यसरी मेरो दोस्रो न्वारान भयो « Himal Post | Online News Revolution
Logo

यसरी मेरो दोस्रो न्वारान भयो



-मनोज गजुरेल

‘मयनाथ शर्मा बुढी छैन घरमा ’ घनमायाले मेरो किताबमा यस्तो लेखी दिइछन् । यो पाँच कक्षा पढ्दाको कुरा हो । त्यतिखेर म त्यस्तै ११ वर्षको थिएँ होला । घनमाया अलि जेठी झैँ लाग्छ । घनमायाले कुन भावले त्यस्तो लेखिन् त्यो त म भन्न सक्दिन तर मेरालागि त्यो नराम्रोसँग जिस्काएको लाग्यो ।

लाज, डर, रिस, सबै एकै पटक उम्लिए । मैले हजुरबालाई सुनाएँ । बाले हाँस्दै भन्नु भयो, ‘त्यस्ता नाथे कुरामा पनि रुनुपर्छ त † तँ पनि लेखी दे न—घनमाया घिमिरे बुढी नभए काम चलाऊ तिमीले ††’ भोलिपल्ट झुक्क्याएर मैले त्यसै गरेँ । पर्सिपल्ट घनमाया ट्युसन पढ्न आइनन् । आइनन् आइनन्, त्यसपछि कहिल्यै आइनन्, दोहोरो संवाद पनि रहेन ।

त्यसदिन देखी मलाई आफ्नो नाम पटक्कै मनपर्न छोड्यो । मलाई मन नपरेर के गर्नु, सबैले मायानाथ नै भनेर बोलाउँथे । झन् हजुर आमाले त कहिलेकहीँ ‘ओए मायानाथे, कहाँ“ मुन्टिईस् ?’ भन्नुहुन्थ्यो । त्यो बेला नाम साम च्यातचुत गुमनाम बसौँ झैँ लाग्दथ्यो । तर सम्भव पनि भएन ।

नाम पनि कति अप्ठेरो । कसैले मायानाथ, कसैले मैयानाथ, कसैले मयानाथ भन्थे । कलाकार दमन रुपाखेती, सञ्चारकर्मी राज श्रेष्ठ, रेडियो नेपालमा कविता भन्ने साथीहरू हुन् । उनीहरूले ‘माया’मात्रै भनेर बोलाउँथे । हुन त उनीहरूले मलाई माया गरेर माया भनेको हुन् । तर,यो मयाकालागि त्यो माया कहिल्यै माया हुन सकेन ।

आठ कक्षा पढ्दा म पन्ध्र वर्षको थिएँ । पन्ध्र वर्ष भनेको सबै कुरा थाहा पाउने बेला हो । सबैले मायाभन्दा म केटा हुं कि केटी भन्ने कुरा प्रश्न उठ्थ्यो । फेरी पनि मसँग कुनै विकल्प थिएन ।

एक दिन रेडियो सुन्दै थिएँ, कुसुमे रुमाल चलचित्रको गीत बज्यो, ‘मायाको बारीमा प्रीतिको फुल ।’ मलाई नै जिस्काएजस्तो लाग्यो । दिनभरि रुँदै बसेँ । बेलुका दाजु केशवसँग नराम्रो रिसाएँ । ‘माल्दाजु धान्यप्रसादलाई धिरेन्द्र बनाई दिनु भयो । तपाईँ ढंक प्रसाद केशवराज बन्नु भयो । मचाहिँ मयानाथेको मयानाथ ।’

यो कुरा एसएलसी दिने बेलाको हो । जुन परिवर्तन हुने सम्भव थिएन ।

दाजुले सम्झाउन थाल्नु भयो ।
‘मयानाथले तेरो के बिगार्‍यो ?’ दाजु झर्किनु भयो । ‘मेरो मन बिगार्‍यो ।’ म पनि झर्किएँ । ‘कसरी बिगार्‍यो ?’ दाजु नरम हुनुभयो । ‘कसैले माया भन्छन्, कसैले मैया भन्छन्, कसै मुईंया भन्छन्, कसैले मुया भन्छन् । म केटा हुं कि केटी ?’ म भक्कानिएँ । अङ्ग्रेजीको लब्धांकपत्र देखाउँदै दाइ बोल्नु भयो, ‘यहाँ हेर, तेरो नाम एमएवाईएनएटिएच मायानाथ हो ।’

