विषम परिस्थिति र सामाजिक सुरक्षा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विषम परिस्थिति र सामाजिक सुरक्षा



– केदार ज्ञवाली

विषम परिस्थिति र भोगाइका बिच दिनहुुँजसो एकान्तबासबाट सुनिने वाक्य हो- ‘विश्वलाई अहिलेको परिस्थितिबाट छिट्टै राहत मिलोस् ।’

झस्किँदै समाचारका प्रत्येक हेडलाइनलाई धैर्यतापूर्वक सुन्दछु, हेर्दछु अनि मलिन अनुहार बनाउँदै हात्तीलाई कमिलोले जित्छ भन्ने भनाई चरितार्थ भएको आभास हुन्छ। सामाजिक सञ्जालका भित्ता-भित्तामा सजिएका पुराना यादगार फोटो र साहित्यिक पारामा सजिएका कमेन्टलाई नियाल्छु त्यसैमाथि विभिन्न परिकारमा सजिएका डिस हेर्छु लाग्छ साच्चिकै मानव विषम परिस्थितिसँग मजाक मानिरहेको छ।

समाचारका प्रत्येक हेडलाइन र ब्रेकिङ्ग न्युजमा बनेर आउने शब्द-शब्दमा भरिएका कोभिड-१९ र यति मान्छेको मृत्यु !

सोच्दछु सामाजिक सुरक्षाको एक जिम्मेवार मान्छे त्यसैमाथि विषम परिस्थिति घण्टी बजाएर नआए पनि अन्तर्राष्ट्रिय स्तरमा बजाइरहेको घण्टीकाबिच एकले अर्कोलाई सघाउनु सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो हो।

जस्तो कि राज्यले जनतालाई दिने राहत मात्र नभई जनताले राज्यलाई र जनताले जनतालाई अप्ठ्यारोका बिच सघाउनु पनि सामाजिक सुरक्षा हो। यसलाई हाल विश्वले भोगिरहेको कोभिड-१९ सँग दाँजेर हेर्नु अझ सान्दर्भिकता हुन्छ।

उखानै छ ‘मान्छेलाई ऋण लागोस् तर दीन नलागोस्’ । जब मान्छे स्वस्थ छ र त मात्र सफल भविष्यको परिकल्पना गरेको हुन्छ । यो परिस्थिति पुनः नआउला भन्न सक्ने अवस्था छैन । जब एउटा राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने हरेक खालका सामाजिक सुरक्षाको जोहो बेलैमा गर्न सक्दैन तबसम्म राज्य जतिसुकै बलियो भए पनि यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ । राहत, कला, त यसका क्षणिक पाटो मात्र हुन् ।

विश्वमा पटक -पटक दोहोरिएका यिनै कहालीलाग्दा, कारुणिक र हृदयविदारक घटनाले पटक-पटक खतराको घण्टी बजाई रहेका हुन्छन् । आज हामी तिनै खेतवारि र बाझिएका पाटालाई नहेरी डलरको मोहमा भौँतारिन्छौ र लिन्छौँ क्षणिक आनन्द ।

अर्थतन्त्रका हिसाबले मजबुत देशहरू जो अहिलेको विषम परिस्थितिकाबिच गुज्रिरहेका छन् । त्यसको बलियो संयन्त्र राज्य आर्थिक मात्र नभई सङ्कट सामनाको पूर्व तयारी पनि हुन आउँछ । जुन सामाजिक, भौतिक, नागरिकप्रतिको बफादारीता पनि हुन आउँछ। बेलैमा सरकारी संयन्त्रको परिचालन, सजग नागरिक र पूर्ण जनउत्तरदायी सरकारको आवश्यकता त्यति बेला मात्रै पुष्टि हुन्छ जब हरेक तह तप्काले आफ्नो जिम्मेवारी कसरी निर्वाह गरिराखेको हुन्छ।

नेपाल जस्तो विभिन्न पैंठेजोरीसँग सामना गर्दै भर्खर मात्र नयाँ नेपालको महान् आकाङ्क्षा सहित उदाएको बखत कोभिड-१९ सँग सामना गरिरहेको छ। २०७५ मङ्सिर ११ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन भएको सामाजिक सुरक्षा कोषको दायित्व थप बोध हुने खालका परिमार्जित स्वरूपका कार्यक्रम ल्याइनुपर्दछ।

बेरोजगार सहायता कार्यक्रम, सिपमूलक तालीम र सरकारी संयन्त्रको यथाशीघ्र परिचालन हुनुपर्दछ। दुखेका घाउमा मलम लगाउँदै सरकारी संयन्त्रको यत्रतत्र पहुँच र सुविधासम्पन्न बनाइराख्नुपर्छ। सरकार अडिग र जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्दछ।

त्यसो त इतिहासका पानाले हामीलाई पढाइरहेछन्, यस्तो महामारी जुनसुकै बेला आउन सक्छ र त पुनः विश्व महामारीबाट गुज्रिरहेको छ । भनिन्छ एकतामा बल हुन्छ आज विश्व कोभिड-१९ को महामारी भइरहेकै बेला उच्च सतर्कता अपनाउन सकियो यो युद्ध पक्कै जित्न सकिन्छ।

चीन, इटाली, अमेरिका लगायतका कैयौँ देशहरूले यस्तो अवस्थासँग जुध्न गरेका सफल उदाहरण र चीनले यश परिस्थितिसँग जुध्न अवलम्बन गरेको मोडालिटी हाम्रो लागि अनुसरणिय छ।

सारमा, पक्ष-विपक्षभन्दा पनि हाल विश्वले भोगिरहेको विषम परिस्थितिसँग मिलेर सामना गर्नु अपरिहार्य छ। आधारभूत आवश्यकताको पहिचान, विविधीकरण र पर्याप्त तयारी यसका ज्वलन्त विषय हुन् ।

निजी क्षेत्रले आफ्नो दायित्व बोध गर्नु, सरकारी निकायले आफ्नो मातहतका कार्यहरूको बोध गर्नु, सरकार नागरिकप्रति पूर्ण बफादार हुनु र नागरिकले सरकारका कौशलता सहयोग गर्न सके यो परिस्थितिको सामना गर्न थप हौसला मिल्नेछ।