कथा : सनक « Himal Post | Online News Revolution
Logo

कथा : सनक



– मनिषा गौचन

हो म उसको हत्या गर्ने निर्णयमा पुगेको छु। यसका कारणहरू निम्‍न छन् :

१. उसका आँखा

उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदैथियो। अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको कुरुवा भएर बसेको थिएँ। आमा कुनाको बेडमा निदाइराख्‍नुभएको थियो। क्याबिनमा अक्सिजनको पाइपभित्र उहाँको सास खेलिरहेको मधुरो आवाज गुन्जिरहेको थियो। झ्यालनिर म एउटा किताबका पानाहरू पल्टाउँदै थिएँ। त्यही झ्यालबाट देखिने गरी उ दायाँतिर लागेकी थिई। हिँडदाहिड्दै उसले नपत्याउने गरी मेरा आँखामा आफ्ना आँखाका किरणहरू छोडिदिएकी थिई। उसले छोडेका किरणहरूको मातमा म एउटा रङ्गीन दुनियाँ सिर्जना गर्न पुगिसकेको थिएँ। त्यो दुनियाँ नितान्त आश्चर्यजनक थियो जहाँ स्वप्‍नील रङहरू उसको आगमनका लागि झन्‌झन् गाढा हुँदै घुल्न थालिसकेका थिए। मलाई यस्तो लाग्थ्यो, उ फेरि मेरै झ्यालको साइडबाट बायाँ मोडियोस्। फेरि दायाँ मोडियोस्। फेरि बायाँ, फेरि दायाँ। यसरी आहोरदोहोर गरिरहदा फेरि पनि ती आँखाहरूबाट किरण मेरो आँखामा सरोस्। म खुसीले उज्यालिन सकूँ। खै के थियो त्यो नजरमा त्यतिबेला म अझै सोचमग्‍न छु। तर अहिले भने सिर्फ यस्तो लागिरहेछ ती आँखा विषालु थिए…।

 २. उसको आवाज

ऊसँग बोलेको पहिलो दिन, म अस्पतालकै कोरिडोरमा आमाका लागि औषधिको लिस्ट बोकेर फार्मेसीतिर जाँदैथिएँ। उ हुत्तिँदै आई। मसँग ठोक्किई। उसका हातमा रहेका फाइलहरू भुईँमा छरिए। ऊ फेरि पनि मेरो आँखामा उसका आँखाका किरणहरू छोड्दै भुईँतिर निहुँरिई र फाइल उठाएर भनी “सरी”। यो एउटा शब्दले पनि कसरी बोक्न सकेको उसको आवाजको दम। साँच्ची उसले यतिमात्र बोल्दा पनि म भित्र कस्तो अनौठो स्फूर्ति छाएको। मानौ दिनभरको घामले लल्याकलुलुक भएको एउटा बिरूवा झाँझरबाट झरेको पानीका बुँदहरूले बिउँतिएझैँ। मलाई यस्तो लाग्यो फेरि पनि उसैगरी उ ठोक्किन आओस् र भनिरहोस् “सरी…सरी …सरी”। उ गई। मेरो मन मस्तिष्कभरि एउटा धुन छोडेर गई। म हरदम त्यो धुनकै लयमा एकोहोरो भइरहेँ। जुन कुनामा जाँदा पनि त्यो आवाजले मलाई छोडेन वा भनूँ मैले त्यो आवाजलाई छोड्न सकिनँ। म यस्तोसम्म भएँ मानौँ मलाई स्किजोफ्रेनिया भएको छ। म आवाजका भ्रमहरूमा क्षतविक्षत हुँदैछु र पनि मीठो मानीमानी सुन्दैछु। तर यतिबेला भने यस्तो लागिरहेछ म उसको आवाजको भल्युम नै म्युट गरिदिऊँ।

