सशांक कोइरालालाई बाम गठबन्धन फलामको चिउरा चपाउनु सरह सावित हुने ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सशांक कोइरालालाई बाम गठबन्धन फलामको चिउरा चपाउनु सरह सावित हुने !



नवलपुर : नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालालाई वाम गठबन्धन नै खतरा देखिएको छ ।पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी छुट्टा छुट्टै निर्वाचमा होमिएका कारण निर्वाचन सहज भएको डा. कोइरालालाई यति बेला बाम गठबन्धनलाई पछार्दै आफ्नो पक्षमा जित निकाल्नु फलामको चिउरा चपाउनु सरह सावित हुने देखिएको छ ।

डा. कोइराला यस क्षेत्रबाट दुई दुई पटक निर्वाचित भए पनि यस क्षेत्रमा विकासले कुनै फड्को मार्न नसकेको भन्दै अन्य दलका उम्मेदवारहरूले मतदातासँग आफ्नो पक्षमा भोट माग्ने गरेका छन् जसले गर्दा कोइरालालाई थप चुनौती थपिएको हो ।यहाँ वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर पराजुली डा. कोइरालाको लागि चुनौतीको रूपमा देखिएका हुन् ।

पराजुली भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियानका अध्यक्षसमेत हुन् । उनी यस क्षेत्रका लागि नयाँ अनुहार भए पनि उनले आफ्नो संस्थाको नामका कारण पनि केही मत बढाउन सहज हुने अनुमान गरेका छन् ।कतिपयले डा. सशांक कोइरालालाई नेपाली कांग्रेसका भावी नेतृत्वकर्ताको रूपमा हेरेकै कारण जित सहज हुने अनुमान गरेका छन् । तथापि स्थानीय तहको निर्वाचनमा सम्बन्धि वडाका वडा अध्यक्षहरूले ल्याएको मतदान हेर्दा नेपाली कांग्रेसलाई वाम गठबन्धन चुनौतीको रूपमा देखिएको छ ।

यहाँ डा. सशांकलाई राप्रपा र राप्रपा प्रजातान्त्रिकले उम्मेद्वार नउठाएको कारण उनीहरूको कांग्रेस महामन्त्री कोइरालालाई समर्थन रहेको छ तथापि राप्रपाको मतले सशांकको जितलाई सहज बनाउने सकिने देखिँदैन ।एक लाख १३ दहजार ९ सय ४७ जना मतदाता रहेको नवलपुर प्रतिनिधि सभा क्षेत्र नंं १ मा वाम गठबन्धनको र नेपाली कांग्रेसको मत हेर्दा नेपाली कांग्रेस बुलिङ्गटार गाउँपालिकामा मात्र वाम गठबन्धन भन्दा अगाडि देखिन्छ ।स्थानीय तहको निर्वाचनमा बुलिङ्गटारमा वडा अध्यक्षहरूले पाएको मत हेर्दा नेपाली कांग्रेसको ४ हजार ७ सय ५१ मत रहेको छ भने नेकपा एमालेको २ हजार पाँच सय १ मत र माओवादी केन्द्रको जम्मा ५ मत रहेको छ । यहाँ स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको थियो ।

यहाँ एमाले र माओवादी केन्द्रको गठबन्धन भन्दा नेपाली कांग्रेस २ हजार २ सय ४५ मतले अगाडि देखिएको छ ।नवलपुर निर्वाचन क्षेत्र नं. १ मा गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्गटार गाउँपालिका र कावासोती नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा रहेका छन् । बुलिङ्गटार बाहेक गैंडाकोट, देवचुली र कावासोती नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन अगाडि देखिएको छ ।

गैंडाकोट नगरपालिकामा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्दा नेपाली कांग्रेसको १० हजार ६ सय २० मत रहेको छ भने नेकपा एमालेको ९ हजार ९ सय ४ मत र माओवादी केन्द्रको २ हजार २ सय ७० मत रहेको छ । गैंडाकोट नगरपालिकामा भने नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनभन्दा नेपाली कांग्रेस १ हजार ५ सय ५४ मतले पछाडि देखिएका छन् । गैंडाकोट नगरपालिकामा नगरप्रमुख एमालेले जितेको हो भने उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो ।

त्यस्तै नगरप्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले जितेको देवचुली नगरपालिकामा पनि नेकपा एमाले र माओवादी केन्द्रको वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्दा नेपाली कांग्रेसका वडा अध्यक्षहरूले पाएको मतभन्दा वाम गठबन्धनको मत अगाडि देखिएको छ । देवुचली नगरपालिकामा वाम गठबन्धन भन्दा नेपाली कांग्रेस १ हजार ४ सय ८० मतले पछाडि देखिएको छ ।

यहाँ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ८ हजार ७ सय १७, नेकपा एमालेले ८ हजार १ सय ८० र नेकपा माओवादी केन्द्रले २ हजार १६ मत प्राप्त गरेका थिए ।मेयर उपमेयर दुवै नेकपा एमालेले जितेको कावासोती नगरपालिकामा पनि नेपाली कांग्रेसको तुलनामा वाम गठबन्धन अगाडि देखिएको छ । यहाँ ३ सय ४८ मतले नेपाली कांग्रेसको मत वाम गठबन्धनको भन्दा कम देखिएको छ ।कावासोती नगरपालिकाको ११ वटा वडा प्रतिनिधि सभा १ मा समेटिएको छ । ती ११ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा नेपाली कांग्रेसको ७ हजार ५ सय ६८ मत रहेको छ भने नेकपा एमालेको ७ हजार ३ सय २४ र नेकपा माओवादी केन्द्रको ५ सय ९२ मत रहेको छ ।

नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसको ३१ हजार ६ सय ५५ र वाम गठबन्धनको ३२ हजार ७ सय ९२ मत रहेको देखिन्छ । स्थानीय तहमा खसेको मतलाई हेर्दा नेपाली कांग्रेस वाम गठबन्धन भन्दा १ हजार १ सय ३७ मतले पछाडि देखिएको छ । यहाँ राप्रपा र संघीय समाजवादी फोरमले नेपाली कांग्रेसलाई समर्थन गरे र जनमोर्चाले वामगठबन्धनलाई समर्थन गरे कांग्रेस ३÷४ सय मतले अगाडि देखिन्छ ।यहां विवेकशील साझा पार्टीले उम्मेदवारी दिएको छ । यो पार्टीले नेपाली कांग्रेसको भोट काट्न सक्ने अनुमान गरिएको छ ।यहाँ देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारी, नयाँ शक्ति पार्टी नेपालका कृष्ण गौतम, विवेकशील साझा पार्टीका हरिप्रसाद गौतमसहित ८ दलका ८ जना चुनावी मैदानमा रहेका छन् ।