एनआरएनएका साथीहरुको अभिव्यक्तिले नेपालमा तरंग पैदा गर्छः महर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एनआरएनएका साथीहरुको अभिव्यक्तिले नेपालमा तरंग पैदा गर्छः महर



काठमाडौं । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रले २४ क्यारेट सुनमा पनि थप शुद्धताको कल्पना गर्ने बताएका छन् । एनआरएनए एनसीसी अमेरिकाद्वारा आयोजित दशैं बिशेष शुभकामना आदानप्रदान भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिलाई सुधार्न र शुद्ध बनाउन आफूहरु तयार रहेको बताएका हुन् ।

राजनीतिका तर्फबाट जनताले महसुस हुने खालको काम नभएको महरले बताए । महरले आफू आशालाग्दो, भरोसा गर्न लायक र विश्वास गर्ने खालको राजनीतिको खोजीमा लागेको एकजना अभियान्ता भएको बताए ।

‘सबैले सँगसँगै विकास गरेमात्रै सबैले सुख पाउँछन् । एउटा रोग अर्को ठाउँमा गइहाल्छ । ग्लोबलाइजेसनको जमाना छ । कतै न कतै हामीलाई समस्य परिहाल्छ । तसर्थ एनआरएनको मात्र समस्या नभइकन सबै करिब ६० लाख नेपाली कमिटिको समस्या हो । तसर्थ जेजस्तो भएपनि हामी जेजस्तो परिस्थितीमा त्यहाँ गएपनि विश्वका हरेक कुनाकन्दारामा हामी बसेपनि ३, ४ वटा कुराहरु जस्तो बौद्धिकता, पुँजी, प्रविधीलाई नेपालमा ल्याउन सकेनौ भने कुनै पनि देश बनाउन चाहिने मेनपावर नै हो ।, महरले सम्बोधनका क्रममा भने, यहाँको दक्ष मेनपावर विदेशिन थालेको छ । नेपालमा मेनपावर छैन् । देश बनाउने हातहरु विदेशीएका छन् । विदेशीएका सबैलाई फर्किने खालको नेपाल बनाउनुपर्नेछ त्यसका लागि विदेशीएका साथीहरुले आफूले सिकेका सिप, पुँजी, प्रविधी र क्षमतालाई नेपालमै लगाउने उचित बन्दोबस्त मिलाउनुपर्छ ।’

आफू निःशुल्क शिक्षा र स्वास्थ्यको एजेण्डा लिएर अगाडी बढेको र यसलाई कसरी अगाडी लैजादा ठिक होला भनेर एकजना राजधानीका चर्चित निजी कलेजका फाउण्डर प्रिन्सिपलसँग आफूले कुरा गर्न खोज्दा उनी अचम्मित भएको र केही नबोलेको कुरा स्मरण गर्दै महरले भने, ‘मैले उहाँको केही जवाफ नआइसकेपछि यसमा तपाईले चिन्ता गर्ने कुरा केही किन छैन् भने अबको १० बर्षमा तपाईको यो कलेजमा महिनाको २ हजार ३ हजार तिरेर पढाउने नेपाली कति हुन्छन् ? राम्रो शिक्षा लिएका अलिकति पैसा भएका सबै विदेशीने भइसके । नेपालमा त गरिब मात्र रहने भए । अनि तपाईको कलेजमा तिर्ने उनीहरुको क्षमता कसरी हुन्छ ? तसर्थ यी यावत समस्याहरुको समाधानका लागि सबैले आआफ्नो ठाउँबाट इफोर्ट गर्नुपर्छ ।’

आफूहरुले भनेको कम विश्वास गर्ने तर विदेशमा बस्ने नेपालीहरुले अभिव्यक्त गरेको कुराले नेपालमा तरंग पैदा हुने गरेको महरले बताए । विदेशमा रहेका नेपालीहरुले गाउँमा यो मान्छे राम्रो हो यसलाई भोट दिनुहोला भन्नुभयो भने जनताले त्यसलाई विश्वास गर्ने अवस्था रहेको महरले सुनाए । तसर्थ यो विश्वासलाई सकारात्मक रुपमा अगाडी बढाउन एनआरएनएले महत्वपूर्ण भूमिका खेल्नेमा नेता महरले विश्वास व्यक्त गरे ।