चीनबाट फर्केका नेपालीलाई खरिपाटीमा के के छन् सुबिधा ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

चीनबाट फर्केका नेपालीलाई खरिपाटीमा के के छन् सुबिधा ?



काठमाडौं– चीनको वुहानबाट फर्काइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ।

ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ।

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठवटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेसिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, माक्स, औषधिलगायत सबै सामग्री प्रत्येक बेडमा पुर्‍याइएको छ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ। शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ।

मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लुडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ। कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ।

क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सीधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ। जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।

सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ।

प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ। पत्रकारका लागि क्वारेन्टाइनबाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ।

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ। चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ। क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ।

स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ।

स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ।

उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो। साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए।