कोरोना भाइरस अमेरिकामा पनि भेटियो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कोरोना भाइरस अमेरिकामा पनि भेटियो



बीबीसी- चीनमा हालै देखिएको कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ ।

एक जना व्यक्तिमा सो भाइरस देखिएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी)ले जनाएअनुसार एकजना चीनबाट आएर सियाटलमा बस्दै आएका व्यक्तिलाई सो भाइरसको संक्रमण देखिएको हो ।

सो भाइरस चीनको वुहान सहरबाट फैलिन थालेको हो । त्यसबाट अहिलेसम्म ३०० मानिसलाई संक्रमण भएको र ६ जनाको मृत्यु भएको जनाइएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय विज्ञमध्ये केहीले १ हजार ७ सय जनालाई संक्रमण भएको जनाएका छन् भने कतिपयले १ हजार ३ सयलाई भएको जनाएका छन् ।

उत्तर कोरियाले आफ्नो सीमा विदेशी पर्यटकका लागि अस्थायी रुपमा बन्द गरेको एक टुर अपरेटरले जनाएका छन् ।

अमेरिकामा सो भाइरसको संक्रमण देखिएका व्यक्ति ३० वर्ष आसपासको उमेरका रहेको जनाइएको छ ।

उनी १५ जनवरीका दिन चीनको वुहानबाट फर्केका थिए । उनको उपचार वाशिङटनस्थित एक अस्पतालमा भइरहेको जनाइएको छ । बिरामीको यात्रा विवरण हेरेर उनलाई कोरोना भाइरसको संक्रमण भएको अनुमान विज्ञहरुले गरेका हुन् ।

सीडीसीका अनुसार उनलाई सो संक्रमणको पुष्टि प्रयोगशालामा परीक्षणपछि भएको हो ।

चिनियाँ अधिकारीहरुले सो भाइरस मानिसबाट मानिसमा सर्ने सोमबार मात्रै पत्ता लगाएका थिए ।

निमोनियाको जस्तै लक्षणबाट अहिलेसम्म चीनमा ६ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

सो संक्रमण चीनको वुहानपछि बेइजिङ र सांघाईमा पनि देखिएको जनाइएको छ ।

सो संक्रमण सन् २०१९ को अन्त्यमा वुहानस्थित सी फुड मार्केटबाट सुरु भएको अनुमान गरिएको छ ।

अमेरिकाबाहेक सो भाइरसको संक्रमण थाइल्याण्ड, जापान, दक्षिण कोरिया र ताइवानमा पनि देखिएको छ ।

ती देशमा पुगेका व्यक्ति हालै चीनको वुहानबाट नै गएको बताइएको छ ।

अष्ट्रेलिया, सिंगापुर, हङकङ, ताइवान, जापानलगायतका क्षेत्रमा वुहानबाट आउने हवाई यात्रुलाई कडा निगरानीमा राख्न थालिएको छ ।

अमेरिकाले पनि आफ्ना लस एन्जेल्स, न्यूयोर्क, सिकागो र एटलान्टाका विमानस्थलमा कडा निगरानी थालेको छ ।

अष्ट्रेलियामा हालै एकजना वुहानको भ्रमण गरेर आउने व्यक्तिको परीक्षण भइरहेको छ । सो सम्बन्धमा अहिलेसम्म सबैभन्दा कडा नीति उत्तर कोरियाले मात्रै लिएको छ ।