‘क्या हो मायानाथ भनेको ?’ म कराएँ । नजिकै शब्दकोश देखाउँदैन भन्नुभयो, ‘माया भनेको सम्मोहन, नाथ भनेको मालिक ।’ दाईंको अनुहार रातोपिरो भएको थियो । ‘तेरो नाम अनुसार तैँले दुनियाँलाई सम्मोहन गर्छस्, सम्मोहन गर्नेहरूको पनि मालिक होस् तं, मायानाथ ।’ मलाई धाप मार्दै दाइ निस्कनु भयो ।

कक्षा नौमा पढ्दैदेखि म स्तम्भकार थिएँ, युगान्तर साप्ताहिकमा । प्रेम कैदी थिए सम्पादक । पत्रकार गिरीश पोखरेल सम्वाददाता । सुरुमा मायानाथ गजुरेलकै नाममा लेख्थेँ । तर गजुरेलको पछाडि ‘विप्लव’ उपनाम थियो मेरो ।

हो, नेत्र बिक्रमचन्द त्यति बेला विप्लव भएकै थिएनन् होला । २०४५ सालमा म विप्लव थिएँ । यसअर्थमा पहिलो विप्लव मै हुं भनेर ठोकुवा गर्न मन लाग्छ । अरूले उपनाम किन राख्छन्, थाहा छैन । मेरो इच्छाचाहिँ विप्लवले बिस्तारै बिस्तारै मायानाथलाई विस्थापित गरोस् भन्ने थियो ।

‘ओ भाइ, तिम्रो नाम लामो भयो, केटाहरूलाई अक्षर खोज्नै गाह्रो हुन्छ । छोटो बनाऊ ।’ मैतीदेवीको कोठामा एक दिन गिरीश दाइले भने । त्यतिखेर एक एक गरेर अक्षर खोज्दै शब्द बनाउनु पर्दथ्यो । मलाई पनि के खोज्छस् मायानाथ ? नाम भनेजस्तो भयो ।
‘के राख्ने त दाइ ?’ एकै शब्दमा उनले भने, ‘मनोज ।’ मेरी कान्छी दिदी उमालेपनि झापामा हुँदा कहिलेकाहीँ ‘मनोज’ भनेर बोलाउने गर्नुहुन्थ्यो । तर, काठमाडौँ आएपछि त्यो सम्बोधन बिस्मिृतिमा गई सकेको थियो । गीरिशदाईले सम्झना गराई दिएपछि मेरो दिमागमा मनोज नाम सकारात्मक हिसाबले तरङ्गित भयो । हिन्दी सिनेमाका मनोज कुमारलाई सम्झिएँ । कान्छी दिदीले बोलाएको सम्झिएँ । लेखन क्षेत्रका गुरु गिरीश पोखरेललाई हेरेँ । अनि भनेँ, ‘हुन्छ गुरुदेव ।’ त्यसपछि नियमित रूपमा मनोज गजुरेलका नाममा स्तब्ध लेख्न थालेँ । यसरी मेरो दोस्रो न्वारान भयो । गुरु थिए, गिरीश पोखरेल ।

जब मनोज गजुरेलका नाममा लेख्न थालेँ, त्यसपछि नारी बन्धन र मुक्ति, देवासुर सङ्ग्रामजस्ता किताब पढ्न थालेँ । जस्का लेखक थिए, मोदनाथ प्रश्रित । त्यस बेला मलाई न मोदको मिनिंग थाहा थियो नत प्रश्रितको । लाग्यो, बरु मेरो नाथमा रहेको मायाको अर्थ छ तर यो मोद त अर्थ न बर्थ लाग्थ्यो । मेरा नजरमा अर्थहीन मोदनाथको नाम सुनेपछि मनोजलाई मायानाथसँग फेरी लभ पर्ला पर्ला जस्तो भयो ।

२०४६ सालको जन आन्दोलनपछि एउटा नाम चर्चित बन्यो, झलनाथ खनाल । नाथ भनेको त बुझियो तर यो ‘झल’को अर्थ अहिलेसम्म मैले बुझेको छैन । झलनाथको नाम नेपाली आकाशमा गुन्जायमान भएपछि मायानाथलाई लाग्यो, नाम प्रमुख हैन, काम प्रमुख हो ।

