लिपुलेकमा उदांगिएको भारतको नियत « Himal Post | Online News Revolution
Logo

लिपुलेकमा उदांगिएको भारतको नियत



-डिकेन्द्र ढकाल, समाजशास्त्री

खराव छिमेकी, चाक्सीबारीको बैठक र “द बटम् बिलियन”को दृष्टान्त

अहिले नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै जाने बाटो भारतले भर्खरै ‘उद्घाटन’ गरेपछि यसले नेपालमा थप तरंग ल्याएको छ । यसै बीच नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले असन्तुष्टी प्रकट गरेर प्रेस विज्ञप्ति जारी गरेको छ ।कुटनीतिक तहमा गरिनु पर्ने पहिलो ‘उचित’ चाल सायद यो नै होला । सामाजिक सन्जालमा यसबारे अनेकौँ टिप्पणी भएको पाइएको छ । जस्तै: “आधिकारिक होइन कि”, “हस्ताक्षर खोइ”, “मिति खोइ” । खासमा यो प्रेस विज्ञप्ति अधिकारिक नै हो । प्रेस विज्ञप्तिमा मिति र अधिकारीको हस्ताक्षर जरुरत पर्दैन ।

भारतले आफूले भर्खरै जारी गरेको नक्सा सही हो र भारत त्यसबाट पछि हट्न चाहन्न भन्ने संदेश दिन मुलुक कोरोनाले संकटमा परेको र सरकार आफ्नै दलको आन्तरिक किचलोमा परेको अवस्थामा भारतले ‘पेल्न’ खोजेको स्पष्ट छ । कुटनीतिमा विरोध जनाउने सुरुआती शिष्ट शैली यही हो । कतिपयले भने झैँ तुरुन्तै प्रधानमन्त्री-प्रधानमन्त्री संवाद थाल्नुपर्ने कुरो कुटनीतिक तरिका होइन । त्यसो त हेपाहा भारतले नटेर्ने स्पष्टै छ । त्यसैले कुटनीतिक नियम बमोजिम नै नेपालले अब यो विषय अन्तराष्ट्रियकरण गर्नु पर्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा यो कुरा उठाउनु पर्दछ ।

सरकार इतरका राजनीतिक दलकाले अब ठूलो आवाजमा यस घटनालाई लिएर भारतको कम र नेपाल सरकारको बढी विरोध गर्न सक्छन् । तर उनीहरुको विरोध राजनीतिक दाउपेचमा आधारित हुनसक्छ । यस्तो बेला राजनीतिक दाउपेच, सरकारलाई घोचपेच गरेर राष्ट्रियता कम्जोर पारिनु कदापि हुन्न ।

खासमा सरकार, विपक्षी, जनता एक ढिक्का हुनुपर्ने बेला हो यो । गैरराजनीतिक जनतालाई अहिले साँच्चिकै डर लागेको छ, जगजगी भएको छ । कतै विस्तारवाद बिरुद्ध नारा लगाउनेहरुले देशलाई आलीमुनि मिसाउने त हैनन् ? कतै आधा पेट खाएर प्रजातन्त्र जोगाउने नारा लगाउनेहरुले हाम्रो स्वाधिनता बेचिदिने त हैनन् ? ठूलो त्रास छ !

यतिबेला आफैले देखे सुनेको एउटा घटना याद आउँछ । २०४६ को कुरो हो । भारतीय नेता र ‘र-अ’का एजेन्टहरुलाई नेपाली कांग्रेस र वाममोर्चाको पहलमा काठमाडौँमा बोलाइयो । चाक्सीबारीमा सभा गरियो । उनीहरुले नेपालका राजालाई खुबै गाली गरे । मलाई याद छ, चाक्सीबारीमा एउटा भारतीय प्राध्यापकले आफ्नो नीच भाषणमा तत्कालिन राजालाई ‘मेरो मती बिग्रेको विद्यार्थी’ भनेर पशुपतिनाथलाई बुद्धी सपारिदिन प्रार्थनासमेत गर्न भ्याएका थिए । एउटा विदेशीले स्वतन्त्र मुलुकको राजालाई हाम्रै भूमिमा आएर यसरी गाली गर्दासमेत झनै खुसी भएर हाम्रा नेता आफ्ना तिघ्रा ठटाउँदै बुरुक्क बुरुक्क दुई हातमाथि उफ्रे । यसरी ल्याइएको थियो २०४६ मा अरुकै बलमा ‘प्रजातन्त्र’ । त्यसैले पनि ऐले तिनै दलहरुले भारतीय हस्तक्षेप भनेर जोडदार विरोध गर्न नैतिक वल राख्दैनन् ।