 ३.   उसको मुस्कान

उ फेरि पनि त्यही कोरिडोर हुँदै आई। हातमा पानीको बोतल लिएर उभिइरहेको थिएँ म। एकपटक पुलुक्क हेरी। उसको नजर नै त काफी थियो मेरो मन मस्तिष्कलाई म आफैँबाट उडाएर लैजान। उ मुसुक्क मुस्काई। उसको मुस्कान त्यत्तिकै शक्तिशाली थियो जसले मभित्रको जिद्धी “म”लाई तुरुन्तै काबुमा ल्यायो। उ हिँड्ने कोरिडोर हुँदै म उसको मुस्कानलाई पच्छ्याउन थालेँ। लालुपाते जस्ता दुई पातला ओठहरू मेरा आँखामा टाँसिएझैँ लाग्यो। एकपटक बायाँ हत्केलाले दुबै आँखा हल्कासँग थिचेँ। हुनसक्छ म ती लालुपाते ओँठलाई आँखाबाट टिपेर कतै लुकाउन चाहन्थेँ। वा क्याबिनका भित्ताहरूमा सजाउन चाहन्थेँ। हो, नजानी उसको मुस्कानको नशाले म लट्ठिदैथिएँ। हेर्दाहेर्दै उ त्यहाँबाट कतै गइसकेकी थिई। मेरो हातको पानीको बोतल रित्तिसकेको थियो। थाहा भएन, कतिबेला मैले पानी रित्याएँ। मेरो चिउँडो मुनिको सर्टको भाग भने रुझेको थियो। उसको मुस्कान खोज्‍ने म यतिबेला भने त्यो मुस्कानको दुस्मन भएको छु। अथवा त्यो मुस्कान मेरो दुस्मन भइदिएको छ।

४. उसको स्पर्श

पहिलो पटक उसलाई छोएको सम्झेँ। सम्झनु पनि पर्दैन आफैँ छाइदिन्छ मस्तिष्कभरि। उ हाम्रो क्याबिनमा आएकी थिई। पाठेघरमा समस्या र फोक्सोमा पानी जमेर बिरामी परेकी मेरी आमा नसाबाट औषधी लिँदैहुनुहुन्थ्यो। सजिलोसँग औषधी नगएपछि मैले नै मेडिसीन “सी” मा फोन गरेर नर्सलाई बोलाएको थिएँ। केहीबेरमै ढोका ढकढक गरेको आवाज आयो। ढोका खोल्दा सामुन्ने उ नै त थिई। मलाई हेरेर उ मुसुक्क मुस्काई। उसको गालाको अलि तल्लो भागमा रहेको गाढा खैरो कोठी तन्किएर लाम्चो भयो। उ झनै राम्री देखिई। उ सरासर भित्र आई। औषधी पास गर्ने  क्यानुला चलाउन थाली। दुखाइले आमाको अनुहार छुँदैथियो। मैले आमालाई कपालमा सुमसुम्याउन थालेँ। बुढेसकालले हल्का खुम्च्याएको मेरी आमाको हातमा उसले अरू नशा खोज्‍न थाली। मलाई थाहा थियो उ नर्स थिई। तर उ यो डिपार्टमेन्टमा थिईन। मैले सोधेँ, “अबदेखि यतै हो तपाईँ ?”

“हैन, आज साथी नआएकोले मात्र हो। म प्राय म्याटरनिटी वार्डमा हुन्छु” उसले भनी। उसले यति भन्दा म उसको साथीप्रति कृतज्ञ हुन पुगेँ। उनी एकदिन नआउँदा यो सब भयो। उसले आमाको हातमा उपयुक्त नसा भेटिन। मैले नियतवश आफ्ना औँलाहरूलाई आमाको हात हुँदै उसका औँलाहरू छुवाउन पुगेँ। के थियो उसका औँलाहरूमा तिनलाई छुँदा मेरो जीउभरि अचम्मको कम्पन आएको थियो। कताकता उसको स्पर्शसँगै प्रीतका कणहरू मेरा औँलाहरूमा सरेझैँ महसुस भएको थियो। यतिबेला लाग्दैछ, उ एउटी कालसर्प थिई जसले मलाई क्षणभरमै डस्यो।