आज पनि मनोज गजुरेललाई लाग्छ, मायानाथलाई नागरिकतामा सीमित गरेर ठूल्ठुला सम्भावनाको घाँटी पो रेट्यो कि । किनभने मोदनाथ मन्त्री बने । झलनाथ प्रधानमन्त्री बने । के थाहा, मायानाथ त्योभन्दा माथि पो पुग्थ्यो कि ?
तर, कल्पनाको गगनभन्दा यथार्थको आँगनको अर्थ लाग्छ । नेपाली इमिग्रेसनमा पासपोर्ट हेरेपछिको प्रतिक्रिया हुन्छ, ओहो, गजुरेलजी, तपाईँको त दुई दुईवटा पो नाम रहेछ त ?’ भनिदिन्छु, ‘धनी मान्छेको नाम समेत दुईवटा हुन्छ ।’ मैले पढेका धेरै विद्यालयको हाजिरी जवाफमा प्रश्न सोधिन्छ, ‘गजुरीयल कलाकार मनोज गजुरेलको रियल नाम के हो ?’ कुनै सहभागीले भनिदिन्छ, मयानाथ गजुरेल । मनोजले आफूलाई जिताउँछ, मायानाथले अरूलाई जिताउँछ ।

दुईवटा नामको कारणले धेरै समस्या परेको होला हगी ? अहँ, त्यस्तो ठुलो केही भएको छैन । हो, केही सरकारी काममा भने रमाइला संवाद हुने गर्छन् ।

‘तपाईँ मनोज गजुरेलको दाजु भाइ हो ?’
‘हैन, म उसको डुब्लिकेट हुँ ।’

‘नाम एउटा, मान्छे अर्को । कुरो बुझिएन नि सर ?’
‘कुरो किन बुझ्नु पर्‍यो, कानुन अनुसार काम बुझे भइगयो नि ।’

‘टोकन नंंबर २७, मायानाथ गजुरेल’
‘यस सर ।’
‘तपाईँ हैन, उहाँलाई नै पठाउनोस् ।’

‘खै, लाइसेन्स, ब्लुबुक देखाउनोस् त ।’
‘तपाईँजस्तो मान्छेले अर्काको कागजात बोक्नु भएन नि सर ।’

‘विदेशमा कार्यक्रम भिसा डिमाण्ड फर सुगम पोखरेल, कोमल ओली, इन्दिरा जोशी, शम्भु राई, मायानाथ गजुरेल’
‘यो लाष्टकोचाहीं उतै लुक्ने मान्छे हाल्या कि क्या हो आयोजकले ?’

नाममा के छ ? के छैन ? नाम शब्द हो । शब्द ब्रम्ह हो । जुनसुकै शब्द उच्चाहरण गर्दा विभिन्न खालका तरङ्गहरू फैलिन्छन् । पहिले पहिले देवी देउताको नाम राख्नुको अर्थ पनि त्यही होला । राम प्रसाद, सरस्वती, लक्ष्मीदेवी, गोपाल, शिवदेव आदी राम्रा तरङ्ग फाल्ने नाम हुन् । तर, त्यो युग सकिएर प्रकृतिपरक नाम राख्ने चलन आयो । लीला वल्लभ, इन्द्रमाया, भवानी प्रसाद, चन्द्र बहादुर, सूर्यनारायण, मेघनाथ, पृथ्वी विक्रम, दिवाकर, सन्ध्या कुमारी, प्रभात, वर्षा, निशा, प्रकाश,दीपक,प्रकृति, संस्कृति, चन्द्रकला आदि । त्यसपछि भावपरक नामको जमाना आयो । सुमन, जीवन, कुशल, कृति, आकृति,आदी । त्यसपछि अङ्ग्रेजी पुस्ता आयो । मिरोज, मेमोरी, क्रेसिना, किष्टिका, क्रिष्टल, कल्चर आदि । थाहा छैन, बिस्तारै नामको युग द्धिअर्थी, बेअर्थ हुँदै अर्थी उठाउने ठाउँमा पुग्ने हो कुन्नि ।

अहिले मायानाथ र मनोजको सम्बन्ध कस्तो छ त ?
बाबु र छोराजस्तो । एकदमै आत्मीय भावुक, प्रेमपूर्ण, सम्मानजनक र अविस्मरणीय सम्बन्ध छ । किनभने म ६ महिनाको नहुँदै पिताजी बित्नु भयो, २०३० सालमा । शिक्षक हुनुहुन्थ्यो, समाजसेवी हुनुहुन्थ्यो । पुरोहित हुनुहुन्थ्यो । अति दुर्गम ताप्लेजुङको अनकन्टार पहाडमा चेतनाको ज्योति छर्दाछर्दै उहाँ बित्नु भयो ।

आज बुबालाई सम्झन गर्न न अनुहारको याद छ न त कुनै तस्बिर नै छ । बुबाको एउटै मात्र चिनो मसँग छ, त्यो हो न्वारानमा राखिदिनु भएको नाम, मायानाथ । पितृ देवो भवः ।