डढेलो र आँधीले सताएको अष्ट्रेलियामा ज्यानमारा माकुराको आतंक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डढेलो र आँधीले सताएको अष्ट्रेलियामा ज्यानमारा माकुराको आतंक



एजेन्सी । विनाशकारी डढेलो, बाढी अनि ठूलो असिनापानी र आँधीको सामना गरिसकेको अष्ट्रेलियामा अब भने खतरनाक माकुराहरुबाट जोगिन चेतावनी दिइएको छ ।

त्यहाँको अहिलेको वातावरणीय अवस्था माकुराका लागि सबैभन्दा उपयुक्त भएकाले नै अधिक सङ्ख्यामा विषालु प्रजातिहरु बाहिरिन सक्ने बताइएको छ ।

अष्ट्रेलियामा विश्वकै सबैभन्दा विषालु र खतरनाक प्रजातिका माकुराहरु पाइन्छन् । विशेषगरी पूर्वी अष्ट्रेलियालाई अति विषालु र प्राणधातक माकुराका लागि प्रख्यात मानिन्छ ।

यस्तोमा बुधबार मात्र न्यु साउथ वेल्स स्थित अष्ट्रेलियन रेप्टाइल पार्कले पछिल्ला केही दिन ‘फनेल वेब स्पाइडर’ माकुराहरुको गतिविधि उल्लेखनीय रुपमा वृद्धि भएको जनाएको छ ।

पार्कका प्रवक्ता ड्यानिअल रमसेले भनेका छन्, “हालै परेको पानी र अहिलेको गर्मी अनि तातो वातावरणका कारण हामीले ‘फनेल वेब स्पाइडर’ को प्रजातिका माकुराहरु धेरै बाहिर निस्कन थालेको पाइरहेका छौँ । ” सो प्रजातिलाई पृथ्वीकै सबैभन्दा खतरनाक मानिन्छ जसले टोकेमा गम्भीरतापूर्वक उपचार नगरे मान्छेको ज्यान पनि जान सक्छ ।

यसरी केही समय अगाडि मात्र अष्ट्रेलियाले दशककै सबैभन्दा ठूलो स्तरको आगलागीको सामना गर्नुपरेको थियो जसका कारण २८ जनाको मृत्यु भएको छ भने न्यु साउथ वेल्समा मात्र तीन हजार घरहरुमा क्षति पुगेको हो ।

यस्तोमा गत हप्ता परेको पानीलाई धेरैले राहत मानिरहेका थिए । तर अनुमान गरिए भन्दा धेरै ठूलो पानी परेपछि बाढीको अर्को समस्याबारे चिन्ता व्यक्त गरिएको थियो । त्यस्तै पानीसँगै परेको गल्फ बल जत्रो ठूलो आकारको असिनाले अझ धेरै संरचना र सवारीसाधनहरुमा क्षति पुर्याएको बताइएको छ । त्यसको २४ घण्टा अगाडि मात्र दक्षिणपूर्वी अष्ट्रेलियामा ठूलो धुलोको आँधी आएको थियो ।

यस्ता प्रकोपहरुबीच मानिसहरु अर्को नयाँ समस्याबाट पनि जोगिनुपर्ने भएको हो । माकुराको नयाँ खतराबारे एबीसी पेस्ट कन्ट्रोल सिड्नीका प्रमुख, वारेन बेलेले सिएनएनसँग भनेका छन्, “फनेल वेब्स गर्मीयाममा सक्रिय हुनु सामान्य हो तर यो वर्ष माकुराको मौसम धेरै ढिला सुरु भएको छ किनकी पछिल्ला केही महिनामा मौसम अत्यन्तै सुख्खा छ । ”

उनका अनुसार यसको विष यति खतरनाक हुन्छ कि सजिलै मान्छेको मृत्यु हुन सक्छ । उनले थप भने, “फनेल वेब्स अहिलेका वर्षायाममा फेरि निस्किरहेका छन् जसकारण यिनीहरु मान्छेको घरको आँगन र छानामा पुग्न सक्छन् । यसमा सबैले सतर्कता अपनाउन जरुरी छ । ”