म फुल हुँ र? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

म फुल हुँ र?



आतुर छन् मुग्लानी भमराहरू
तिम्रो जवानीको डालीमा पिङ खेल्न
सेता जूनहरू पनि लालायित छन् हरपल
तिम्रो शितलताको आँकलन गर्न
पवन,
बैशालु पवन सरम नमानी नापिरहेकेा छ
वसन्त पर्खिरहेका कोपिलाहरूकेा आयतन।

प्रशोधित रसायनिक तेलहरू घसेर
तैरिरहेका छन् चञ्चले आवाजहरूको कथा
शायद लडाउनु छ चिप्लोमा टेकाएर
‘यहाँ दाउ हुन्छ आँफैले छड्के हानेर
कम्मरमा समातेर उठाए झैँ गर्ने’।

अथाह प्रेम गर्ने कमिलाहरू जस्तै म
दोषारोपणको गह्रुगो बिल्ला भिडेर तिम्रो दैनिकी चहार्छु
फेद हुँदै टुप्पोमा र, टुप्पो हुँदै फेदमा पुगे जस्तै
क्षितिजको काला बादलको सप्को हटाएर।

थाहा छ- फुल टिपे पछि ओइलिन्छ
थाहा छ- टिपेरै हो चढाउने हृदयको मन्दिरमा
थाहा छ- मुग्लानी भमराहरू अम्खरोसम्म आउँदैनन्
थाहा छ- सेतो जून संघार नाघ्दैन।

त्यसैले,
मैले टिप्न चाहें फुलेको ‘तिमी फुल’
र चाहें, अथाह प्रेम गर्ने कमिलाहरूलाई अलपत्र पार्न
अञ्जुली भरी पोको पारेर भोलिको सपना सजाउन
लमक्क लम्केका हात
संघारमा रोक्यौ र मुस्कुराएर भन्यौ
म फुल हुँ र?

मलाई डर छ
मुग्लानी भमराहरूको
सेता जूनहरूको
र कमिलाहरूको
यी फुलको नवरत्नलाई खोक्रो बनाइछाड्छन् एक दिन
फुल ओइलाउनु पूर्व।

रूप रसाइली
लुम्ले कास्की