इन्टरनेट होइन झुट मात्रै बेच्छ क्लासिकटेक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इन्टरनेट होइन झुट मात्रै बेच्छ क्लासिकटेक



काठमाडौं- इन्टरनेट सेवा प्रदायक क्लासिकटेक नेटले प्रचार गरेको भन्दा निकै धेरै मूल्य ग्राहकबाट असुलेको भेटिएको छ । सस्तो शुल्कमा इन्टरनेट दिने भन्दै आक्रामक प्रचार गररहेको क्लासिकटेकले ग्राहकबाट १ सय १९ प्रतिशतसम्म बढी शुल्क असुलेको फेला परेको छ ।

वेबसाइट तथा सामाजिक सञ्जालहरुमा धमाकेदार अफर भनेर सार्वजनिक गरेको २० एमबीपीएस देखि ६० एमबीपीएस सम्मको प्याकेजमा सेवा लिन पुगेका ग्राहकलाई १ सय १९ प्रतिशत सम्म बढी असुलेको फेला परेको हो ।

क्लासिकटेकले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालहरूमा २० एमबीपीएसको रु ७९९ मात्र लाग्ने भनेको छ । जसमा निःशुल्क आईपीटिभी, निःशुल्क जडान, निःशुल्क राउटर, निःशुल्क सेट टप बक्स र ३ सय ६५ दिन नै ‘कस्टमर सपोर्ट’ भनेको छ ।

तर सोही विज्ञापनको आधारमा सेवा लिन पुग्ने ग्राहकसँग भने उसले २० एमबीपीएसको १ हजार ७ सय ५० रुपैयाँ असुलेको छ । यो भनेको प्रचार गरेको भन्दा १ सय १९ प्रतिशत धेरै हो । प्रचार गरिएभन्दा धेरै शुल्कको लिस्ट कम्पनीले फ्रण्टडेस्कमा टाँसेर राखेको छ ।

कम्पनीले रु १ हजार २ सय ५० भनेर प्रचार गरेको ३० एमबीपीएसको प्याकेजका लागि रिचार्ज प्लान भनेर १ हजार ७ सय ५० असुलेको छ । त्यस्तै ब्रोसरमा ४० एमबीपीएसको रु १ हजार ४ सय ५८ भनेर प्रचार गरिएको छ । तर रकम बुझाउन कार्यालयमा पुग्दा भने ग्राहकबाट रु २ हजार ९० लिने गरेको ग्राहकहरुको गुनासो छ ।

क्लासिकटेकले ६० एमबीपीएसको रु १ हजार ८ सय ३३ भनेर प्रचार गरेपनि रकम बुझाउने बेला भने रु २ हजार ४ सय ८६ लिने गरेको छ ।

ग्राहकलाई रनभुल्ल पार्ने गरि ३/४ प्रकारका मूल्यसूची राखेर प्रचार गरेको उसले ‘इन्टरप्राइज’ (उद्यमी) योजना अन्तर्गत फेसबुक पेजमा २५ एमबीपीएसको मासिक रु १ हजार ६ सय ९५ भनेर प्रचार गरेको छ तर प्याकेज लिन पुग्दा भने १ हजार ९ सय ३८ रुपैयाँ असुलेको छ । आफूले फेसबुक पेजमा मासिक रु १ हजार ६ सय ९५ मात्र भन्ने देखेर इन्टरनेट जडान गर्न आइपुगेको बताएपछि वेबसाइट हेर्न भनेको र वेबसाइटमा रु १ हजार ९ सय ३८ को अर्कै प्रचार फेला परेको कुपण्डोलका राज अधिकारीले बताए । ‘फेसबुकमा एकथरी, वेबसाइटमा अर्कोथरी र अफिसमा पुग्दा तेश्रोदर राखेर ठगेको जस्तो लाग्यो’, उनले भने, ‘झुक्याएर ठग्ने काम भैरहेको रहेछ भन्ने थाहा पाएपछि मैले क्लासिकटेक नै नजोड्ने भनेर फर्केँ ।’

त्यस्तै सोही योजनाको ३५ र ५० एमबीपीएसको प्याकेजमा पनि फरक फरक मूल्यसूची रहेको छ । फरक फरक मूल्य राखेर ग्राहक झुक्याएको विषयमा जिज्ञासा राख्दा क्लासिक टेकका कर्मचारीहरूले झन् रनभुल्ल पार्ने गरेका छन् ।

एउटै एमबीपीएसको किन फरक फरक मूल्य छ भनेर सोध्दा क्लासिकटेकका फ्रण्टडेस्कमा रहेकी महिलाले प्रचार सामग्रीमा भ्याट बाहेकको मूल्य रहेको र कार्यालयमा भ्याट जोडेर लिँदा धेरै परेको बताइन् । कम्पनीका मार्केटिङ अफिसर कमलेश उपाध्यायले आफू नयाँ भएकोले त्यसबारेमा बुझेर मात्रै जवाफ दिनसक्ने बताए ।

तर उनी भन्दा माथिल्लो पोस्टमा रहेका मार्केटिङ म्यानेजर सविन उदासले भने पत्रकारसँग कुरा गर्ने क्रममा रहेका अफिसर उपाध्यायलाई यस्ता झिना मसिना कुराको पछि नलाग्न भन्दै आफ्नो कार्यकक्षमा जान निर्देशन दिए । उदासले उपाध्यायमाथी ग्राहककै बीचमा अभद्र व्यवहार समेत गरेका थिए ।

कम्पनीका मार्केटिङ अफिसर कमलेस उपाध्यायले आफू नयाँ भएकोले त्यसबारेमा बुझेर मात्रै जवाफ दिनसक्ने बताए ।

यो पनि पढ्नुहोस्:

क्लासिकटेक इन्टरनेटको ठगी धन्दा: (अपरेसन नं १) 

पुराना ग्राहक भन्छन: भुलेर पनि नजोड्नुस क्लासिकटेक