सार्वजानिक यातायातका आश्चर्य - गङ्गाराम खाइजू(भिडियो) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सार्वजानिक यातायातका आश्चर्य – गङ्गाराम खाइजू(भिडियो)



~नेहा शर्मा~

सेतो मध्यम आकारको बस । बसभित्र शान्त वातावरण । चालकको हँसिलो मुहार र यात्रुहरूसँगको शिष्ट व्यवहार । काठमाडौँको सार्वजनिक यातायात क्षेत्रमा यो दृश्य त्यति सामान्य होइन । त्यसैकारणले गर्दा होला, यस्तै वातावरण भएको गङ्गाराम खाइजूको गाडी देख्दा मानिसहरू आश्चर्यचकित हुनु स्वाभाविक हो। गङ्गाराम खाइजूले चलाउने गाडीबाट ‘सातदोबाटो लगनखेल ! सातदोबाटो लगनखेल !’ भन्ने आवाज आइरहेको हुन्छ तर त्यहाँ सह-चालक देखिँदैन । नियालेर हेरेपछि मात्र थाहा हुन्छ, रुटको नाम त लाउड स्पिकरबाट पो आउँदोरहेछ, खाइजूको आफ्नै आवाजमा ।

गाडीको ढोका अर्ध-स्वचालित छ – उनी ढोकालाई आफूछेउ भएको स्विचले सञ्चालन गर्छन् । बाहिरबाट हेर्दा उनको गाडी अरू गाडी जस्तै देखिए तापनि, भित्र पसेर हेर्दा निकै भिन्न महसुस हुन्छ । ढोकाको छेउमै माथिल्लो पट्टि ‘फोहोर मलाई’ बाकस रखिएको छ र त्यसको छेउबाट गाडीका सुविधाहरूको विज्ञापन र  यात्रुहरूलाई असल व्यवहार प्रदर्शन गर्न आग्रह गरिएका ल्यामिनेटेड पोस्टरहरू लहरै टाँसिएका छन् । पसलमा बेच्ने चोकोफनको बट्टा काटेर त्यसको तल्लो भागमा टिस्यु पेपर रखिएको छ । वाई-वाईका कार्टुन, खानेपानीका बोतल, र धुवाँ-धुलोबाट जोगाउनका लागि मास्क पनि बेच्नका लागि रखिएको छ । आफ्नो फाइदाका लागि वा गाडी भाडाको कमाइले मात्र न-पुगेर अझै बढी आम्दानी होस् भन्ने मनसायले यस्ता सामान बेच्न नराखेको खाइजू बताउँछन् । “कहिलेकाहीँ बच्चाबच्ची भोक लागेर गाडीमा रुनेकराउने गर्छन् र अभिभावकलाई दु:ख दिन्छन् । अथवा यात्रुहरू नै भोका वा तिर्खाएका हुन्छन् । उनीहरूलाई सुविधा होस् भन्ने हिसाबले मात्र राखेको हो,” उनी भन्छन्।

बसमा चढ्नासाथ चालकको सिटमा बसेका खाइजू ढोकातिर हेरेर मुसुक्क मुस्काउँछन् । उनी कालो चस्मा लगाउन कहिल्यै छुटाउँदैनन् । उनको ‘सिग्नेचर लुक’ नै कालो चस्माले पूरा गर्छ । यात्रुहरूसँग वार्तालाप गर्न रूचाउने उनी व्यवहारमा आश्चर्यजनक रूपले भद्र र शिष्ट छन्,  यस्तो विशेषता अहिलेका सार्वजनिक यातायात क्षेत्रका कर्मचारीमा विरलै पाइन्छ । उनको गाडीमा चढ्यो भने हामी उनलाई प्रदूषण, ट्राफिक पुलिस र उनको गाडीको ‘युनिक सिस्टम’ का बारेमा आफ्नो धारणा प्रस्तुत गरिरहेको पाउछौँ ।

