मलाई दाङबाट टिकट दिए जित निश्चित छ नत्र एमालेको हार पक्का:कोमल ओली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मलाई दाङबाट टिकट दिए जित निश्चित छ नत्र एमालेको हार पक्का:कोमल ओली



काठमाडौ, असोज १२ 

एमालेमा पार्टी प्रवेश गर्ने सोच थिएन । तर, पनि राप्रपाको नाजुक अवस्था देखेर मलाई धेरै तनाव थियो । म त तराईको क्याम्पियनमा थिएँ । घरमा मेरा दाजुसँग मलाई पार्टी प्रवेश गराउनेबारे कुरा भएछ । दाङमा सबैले मेरो महत्व बुझ्नुभएको छ । त्यसकारण पनि गएँ ।धेरै समयपछिको कुराकानीपछि यो निर्णय लिन बाध्य भएँ । पार्टीको संगठन गतिलो भएको भएपनि म पार्टी परिवर्तन गर्ने पक्षमा हुने थिइनँ । तर, अस्तिमात्र महाधिवेशन गरेर सबै नेताहरु मिलेर चुनाव परि गरियो, भोज पनि खाइयो ।

तर, त्यो एकता भंग हुन एक महिना पनि नलाग्दा चित्त त दुख्छ नि । पार्टीको संगठन बिग्रदा अहिले मलाई भोट दिनेहरु पनि कता छन् थाहा छैन । पार्टी नफुटेको भएपनि मलाई आश थियो ।मलाई पशुपति शमशेरले बोलाउन पनि सक्नुभएन किनभने म पार्टी फुटाउने पक्षमा थिइनँ । अबको आवश्यकता भनेको एकता हो । त्यो पनि वादको होइन सम्वृद्धिको हो । वादको कुरा गरेर केही फाइदा छैन किनभने मान्छेले विकास चाहेका छन् । पार्टीलाई योगदान दिएका नेताहरु त फुट्छन् भने राष्ट्रियताका र विकासका कुरा गर्नेे पार्टीमा जान मलाई कसले रोक्छ र ?

हाम्रो देशमा आफ्नो पार्टीमा आउँदा सबै प्रिय हुने हो । अरुकोमा जाँदा भने सबैमा वैरभाव पलाउने । म त देशको भलाइकै लागि एमालेमा गएकी हुँ । पहिला पनि देशको सेवा गर्न नै राप्रपामा गएकी थिएँ । मलाई त्यहाँको नीति र प्लेटफर्म राम्रो लागेन । कुनै पनि काम गर्न प्लेटफर्म चाहिन्छ ।जसरी रेडियो नेपालले दिएको अवसरलाई मैले कहिल्यै लत्याइन । त्यो अवसरको सही सदुपयोग गर्न पाएँ । कहिल्यै छोडिन पनि । दायाँ बायाँ गरिन, प्राइभेट मिडिया भनेर भनिन । सुरुदेखि काम गरेर अन्तिममा छोडें । राजनीति पनि एउटा प्लेट फर्म हो । राम्रो काम गर्नका लागि मानिसलाई सही प्लेटफर्मको अवश्यक पर्ने रहेछ ।

म एमालेमा यसकारण प्रवेश गरें किनभने म सधैं राष्ट्रवादको पक्षमा अडान लिने व्यक्ति हुँ । पहिलादेखि नै सबै पार्टीलाई मैले नजिकबाट नियालीरहेंकी थिएँ । कांग्रेस र माओवादीले रातारात महाअभियोगको प्रस्ताव राख्नु न्यायालयमाथि ठूलो राष्ट्रघात थियो । त्यस्तो अवस्थामा एमालेले संसद अवरोध गरेर फर्कायो पनि ।नेकपा एमाले न्यायको पक्षमा उभिएको कुराले म प्रभावित भएकी छु । यो समयमा नेकपा एमालेले राम्रो गरेको छ भनेर सबैलाई थाहा छ । भोलिको दिनमा तलमाथि भयो भने ममात्र होइन कोही पनि एमालेको पक्षमा हुँदैन । देश सर्वोपरि हो, राजनीतिक पार्टी त केवल साधनमात्र हो । संविधान संशोधनमा राप्रपाले गरेको समर्थन गलत थियो ।

ठाउँठाउँमा जाँदा राप्रपाका नेतृत्व वर्गका व्यक्तिहरुले पनि कार्यकर्तालाई त्यत्ति अपनत्व दिएको मैले पाइनँ । राप्रपाले नेतृत्वको अभिभावकत्व निभाउन सकेको छैन । म कुनै समितिमा पनि छैन र कुनै पदाधिकारीमा पनि राखिएन । कुनै समितिको सदस्य पनि मलाई उहाँहरुले राख्नुभएन ।मलाई सायद उहाँहरुले उपयुक्त देख्नुभएन होला । त्यैसैले पनि राष्ट्रियताको पक्षमा उभिने निर्णय लिएँ । भोलि एमालेले पनि मलाई कतैबाट टिकट नदिए या चुनाव हारें भनेपनि राष्ट्रियताको पक्षमा उभिनुमा नै मैले गर्व महसुस गर्नेछु ।

म चर्चा कमाउने, पत्रिकामा फोटो छपाउने भनेर एमालेमा प्रवेश गरेको होइन । यो लोकप्रियताको त मलाई खाँचो नै छैन । किनभने मैले एउटा गीत गरेँ भने पनि समाचार आउँछ । मानिसले नकारात्मक शब्द प्रयोग गरेर गाली गलौज गर्छन् । तर, विकसित देश त्यस्सै विकसित भएका होइनन् ।डोनाल्ड ट्रम्प पनि डेमोक्रेटिक छाडेर रिपब्लिकमा आएका थिए । त्यहाँका जनताले सजिलै पचाए । यहाँ त नकारात्मक भाव पैदा गरिन्छ । तर त्यो नकारात्मकताले आफैंलाई हानी गर्छ ।अब यो चुनावमा मलाई एमालेले दाङबाट टिकट दिने कुरा भएको छ । टिकट पाएँ भने मेरो जित निश्चितजस्तै हो । यदि दिएन भने दाङमा एमालेको हार पक्का हो ।