छिमेकी खराब भए दु:ख पाइन्छ । विकास अर्थशास्त्री प्रोफेसर पाउल कोलियरले आफ्नो सोधमुलक पुस्तक “द बटम् बिलियन्” मा दावी गर्छन्: गरिब देशहरु अविकासको दलदलमा फस्नलाई चारोटा अल्झन हुन्छन्: खराब छिमेकीबाट भुपरिवेष्टित हुनु परेको अल्झन, सशस्त्र द्वन्दको अल्झन, प्राकृतिक श्रोत अभावको अल्झन, र कुशासनको अल्झन। कोलियरले नेपाललाई केश स्टडी गरेका त होइनन् तर धेरै हदसम्म उनको थेसिसले नेपालको विकास असफल हुनुलाई बुझ्न सहयोग गर्दछ ।

खराब छिमेकीले कसरी सकस दिन्छ भन्ने कुरालाई उही चाक्सीबारीमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न निम्त्याइएको भारतीय प्रध्यापकले “नेपाल इन ट्रांजिशन” भन्ने पुस्तकमा “नेपालको राजनीतिक विकास र हरेक कुरा भारतको आफ्नै सुरक्षा र विकासको “इन्ट्रेस्ट” र चाहनामा मात्र हुन्छ” भन्ने दावी नेपालका राजनीतिक घटनाक्रमसहित खुलाइदिएका छन्। (पृष्ठ ३१७-३२९) ।

लामो समयसम्म नेपाल सरकारको प्रशासनभित्र रहेर पञ्चायती व्यवस्था र त्यसपछिका ‘प्रजातान्त्रिक’ भनिने शासनमा काम गरेका अनुभवहरु समेटी तयार पारिएको आफ्नो पुस्तक “समाज, संस्कार र शासन” मा खेमराज नेपालले स्पष्ट भनेका छन्, नेपालका “कुनै पनि मंत्रिमण्डलका सदस्यहरु समाज र मुलुकको हित र विकासका लागि दूरगामी नीति निर्माणमा लागेको मैले देखिनँ। नेपाली नेताहरु संस्कार, आचार, विचार र सामर्थ्य बनाउनभन्दा पनि ‘पारिपट्टिको आली मुनिको आशीर्वाद’ को लागि मरिमेट्दछन्।” उनको अनुसार पनि नेपालको अविकासको कारक कोलियरले औँलाएका अल्झन नै प्रमुख भएको देखाउँछ: दुष्ट छिमेकी र देशभित्रको कुशासन ।

भारतले नेपालको सिमा मिच्न खोजेको अहिले मात्र होइन । राजा महेन्द्रको पालामा भारतले नेपाल र तिब्बतको सिमानामा १७ वटा चेकपोष्ट राख्यो । राजा महेन्द्रले नेपाल एउटा स्वाधीन राष्ट्र भएकोले नेपालमा भारतीय सैनिकको उपस्थिति नेपाल र नेपालका छिमेकीको हितमा छैन भन्दै ती चेकपोष्ट हटाउन पत्राचार गरे । तर भारतले टेरेन । अनि नेपालले भारतीय चेकपोष्ट आफै हटाउन लाग्दा भारतले नहटाउन नेपाललाई चेतावनी दिँदै आर्थिक नाकाबन्दी ग-यो । कुरो स्पष्ट छ : भारतको हेपाहा प्रवृति छ ।

विगतमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न भारतलाई बोलाएर गल्ती भएता पनि आम् राष्ट्रप्रेमी जनता र दलहरु अब सजग हुनु आवश्यक छ । दार्शनिक जर्ज संतियानाले भनेका छन् – इतिहासबाट नसिक्नेहरु गल्ती भोग्न अभिसप्त हुन्छन् ।