मध्यरातमा एमाले नेताको घरमा निर्वाचन आयोगको तमासा ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मध्यरातमा एमाले नेताको घरमा निर्वाचन आयोगको तमासा !



निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ
४ भदौ, काठमाडौँ ।

मध्यरातमा एमाले नेताको घरमा निर्वाचन कार्यालयका कर्मचारी ल्यापटप र नामावली सङ्कलन गर्ने उपकरणसहित पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।
स्थानीय तहमै मतदाता नामावली सङ्कलन गर्ने समय शनिवार सकिएको हो तर, निर्वाचन आयोग र ती कर्मचारीको लाचारी र मिलेमतोमा शनिवार रातको २ बजे सम्म एमाले नेताको घरमा बसेर फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले नामावली सङ्कलनका लागि आकृत खत्रीलाई बुढानीलकण्ठ नगरपालिकामा खटाएको थियो । उनलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा लिइएको हो ।

बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो । र, दुई टोली बनाएर तस्बिरसहितको मतदाता नामावली सङ्कलन भयो । तर, खत्रीलाई हातमा लिएर एमाले नेताहरूले रातारात आ–आफ्नो घरमै नाम सङ्कलन गर्ने गरेको खुलासा भएको हो ।

खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा भएको पनि खुलेको छ । उनलाई प्रयोग गरेर एमाले नेताहरूले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएका हुन् । तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरूले उक्त काम जारी राखे ।

त्यसका लागि एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख दीपक निरौलाको घरलाई अड्डा बनाइएको थियो । शनिवार त्यसबारे जानकारी पाएपछि स्थानीय बासिन्दाले विरोध गरे ।

प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ । महाराजगञ्ज वृत्तका डीएसपी गोविन्द पुरीले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगका कर्मचारीबाट ल्यापटपसहित मतदाता नामावली सङ्कलन गर्ने सामग्री बरामद गरेका छौँ ।’

काठमाडौँका जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले घटना दुःखद भएको बताएका छन् ।