 ५. उसको साथ

उसको हेराइ, मुस्कान, आवाज, यी चीजहरूको नशामा म पूर्णरूपले डुबिसकेको थिएँ। योभन्दा पहिले यसरी कुनै युवतीको नशामा म परेको थिईन। म भित्रको हलचल उसले पनि बुझ्दैथिई। ममा जे भइरहेछ त्यसले उसलाई रमाइलो लागेको हुनसक्छ। त्यसैले हाम्रो क्याबिनमा आउने क्रम बढाउन थाली। ऊ आउँथी, निकैबेरसम्म कुरा गर्थी। मभन्दा बढी ऊ नै बोल्थी। म कम बोल्थेँ किनकी मेरा इन्द्रियहरू उसैलाई हेर्न, सुन्न र महसुस गराउन रुचाउँथे। उ बोलिरहँदा म उसलाई यसरी हेर्थेँ कुनै बेला ऊ आफैँ आत्तिएर के कुरा गरिँदैछ नै बिर्सन्थी। यतिबेलासम्म उसले आफ्नो पारिवारिक वृत्तान्त सबै बताइसकेकी थिई। मध्यम परिवारकी थिई। बाबु सामान्य सरकारी जागिरे। आमा गृहिणी। तीन दिदी बहिनीमा माइली छोरी थिई ऊ। कपनमा बस्थी। स्टाफ नर्स बन्नु उसको सपना थियो। लगभग उ त्यही सपनामा रमाउँदैथिई।

एकदिन हामी अस्पतालकै क्यान्टिनमा कफी गफ गर्दैथियौँ। उ निकै खुसी देखिन्थी। एउटी गर्भवती महिलाको ज्यान जानबाट जोगिएको कुरा सुनाई। अनि मैले सोधेँ “बच्चा ?” उसले भनी, “बच्चा त पहिले नै मरिसकेको थियो”। सोचेँ, सारा संसार जीवित कुराले नै त आकर्षित हुन्छ। ऊ प्रसुति विभागमा के कस्ता गतिविधिहरू हुन्छन् त्यो खुलेर सुनाउँदैथिई। यही क्रममा उसले भनी, “एउटा मान्छेबाट दुइटा मान्छे बन्नु सजिलो कहाँ छ र !” मैले थपेँ, “यो त दुइटा मान्छेबाट तीन बन्नु हैन र?” उसले तुरुन्तै तर्क गरी, “मान्छे त आखिर आमाकै कोखमा बन्ने हो नि, हैन र ?” उसले यसो भन्दा मैले मेरी आमा सम्झेँ। जसले कोखमा मात्रै हैन, यो दुनियाँमा मलाई मान्छे बनाउँन अनेक सङ्घर्ष झेल्नुभएको छ। म जुरुक्क उठेँ र क्याबिनतिर लागेँ। ऊ सायद छक्क परी।

आमा छटपटाइरहनुभएको थियो। उ पनि मेरो पछिपछि आएकी रहिछ। उसले अक्सिजनको पाइप मिलाई, तर आमा अक्सिजन लिन नसक्ने अवस्थामा पुगिसक्नुभएको थियो। मैले आमालाई बोलाएँ। आमाको आँखीभौँ विस्तारै तलमाथि गऱ्यो। उहाँ वास्तवमा अन्तिमपटक सास फेरिरहनुभएको थियो। क्षणभरमै अरू पनि नर्स-डाक्टरहरू भेला भए। तुरुन्तै उहाँलाई भेन्टिलेटरमा राखियो। त्यसको केही बेरमै मेरी आमा रहनुभएन।

