लुम्बिनीमा उपेन्द्रको कमजोर, बहुसंख्यक केन्द्रीय सदस्य बाबुरामको पक्षमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुम्बिनीमा उपेन्द्रको कमजोर, बहुसंख्यक केन्द्रीय सदस्य बाबुरामको पक्षमा



लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाको अवस्था कमजोर हुने भएको छ । डा. बाबुराम भट्टराईको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यहरू खुलेपछि जसपाको अवस्था चिन्ताजनक हुने भएको हो ।

३ जना पूर्वमन्त्रीसहित बहुसंख्यक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी डा. भट्टराईको पक्षमा उभिएका छन् । लुम्बिनी प्रदेश मधेशपछि जसपाको राम्रो आधार क्षेत्र मानिन्छ ।

लुम्बिनीमा जसपाका ५८ केन्द्रीय सदस्य छन् । ति मध्ये ३३ जना केन्द्रीय सदस्य डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णयमा पुगेका हुन्।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर पूर्वमन्त्री एवं लुम्बिनी इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध ३३ जनाले डा. भट्टराईलाई साथ दिने निर्णय गर्दै जसपा परित्याग गरेको घोषणा गरेका छन्।

जसपा अध्यक्ष उप्रेन्द्र यादवको एकलौटी र जातिवाद प्रवृत्तिका कारण लुम्बिनीबाट बहुमत केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेको प्रदेश इन्चार्ज चौधरीले बताएका छन् ।

‘उप्रेन्द्रजीमा पोलिटिकल नेचर देखिएन, अहंकार र दम्भ बढी नै देखियो,’ उनले भने, ‘त्यसैले हामी त्यहाँ रहन सकेनौं, अब डा. बाबुराम भट्टराईसँगै रहन्छौं।’

चौधरी सहित पूर्वमन्त्री एवं प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज पूर्व सांसद चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द चौधरीले जसपा परित्याग गरेका छन्।

त्यसैगरी विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी, उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थीले जसपा परित्याग गरी नेपाल समाजवादी पार्टी समाहित हुने निर्णय गरेका छन्।

त्यसैगरी जसपा परित्याग गर्नेहरुमा अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जितमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा.मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजन छन्।