गङ्गाराम खाइजूले काठमाडौँ सहरको बाटोमा गाडी चलाउन थालेको १९ वर्ष भयो । सार्वजनिक यातायातको क्षेत्रमा सह-चालकको रूपमा प्रवेश गरे तापनि आफ्नो बुबा पनि चालक नै भएको र आफूलाई पनि सानैबाट चालक हुन मन लागेको उनी बताउँछन् । एक वर्षअघि, सार्वजनिक यातायातको अवस्था र विशेषत: सह-चालकहरूको दुर्व्यवहार देखेर उनलाई यो पेसा त्याग्न मन नलागेको होइन । सह-चालकहरूलाई उनी कहिलेकाहीँ मनमनै धन्यवाद पनि दिन्छन् , किनभने सह-चालकहरूकै उच्छृङ्खल व्यवहारले उनलाई अलग किसिमको सिस्टममा गाडी चलाउन प्रेरणा दियो । उनी गुनासो गर्छन्, “म आफू सह-चालक हुँदा चालकलाई उनको घर उठाउन जानुपर्थ्यो,  तर अहिले ठिक विपरीत छ । हरेक दिन बिहान चालकले सह-चालकलाई खोज्दै हिड्नुपर्ने अवस्था आएको छ । सह-चालकले यात्रुसँग नराम्रो व्यवहार गऱ्यो भने दोष जति सबै चालकलाई जान्छ ।”

आफ्नो गाडीमा नयाँ सिस्टम ल्याउनका लागि उनले आफ्नो गाडी-मालिकलाई निकै समय लगाएर मनाउनु परेको थियो । गाडीका मालिक नयाँ सिस्टमप्रति आशङ्कित थिए – चल्ला/नचल्ला । तर खाइजूले आफूलाई विश्वास गरेर नयाँ सिस्टममा गाडी चलाउन दिन आग्रह गरेपछि र यो उपाय चलेन भने फेरि पुरानै सिस्टममा फर्कौँला भनी आश्वासन दिएपछि उनले अनुमति दिएका थिए । उनले यस सिस्टममा गाडी चलाउन थालेको एक वर्ष भएको छ । अहिले ट्राफिक पुलिसहरू उनलाई जिम्मेवारीपूर्वक सडकको उपयोग गरिदिएकोमा, अर्ध-स्वचालित ढोका प्रयोग गरिदिएकोमा र अरू चालकहरूका लागि उदाहरण भईदिएकोमा आभार व्यक्त गर्छन् । यसरी गाडी चलाउन थालेपछि खाइजूलाई अहिलेसम्म सह-चालकको आवश्यकता महसुस भएको छैन । आफ्ना यात्रुहरूलाई मिलेर पछाडि सरिदिनुहोला भनेर आग्रह गर्नका लागि होस् वा कुनै ठाउँमा कोहि उत्रिने भए भाडा बोकेर अगाडि आउँदै गर्नु भन्नका लागि होस्, उनी माइक्रोफोन प्रयोग गर्छन् ।

उनको गाडीमा यात्रा गरिसकेपछि प्राय सबै यात्रु आफ्नो मुहारमा मुस्कान लिएर फर्किन्छन् । खाइजूकी नियमित यात्रु भक्तपुर निवासी उर्मिला उप्रेती भन्नुहुन्छ, ‘मलाई वहाँले समयमै गन्तव्यमा पुऱ्याउनु हुन्छ भन्ने विश्वास लाग्छ । अरू गाडी यात्रुहरू आउँछन् कि भनेर अनावश्यक रूपमा कुरेर रोकी राख्छन् र कहिले अफिस समयमा पुगिन्न ।’  खाइजूलाई यो सिस्टम निकै फापेको देखिन्छ । उनी भन्छन्, ‘मेरो गाडीबाट उत्रँदा कोही महानुभाव पनि रिसाएर अथवा असन्तुष्ट भएर निस्किनुहुन्न, सबै जना खुसी भई निस्किनुहुन्छ । मैले मेरो यात्रु महानुभावहरूको मुहारमा देख्‍न चाहेको कुरा यही ‘खुसी’ नै हो ।’

उनले यो सिस्टममा गाडी चलाउन थालेको एक वर्ष भएको छ र कहिलेकाहीँ उनी निकै हतोस्ताहित हुन्छन्। उनी भन्छन्, ‘यस सिस्टमका बारेमा मानिसहरूलाई थाहा हुन आवश्यक छ । उनीहरूले देखे भन्दा भिन्न किसिमले पनि गाडी चलाउन सकिन्छ भन्ने बुझ्न जरुरी छ ।’ यद्यपि परिवर्तन एक्कासी नहुने र परिवर्तनका लागि समय लाग्ने कुरा उनले बुझेका छन् । आफूबाट अरू चालक र गाडी-मालिकहरूले  प्रेरणा लिनेछन् भन्ने उनको आशा छ ।

यदि चालक र यात्रु,  दुवै पक्षले तारतम्य मिलाएर सँगै काम गरे भने, सार्वजनिक यातायात क्षेत्रका समस्याहरू सजिलै समाधान हुन्छन् भन्ने कुराको उदाहरण हुन् गङ्गाराम खाइजू ।