लिङ्देनका लागि नयाँ कार्यकक्ष, कमल थापाको कुर्सीमा नबस्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लिङ्देनका लागि नयाँ कार्यकक्ष, कमल थापाको कुर्सीमा नबस्ने



काठमाडौं। एकता महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर लिङ्देनले पदभार ग्रहण गरेका हुन्।

राप्रपाले नवनिर्वाचित अध्यक्ष लिङ्देनको लागि नयाँ अस्थायी कार्यकक्ष तयार गरेको थियो। सोही कार्यकक्षमा उनले पदभार ग्रहण गरेका हुन्।

यसअघि, एकतापछि राप्रपाका तीन अध्यक्षमध्ये कमल थापाले कार्यकारी अधिकारसहित अध्यक्षको कार्यकक्ष प्रयोग गर्दै आएका थिए। पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले थापालाई अध्यक्षको कार्यकक्ष सुम्पेका थिए।

तर, काठमाडौंमा भएको एकता महाधिवेशनमा थापा लिङ्देनसँग अध्यक्ष पदमा पराजित भए। पदाधिकारीमा बहुमत जिते पनि थापा आफू पराजित भए।

थापा पराजित भएपछि लिङ्देनले पदभार ग्रहण गर्नका लागि कार्यकक्षको विषयमा विवाद भएको थियो। सोही विवाद नबढाउनका लागि नयाँ अध्यक्षका लागि अस्थायी कार्यकक्ष तयार गरिएको राप्रपा स्रोतले जनाएको छ।

लिङ्देनकै निर्देशनमा अध्यक्षको लागि नयाँ अस्थायी कार्यकक्ष तयार भएको थियो। उनले थापालाई सम्मानित नेताका रुपमा पुरानै कार्यकक्ष प्रयोग गर्न दिने भन्दै आफ्ना लागि नयाँ कार्यकक्ष तयार पार्न भनेका थिए।

थापालाई अध्यक्षको कुर्सी नै छाडेर सम्मानित नेता भनेका लिङ्देनले पदभार ग्रहण गर्दै उनको अभिव्यक्तिको भने जवाफ फर्काएका छन्। निर्मल निवास लागेर आफूलाई हराएको भन्ने थापाको अभिव्यक्तिको लिङ्देनले जवाफ दिएका हुन्।

लिङ्देनले आफ्नो जितलाई राजासँग जोड्नु र राजाकै कारण हारेको भन्ने अर्थ थापाले लगाउनुलाई दुर्भाग्यपूर्ण र खेदजनक कुरा भनेका छन्। उनले थापाको उक्त अभिव्यक्ति महाधिवेशन प्रतिनिधि तथा आफ्नै कार्यकर्ताहरुप्रतिको अपमान र अविश्वास भएको बताए।