पूरै सुनसान भो संसार। मेरा सामुन्ने आमासँगका ती क्षणहरू खेल्न थाले छाया भएर । छायामा, मेरी आमा अनि म। मलाई काखमा लिएर दूध चुसाउँदै गरेकी मेरी आमा, केही बेरमै मेरो हात समाएर स्कुलको बाटो लाग्नुहुन्छ। म कक्षाकोठामा साथीहरूको टिफिनमा टोलाइरहेको हुन्छु त्यतिनै बेला मेरी आमा हातमा टिफिन बोकेर आईपुग्नुहुन्छ। छुट्टीको घण्टी लाग्छ। सबैका आमाबुबाहरू गेटमा पहिले नै आएर छोराछोरीको बाटो कुरिरहेका हुन्छन्। त्यही भीडमा मेरी आमा पनि हस्याङ्ग फस्याङ्ग गर्दै आइपुग्नुहुन्छ र म आमाको चोर औँला समातेर आमासँगै डेरामा फर्किन्छु। रातको पर्दा खस्छ। आमा मलाई कपालमा सुमुमाउँदै अनेक कथा सुनाउनुहुन्छ अनि म लुटुक्कै आमाको अङ्गालोमा निदाउन पुग्छु। मस्त नीदमा डुबेको मलाई निद्रादेवीकै काखमा छोडेर उहाँ अर्को कोठामा जानुहुन्छ। निद्रादेवीले मलाई छोडेर जान्छे। म ब्युझन्छु। उता कोठाबाट आमाको भारी सास मेरो कानसम्म ठोकिन्छ। म झसङ्ग झस्किन्छु। यसपछि मेरो झस्किने क्रम दोहोरिरहन्छ। एक दिन मलाई उता कोठामा आमा के गर्दै हुनुहुन्छ भनेर जान्न मन लाग्यो। ढोकानिर पुगेर आमा भन्दै बोलाएँ। एकाएक उहाँको सास शान्त भयो। तर केही खसेजस्तो आवाज सुनेँ। मैले ढोका घचेटेँ। खुलेन। भित्रबाट चुकुल लगाइएको थियो। निकै बेर ढोकामा ढकढक गरेँ। अहँ, आमाले ढोकै खोल्नुभएन। त्यसपछि कहिल्यै पनि आमाको कोठाबाट कुनै त्यस्तो आवाज आएन।

एकपटक म सिकिस्त बिरामी परेँ। मलाई अस्पतालमा भर्ना गर्नुपर्ने भनियो। आमासँग पैसा थिएन। त्यतिबेलै एकजना पुरुष आयो र केही रकम उहाँलाई दिएर गयो। सायद मेरो उपचार खर्च त्यसैबाट टरेको थियो। मलाई सञ्चो भएको केही दिनमै त्यो पुरुष हाम्रो घरमा आयो र मेरै सामुन्ने आमालाई तानेर कोठामा लग्यो। म पछ्याउँदै गएँ। ढोका बन्द भयो। अनि मैले सुन्न थालेँ त्यस्तै भारी सास।

हो, मेरी आमा मलाई हुर्काउन आफ्नो शरीरको ब्यापार गर्नुहुन्थ्यो। यो लोग्ने मान्छेले जितेको समाजमा मेरी आमा एउटी मात्र होइनन् जसले आइमाई भएकै कारण यो सब झेल्नुपऱ्यो। सामूहिक बलात्कारको उपज हुँ म। एक साँझ बाटोमा हिँड्दै गर्दा उहाँ लुटिनुभयो। कोको थिए उहाँ चिन्नुहुन्न। आफूमाथि पालैपालो उफ्रिरहेका तिनका अनुहार रातको अँध्यारोले लुकाइदिएको थियो। सम्झनुहुन्छ अँध्यारोमा ती लोग्ने मान्छेहरू ब्वाँसाजस्ता देखिन्थे। आमाको पेट बढ्दै गयो। मेरी आमा आफ्नै परिवारमा अटाउन सक्नुभएन। अन्ततः त्यागिदिनुभयो आफ्ना भन्नेहरू सबै। यी सबै पीडालाई बिर्सन मेरी आमाले आफ्नो शरीरलाई बजारमा राखिदिनुभो। यी कुराहरू मेरी आमाले कति सुन्दर अक्षरमा आफ्नो डायरीको पानामा लेख्‍नुभएको रहेछ जुन मैले कक्षा दशमा अध्ययन गर्ने बेला चोरेर पढेको थिएँ। डायरीमा एउटा यस्तो वाक्य पनि थियो, “सन्तानको बाबु को हो भन्ने कुरा आमालाई मात्र थाहा हुन्छ रे। तर म आमा भएर पनि मलाई थाहा छैन मेरो छोराको बाबु को हो ?”

