मनकामनामा बोको ढल्यो, अपहरणकारी फन्दामा परे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मनकामनामा बोको ढल्यो, अपहरणकारी फन्दामा परे



 

काठमाडौं, २३ साउन ।

एक मात्र छोरो हराएपछि विक्षिप्त भएका असनका व्यवसायी विजय चौधरी छोराको खोजीमा प्रहरी प्रशासन मात्र होइन, भगवानको समेत भर परेका थिए ।

छोरो भेटिए मनकामना मन्दिरमा बोको चढाउने उनले भाकल गरेका थिए । अपहरणमा परेका ६ वर्षीय छोरा विशाल चौधरी गत सोमबार सकुशल भेटिए । यो खबर नयाँपत्रिका दैनिकले छापेको छ ।

प्रहरीबाट जोगिन नसक्ने ठानेपछि अपहरणकारीले बच्चा छाडिदिएका थिए । प्रहरीको मिहिनेतले छोरा सकुशल पाएपछि उनले धन्यवाद दिए ।

तर, अपहरणकारी पक्राउ परेका थिएनन् । प्रहरी अपहरणकारीको खोजीमै थियो । शनिबार बिहानै विजय भाकल पूरा गर्न गोरखास्थित मनकामना मन्दिर पुगेका थिए । मन्दिरमा बोको काटेका मात्र के थिए, उनको मोबाइलमा फोन आयो ।

‘विजयजी तपाईंका छोराका मुख्य अपहरणकारी समातिए,’ अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक गजेन्द्र रावलले भने । अपहरणका नाइके विजय विकलाई प्रहरीले उदयपुरमा पक्राउ गरेको थियो । उनलाई अनाैँठो लाग्यो । ‘कतै मेरो भाकलकै कारण पक्राउ परेका त होइनन् भन्ने लाग्यो,’ शनिबार प्रहरीको पत्रकार सम्मेलनमा भेटिएका विजयले सुनाए ।

अपहरणकारी नै प्रहरीका सहयोगी बने

त्यो भन्दा अनौँठो त विजयलाई अपहरणकारीको पहिचान खुलेपछि लागेको थियो । अपहरणका योजनाकार राजु उनकै बाल्यकालका साथी थिए । जसले अपहरणपछि बच्चा खोज्न प्रहरीलाई सहयोग गरेको निकै नाटक गरेका थिए । विकसहित अपहरणमा संलग्न विष्णु पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अपहरणपछि विजयसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । पाण्डेलाई उदयपुर तथा विकलाई रामेछापबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । ‘चिनजानकै बच्चालाई अपहरण गर्न सहज हुने देखेपछि उनीहरूले विशाललाई टार्गेट बनाएको देखिन्छ,’ एसएसपी अमात्यले भने, ‘हामीले बच्चाको सुरक्षालाई केन्द्रमा राखी निकै विवेकपूर्ण तरिकाले अनुसन्धान गरेर उनीहरूलाई पक्राउ गरेका हौँ ।’

जब स्कुलमा छोरा भेटिएन

विजयका ६ वर्षीय छोरा विशाल पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा पढ्छन् । सधैंजसो अघिल्लो बिहीबार (१२ साउन)मा विजय आफ्नो छोरा लिन स्कुल गएका थिए । स्कुल छुट्टी भएपछि प्रायः विशाल स्कुलको गेटमा रहेको रूखनजिकै बस्थे । तर, त्यस दिन विशाल थिएनन् । उनी स्कुलभित्र छिरे । स्कुलभित्र पनि विशाल भेटिएनन् । बुझ्दा छोरा केही समयअघि नै स्कुलबाट निस्किएको शिक्षकहरूले बताए । स्कुलबाहिर कतै वरिपरि छ कि भनेर उनले खोजे । त्यहाँ पनि नभेटिएपछि उनको मनमा चिसो पस्यो ।

