बैंक सिइओ नै खोला धितो राख्ने धन्दामा: यसरी परे प्रहरी फन्दामा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बैंक सिइओ नै खोला धितो राख्ने धन्दामा: यसरी परे प्रहरी फन्दामा



काठमाडौं । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित  केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् ।

उनीहरूले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

प्रहरीका अनुसार अभियुक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अन्य व्यक्ति पक्राउ परेको र गत शुक्रबार मात्रै बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको प्रवक्ता पाण्डेले जानकारी दिए । 

उनीहरुविरूद्ध बैंकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर चार करोड ५० लाख ऋण दिएको खुल्न आएको छ । 

कमसल र नक्कली कागजात प्रयोग गरी खोलाको जग्गा धितो राखेर ऋण दिएको प्रहरीले जनाएको छ ।