यतिबेला म आमाका निदाएका आँखाहरू पढ्दै थिएँ। उहाँसँगै निदाएका थिए मेरा बाबु पनि। किनकि मेरी आमा आमा मात्र हुनुहुन्थेन, मेरो बाबु पनि हुनुहुन्थ्यो र त, मैले कहिल्यै बाबुको अभाव महसुस गर्नुपरेन। यतिखेर म नितान्त टुहुरो बनिसकेको थिएँ। आमाको शरीर छोएँ। जुन झन्‌झन् पवित्र लागेर आयो। आमाको पवित्र शरीरलाई आर्यघाटमा जलाएर फर्केदेखिन् म पूरै एक्लो भएँ।

मेरो एक्लोपनाले मलाई खाँदै थियो। यसबाट मुक्त हुन मैले फेरि उही नर्स खोज्न थालेँ। साँच्ची भन्दा मलाई उसको साथ आवश्यक हुन थाल्यो। जमिनमा केही नरोपी त के उम्रिन्छ? तर झार त उम्रिन्छ नि। किनकि झार हामीलाई आवश्यक नै छैन। आवश्यक हुने चीज पाउन आफू होमिनै पर्छ।

हिउँदमासको बिहान। चारैतिर हुस्सुको मस्ती थियो। प्रकृतिको क्यानभासमा ऊ आफै जसरी मन लाग्छ उसरी पोखिएको थियो। कौशीको डिलमा उभिएर पूर्वतिर हेरेँ। कप्पनको डाँडा देख्‍न सकिनँ। केही दिन भो यो डाँडालाई बिहानबिहान गम्लङ्गै छोपेर हुस्सुले सम्भोग गर्न थालेको। मलाई हुस्सुसँग भाउन्न भएको पनि केही दिन भयो। तल ओर्लिएँ। मेरो बुलेट ढाड थापेर मलाई नै पर्खिरहेको थियो। चिसो लागिसकेछ यसलाई पनि र खोक्न थाल्यो। केहीबेर किक दिएपछि उ आफैँ तातियो। र एकपटक सुमसुम्याएँ। टालोले पुछपाछ पनि गरेँ।

निदाएको टोललाई ब्युताउँदै मेरो बुलेट कपनतिर हुइँकियो। बाटो छेक्न आएको हुस्सु आफैँ टाढा हुँदै गयो। गुम्बानजिक पुगेपछि उसलाई फोन गरेँ। मलाई थाहा थियो उसको विदाको दिन हो आज। पन्ध्रबीस मिनटको अन्तरालमा ऊ आई। उ मलाई कल्पनाकाशको अप्सराभन्दा कम लागिन। उसका सुकुमेल जस्ता मसिना आँखा, पातला लालुपाते ओठ, टुसुक्क उठेको फुच्चे नाक सबैतिर मेसैसँग चुम्‍ने रहर बढेर आयो। हामी त्यतै नजिकैको डाँडामा चिसो हावा खाँदै, सुन्दर तर भित्रभित्र निसास्सिएको काठमाडौँलाई हेर्दै उभियौँ। केहीबेरको कुराकानीपछि मैले सिधै उसँग प्रेम प्रस्ताव राखेँ। उसले नाइँ पनि भनिन हुन्छ पनि भनिन। केही नभने पनि सुरु भयो हाम्रो प्रेम कहानी।

