ । अर्कोतिर कांग्रेसभित्र लामालाई उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा बहस सुरु भइसकेको बताइएको छ ।