करिब एक घन्टासम्म पनि छोराको अत्तोपत्तो नलागेपछि हराएकै निष्कर्षमा पुगे । स्कुलको गेटमा सिसिक्यामरा थियो । स्कुलले सिसिक्यामरा फुटेज हेर्यो । जसमा उनको छोरालाई पल्सर मोटरसाइकलमा आएका दुई व्यक्तिले लिएर गएको देखियो । तर, मोटरसाइकलमा रहेका व्यक्तिहरू चिनिएनन् । अपरिचित व्यक्तिहरूले छोरालाई लिएर गएका हुनाले अपहरण नै परेको आंशका गरियो । उनी रुन थाले । त्यहीबीचमा उनलाई नजिकका साथी राजु विकको फोन आयो । ‘कहाँ छस् यार, पसल त बन्द छ त,’ विकले फोनमा भने । उनले रुँदै आफ्नो व्यथा बताए । ‘के रे ! छोरा हरायो रे, कसरी यार,’ भन्दै विकले ठूलै आश्चर्य व्यक्त गरे । एकैछिनमा विक स्कुल पुगे । छोरो हराएको चिन्ताले विजय स्कुलमै बेहोस भए । उनै विकले अस्पतालमा लिएर गए । छोरो भेटिने आश्वासन दिँदै सम्झाए ।

बच्चा रोडमा भेटियो

सोमबार बिहान एक बच्चा काँडाघारीको सडकमा अलपत्र अवस्थामा भेटियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई कार्यालयमा लगेर सोधपुछ गर्यो । ती बच्चा अपहरणमा परेका उनै विशाल चौधरी थिए । बच्चा अपहरणमा परेको र प्रहरीले व्यापक खोजी गरिरहेको सुनेपछि डराएर उनीहरूले बच्चा छाडिदिएका थिए । बच्चा सकुशल भेटिएपछि प्रहरी अपहरणकारीको खोजीमा लाग्यो । भोलिपल्ट राजुको मोबाइल स्विचअफ थियो । बालकले आफूलाई राजु अंकलले लिएर गएको बताएका थिए । को राजु अंकल ? भन्दा उनले राम्रैसँग भन्न सकेका थिएनन् । उनै विकले नै अपहरण गरेको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यसको पाँच दिनपछि दुवैजना अपहरणकारी पक्राउ परेका हुन् । ‘एउटै थालमा भात खाएको साथीले यसरी मेरो छोराको अपहरण गर्छ भन्ने नै लागेको थिएन, अझै मलाई विश्वास गर्न गाह्रो भइरहेको छ,’ विजयले भने । रामेछाप घर भएका विक ललितपुरको एकान्तकुनामा बस्दथे । उनी घरमा मार्बल लगाउने काम गर्थे ।

तर, महत्वाकांक्षी स्वभावका २६ वर्षीय उनी आपराधिक मानसिकताका व्यक्ति भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘उसले दुई दर्जन सिमकार्ड र चारवटा मोबाइल प्रयोग गर्ने गरेको देखिएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘अपहरणमा प्रयोग गरिएको मोटरसाइकलसमेत केही दिनका लागि भाडामा लिइएको छ ।’ फिरौती माग्न उनले भिनाजुको नाममा निकालेको सिम प्रयोग गरेका थिए । उनै विकले नै आफ्नो स्वर परिवर्तन गरेर ५० लाख फिरौती मागेको एसएसपी अमात्यले बताए ।

जागिर खोज्ने क्रममा अपहरणको योजना

राजुको घर रामेछापको मन्थली–१२ मा पर्दछ । गाउँकै राजु पाण्डे उनका मिल्ने साथी हुन् । कहिले काठमाडौं त कहिले मन्थली बस्ने पाण्डेले करिब एक महिनाअघि आफूलाई जागिर खोजिदिन विकसँग आग्रह गरेका थिए । उनी सहरमै बस्न चाहन्थे । ज्यामी काम गर्ने विकले जागिर खाएर पैसा कमाउन धेरै गाह्रो भएको सुनाए । सजिलै पैसा कमाउने हो भने अपराध नै गर्नुपर्छ भन्दै काठमाडौं बोलाए । हत्या र अपहरणजस्ता काम गरे धेरै पैसा कमाउने उनीहरूले निष्कर्ष निकाले । निकटका साथी विजयले व्यापारबाट राम्रै पैसा कमाउँथे । १०–१५ लाख जुटाउन आफूलाई समस्या नभएको बताउने गरेका थिए । त्यही कुरा विकलाई ‘क्लिक’ गर्यो र उनकै छोरालाई अपहरण गरी पैसा असुल्ने योजना बनाए । आफूमाथि शंका नहोस् भनेर त्यसपछि उनले अपहरणमा परेका विशालको खोजीका लागि विजय र प्रहरीसँगसँगै हिँडेको डिएसपी अजय केसीले बताए । केही समय प्रहरीलाई झुक्याउन सफल भए पनि उनी अन्ततः प्रहरी फन्दामा परेका छन् ।