म उसलाई बेहद चाहन्थेँ। बेहद माया गर्थेँ। मलाई यस्तो लाग्थ्यो ऊ मेरो सबै चीज हो जसलाई हरदम आफैसँग राख्‍न थाहन्थेँ। मानौँ मैले अहिलेसम्म कमाएको सबैभन्दा महङ्गो चीज। मनले जे चीज खोज्छ त्यो चीज पाउनै पर्ने मेरो आदतसँग मेरी आमा पनि पटकपटक थाक्नुभएको मलाई राम्ररी याद छ। म अहिले जसरी आर्थिक रूपले सम्पन्न हुनसकेको छु त्यो पनि त मेरो आदतकै उपज हो। हो म जे खोज्छु त्यो पाएरै छोड्छु। मैले आमाको सुख चाहेँ। मेरो लागि त्यो सुख पैसामा थियो। दुनियाँले थुकेकी मेरी आमालाई म त्यो सिंहासनमा राख्‍न चाहन्थेँ जहाँ उहाँले आफूलाई एउटा महलको महारानी सम्झन सक्नुहोस्। उहाँलाई यो अवस्थामा ल्याउन मैले पढाइलाई निरन्तरता दिन चाहिनँ। म छिटोछरितो पैसा कमाउँने धन्दामा लागेँ। संयोगवश मैले एउटा त्यस्तो समूह भेटेँ जसको हात समातेर म पैसाको चङ्गुलमा छिर्न थालेँ। हो, मैले लागू औषधिको ओसारपसारदेखि लिएर सुन तस्करीसम्मको काममा दिलो ज्यान लगाएँ। मसँग भएको यो आलिसान बङ्गला, जग्गाजमिन, मेरो बैङ्क ब्यालेन्स सबैमा मेरो आफ्नै पसिना छ। मान्छेले यो उमेरमै सजिलै कसरी पैसा कमायो भन्छन् होला तर यति कमाउँन मैले पनि कैयौँ जोखिम मोलेको छु। र पनि म त्यो भाग्यमानी दुई नम्बरी धन्दावाल हुँ जो जहिल्यै पुलिसको आँखामा परेन।

हाम्रो प्रेमको यात्रा अगाडि बढिरह्यो। उसको आउने जाने क्रम बढ्दै गयो। दिनभर मसँग रहेपनि रातमा ऊ फर्कन चाहन्थी। तर कैयौँ रातहरूमा मैले उसलाई जबर्जस्ती आफैँसँग राखेको छु। उसँग अलग हुँदाको क्षण कल्पना गर्दा मात्रै पनि मेरो संसार पूरै अन्धकार भएको महसुस हुन्थ्यो।  विस्तारै मैले उसलाई नर्सिङ्‌को काम छोडेर आरामले घर बस्न कर गरेँ। तर उसले मानिन। भनी, “नाइ, म यो काम छोड्न सक्दिनँ, किनकि म बिरामीलाई प्रेम गर्छु” मैले ख्याल गर्दै भनेँ, “यदि बिरामीकै ख्याल गर्नु छ भने डाक्टर बन न, म तिमीलाई डाक्टर पढाउन पनि सक्छु ।” उसले भनी, “डाक्टर आफ्नो ठाउँमा महान होलान् तर बिचराहरूसँग बिरामीलाई प्रेम गर्ने समय नै हुँदैन…” खासमा ऊ कुरा यस्तै गर्थी। ऊ के सोच्थी, के चाहन्थी त्यो मेरो खोजीको विषय थिएन। मेरा लागि महत्त्वपूर्ण उसको उपस्थिति थियो। उसको सामिप्यता। उसको आलिङ्गन।

आमाले छोडेर जानुभएको यो घरमा म उसलाई धेरै सुख दिएर सजाउन चाहन्थेँ। मेरो आशक्तिको पिरामिड आकाशिँदैथियो। एकदिन उसले मध्यरातमा एसएमएस पठाई, “अब हामी अगाडी बढ्न सक्दैनौँ। मलाई तपाईँको प्रेम भारी भयो। तपाईँको साथ साँघुरो भो।”

म छाँगाबाट खसेझैँ भएँ। मैले मरिहत्ये फेरि प्रेमको भीख माग्न थालेँ। बुलेटको आवाजसँगै चिच्याउँदै ऊ बस्ने घर अस्पताल सबैतिर पछ्याउन थालेँ। मेरो हद देखेर उसले भनी, “यदि तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने, केही समय शान्त हुन दिनुस् ।” यसपल्ट उसले भनेको मान्न मैले आफ्नो सनकलाई काबुमा ल्याउने कठोर प्रयास गरेँ। योसँगै मेरो बुलेटले पनि केही दिन आराम पायो।

त्यसको केही समयपछि मैले उसलाई एकजना मान्छेसँग धुम्बाराही पार्कमा देखेँ। मेरा आँखाहरू एकाएक आक्रोशको रसले भिजे। मेरो सनक मुटु हुँदै मुठ्ठीसम्म पुग्यो। मलाई यस्तो लाग्यो, कि मेरो मन-मस्तिष्क सबै बटुलेर लानेलाई म त्यहीँ सिध्याउन सकूँ। तर म अगाडि बढिनँ। मलाई पूरा तयारीकासाथ अगाडि बढ्नुथियो।

हो, त्यो दिनदेखि म उसका हरचीजलाई घृणा गर्ने कोसिसमा छु ताकि म उसलाई सहजैसँग सिध्याउन सकूँ। त्यसैले म उसका आँखालाई सेता विषालु पुतली ठान्छु। उसको आवाजलाई किचकन्याको गीत ठान्छु। उसको मुस्कान एक जाल हो र उसको साथ एउटा अँध्यारो गहिराई। म उसका यी सबैचीजले पागलजस्तै भइरहेछु। जबसम्म यी चीजहरूको अन्त्य हुँदैन मेरो मस्तिष्कका न्युरोनहरू एकअर्कासँग जुधेरै फुट्ने छन्। म यो परिस्थितिसँग हार्न चाहन्न। जित्‍नकै लागि म उसको हत्यारा हुन तयार हुँदै छु।

कोठा सुनासान छ। भित्तामा एउटा पेन्टिङ छ। केही क्रिमिनल उपन्यासहरू छरपस्ट छन्। मैले पढी सिध्याएका यी पुस्तकहरूको पानापाना खोज्दै म फेरि पढ्छु। हत्याका घटनाहरूमा विशेषगरी मेरो मष्तिस्क पोखिन्छ। हिजो अस्तिझैँ, आज पनि म उसलाई सिध्याउने उपायहरू खोज्दै छु, भरखरै गुगलसर्च गरेँ। यो क्रम चलेको एक हप्ता भइसक्यो। उसलाई सिध्याउने कुरा गर्दागर्दै पनि म फेरि उसलाई मन पराइरहेकै हुन्छु। माया गरिरहेकै हुन्छु। त्यसैले म उसलाई कुनै पीडा नदिई मार्न चाहन्छु। अ पेनलेस डेथ। यो कसरी गराउन सकिन्छ त्यो सोचिरहन्छु। खोजिरहन्छु। विभिन्न पोइजनका टप टेन नामहरू मेरो ल्यापटपको स्क्रिनमा देखिन्छन्। तर मलाई सबभन्दा उपयुक्त मेरै नाइन एमएम अमेरिकन पेस्तोल नै ठीक लाग्छ। जुन मैले लागू औषधिकै एउटा काम फत्ते गरेबापत एक विशेष व्यक्तिबाट उपहारस्वरूप सन् २०१५ पाएको थिएँ। मसँग भएका सामानहरूमा यो मेरा लागि निकै विषेश पनि हो। र यही विशेष चीजले म मेरो विशेष मान्छेलाई सिध्याउने निर्णयमा पुग्छु। नबिराई म उसलाई एक राउण्ड गोलीमै सिध्याउँछु, दुखाइको महसुसै नगरी ऊ सदाका लागि बिदा हुन्छे। ऊसँगै बिदा हुनेछन्, उसका आँखाहरू, उसको आवाज, उसको स्पर्श। उसको साथले त मलाई छोडिसकेको थियो नै। यस्तैयस्तै कल्पना गर्दै, म म्याग्जिन भर्छु र त्यो म्याग्जिन पेस्तोलमा लोड गर्छु।

मौसम चिसो छ। ओभरकोट लगाउने राम्रो मौका पनि हो यो। म आफ्नो कालो ओभरकोटको भित्री खल्तीमा गोली लोड गरिएको पेस्तोल घुसाउँछु र उसलाई एउटा मेसेज लेख्छु,

“…तिमीलाई अन्तिमपटक भेट्न मन छ ।” तुरुन्तै जबाफ आयो,

“भन्नुस् कहाँ कति बजे…?”