प्रहरीका अनुसार आइतबार नै विकले प्रहरी आफ्नो पछि लागिसकेको थाहा पाएका थिए । जसका कारण सोही दिन बेलुका उनी काठमाडौंबाट भागेका थिए । उदयपुरमा ससुरालीबाट उनी पक्राउ परेका हुन् । पाण्डे भने मन्थलीबाटै समातिए । सुरुमा ५० लाख माग्ने र २० लाखमा सहमति गरेर बच्चा छाडिदिने योजना बनाएको उनीहरूले बताएका छन् ।

अप्रेसन ‘बुनु’

विशाललाई उनीहरूले पकनाजोलबाट सिधै गोठाटार लिएर गए । गोठाटारमा राजु पाण्डेकी बहिनी अनिता केसीको डेरा थियो । साथीको बच्चा केही दिनका लागि राख्न ल्याएको बताएका थिए । सोही घरमा राखेर उनीहरूले फिरौती मागेका थिए । अनिताको सानी छोरी थिइन् । उनको नाम थियो बुनु । पाँचौँ दिन सडकमा छाडिएका विशाललाई तिनै बच्चीको नाम दिइएको थियो । त्यसपछि प्रहरीले कसको बच्चाको नाम बुनु छ भनेर खोजी सुरु गरे । त्यहीक्रममा अपहरणकारीको पहिचान भयो ।

बुुनु नामको बच्चा खोज्ने क्रममा नै अपहरणकारी फेला परेकाले सो अप्रेसनको नाम ‘अप्रेसन बुनु’ राखिएको प्रहरीले जनाएको छ । अनिताले भने अपहरणबारे आफूलाई केही जानकारी नभएको दाबी गरेकी छिन् । बच्चालाई भने उनीहरूले राम्रै व्यवहार गरेका थिए । जसका कारण चार दिनसम्म रमाएरै उनी बसेका थिए । पत्रकार सम्मेलनमा उपस्थित भएका विशालले भने, ‘अबदेखि स्कुलबाट नचिनेका मान्छेहरूस“ग कहिल्यै जान्नँ ।’

५० लाख फिरौतीको माग

भोलिपल्ट पनि बिहानैदेखि छोराको खोजी सुरु भयो । चौधरीलाई उनै मिल्ने साथी विकले सहयोग गरेका थिए । दोस्रो दिन पनि छोराको केही पत्तो लागेन । तेस्रो दिन चौधरीको मोबाइलमा फोन आयो । ९८२३८२६२१५ नम्बरबाट आएको फोन थियो त्यो । ‘तपार्इंको छोरो हाम्रो कब्जामा छ, अर्कै भनेर उठाउँदा तपार्इंको परेछ, चुनाव पनि आउन लागेको छ, हाम्रो पार्टीलाई ५० लाख दिनुहोला,’ त्यति भन्नेबित्तिकै फोन काटियो । विशाल हराएको कि अपहरणमा परेको अस्पष्ट थियो । त्यो फोनपछि विशाल अपहरणमै परेको प्रस्ट भयो । प्रहरीले पनि अनुसन्धानको बाटो फेला पार्यो । त्यसरी पैसा माग्ने नम्बरबाट महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले अनुसन्धान थाल्यो । सो नम्बर त विजयकै साथी राजु विकका भिनाजुको नाममा दर्ता थियो ।

राजु नै प्रहरीका शंकाको पहिलो घेरामा तानिए । तर, प्रहरीले उनलाई पक्राउ गरेन । किनकि, प्रहरीको पहिलो प्राथमिकता बच्चाको सुरक्षा थियो । बच्चाको उद्धारमा प्रहरी केन्द्रित भयो । आइतबार पनि बच्चाको खोजी जारी थियो । विकले चौधरीको साथ छाडेका थिएनन् । ‘यस्ता बच्चा अपहरणकारीलाई त सुट गर्नुपर्छ भन्दै थियो ऊ,’ विजयले सुनाए । आइतबार दिउँसो विजयले राजुलाई भने, ‘अब मैले प्रहरीको माया मारिसके, अनुसन्धानमा यस्तो खतरा टिम लागेको छ, भेट्नेबित्तिकै गोली हानिदिन्छ ।’ आइतबार नै बेलुका ११ बजे चौधरीले राजुलाई फोन गरेर भेट्न बोलाएका थिए । छोराकै खोजीका लागि भनेर बोलाएका थिए, तर विक आउन हिच्किचाए । प्रहरीको शंका बढ्दै गयो ।