“चुच्चेपाटी चोक, ३ बजे…” मैले जबाफ लेखेँ।

उ आई, मेरो बुलेटमा बसी। पहिलेभन्दा असजिलोगरि। उसलाई लिएर म सुन्दरी जलको जङ्गलतिर हुइकिएँ। सायद सगरमाथा आरोही पासाङ्ग ल्हामुले पछाडिबाट हेरिरहेकी थिई। केही बेरपछि उसलाई पनि त म पासाङ्ग ल्हामुकै संसारमा पुराउने छु।

हामी सुन्दरी जल ड्याम नजिक पुग्यौँ। बाटोभरि न ऊ बोली न म। ऊ ड्यामको डिलमा उभेकी थिई। म उसको सामुन्ने। मेरा हातहरू थरर्र काँप्न थाले। उसका सुन्दर आँखाहरूले मलाई मोहित गर्न थाल्छ। उसले मुस्कुराउँदै मैले भेट्नुको कारण सोधी। उसको मुस्कानले फेरि पनि मलाई पगाल्यो। मैले एक्कासी उसको हात समातेँ। उस्तै मुलायम् छन् ती हातहरू। उसले अचम्मित भएर मलाई हेरिरही। मेरो मुखबाट तातो सास बह्यो, “तिमीलाई अघाउञ्जेल हेर्न मन लाग्यो ।” उसका आँखाहरूले सोधेझैँ लाग्यो, “किन तर्साउनु हुन्छ मलाई यो डरलाग्दो प्रेमको अस्त्रले सधैँ ?”

उसलाई के थाहा यतिखेर म प्रेमको हैन घृणाको अस्त्र बोकेर हिँडिरहेछु।

उसलाई हेर्दै गएँ। मेरो आवेग झन्‌झन् बढ्न गयो। म फेरि लोभिँदै गएँ उसका आँखा, उसका नाक, चिउँडो, छातीको लयसँगै। मेरो सास बढ्दै गयो। मेरो शरीर भिज्दै गयो आफैँभित्रको आवेगले। ऊ हलचल नगरी ठिङ्ग उभिइरहेकी थिई। बेलाबेला उसका दुबै हातका औँलाहरू एकअर्कासँग अँगालिन्थे। ऊभन्दा मुनि पानीको गहिरो दह उसैलाई नै कुरिरहेको थियो। पानीको सतहमा उसकै प्रतिविम्ब चलमलाइरहेको थियो । मैले खुट्टाले ढुङ्गा हुत्याउँदै पानीमा खसालिदिएँ। किनकि म उसको वास्तविक रूपको नशामै रमाउँन चाहन्थेँ।

मलाई लाग्‍न थाल्छ उसलाई सिध्याउनु अघि, क्षणभर भएपनि तानेर जङ्गलको माझमा उसको सिकार गरूँ। भरपूर अघाएर मात्र उसलाई बिदा गरिदिऊँ। अनौठोसँग मभित्र रगतको बहाव बढ्छ। अचानक मेरा आँखाहरूमा तातो रगत छर्किएको भान हुन्छ। एकाएक म भ्रमित हुन पुग्छु। टाउको झट्कारेर आफैँलाई नियाल्छु। ब्वाँसोभन्दा फरक पाउँदिनँ। ऊ बरु उस्तै छे। उसको वरिपरि मेरै अनुहारका थुप्रै ब्वाँसाहरू देख्छु। बीचमा ऊ शान्त भएर उभिएकी छे। एउटी सुन्दर देवीको प्रतिमूर्तिझैँ लाग्छ। उसको अनुहारमा घरीघरी मेरी आमाको अनुहार आएर बसिदिन्छ। एकाएक म आफैसँग क्रोधित हुन्छु। भएभरको घृणा जाग्छ आफैँप्रति। म सम्हालिन सक्दिनँ र ओभरकोटभित्र हात छिराएर पिस्तोल निकाल्छु। मेरो दायाँ हातको चोर औँला र ट्रिगरबीच मलाई नै सिध्याउने सम्झौता भइसक्छ। म राम्ररी चाल पाउँछु मेरो दायाँ निधारमा पिस्तोलले मीठोसँग स्पर्श गर्दैछ…।

मनिषा गौचन, २०७४ असोज २, बेलुकी ७ बजे