एमसीसीको श्राद्ध गरेका युवा रुपन्देहीको प्रदेश सभा ‘लौरो’को उम्मेदवार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एमसीसीको श्राद्ध गरेका युवा रुपन्देहीको प्रदेश सभा ‘लौरो’को उम्मेदवार



रुपन्देही क्षेत्र नम्बर २ ‘ख’ बाट लौरो अभियानबाट उम्मेदवार बनेका प्रदीप पन्तबारे कमैलाई थाहा छ । तर उनले एमसीसी प्रकरणमा गरेको आन्दोलन सम्झिन लायक छ ।

प्रदीप पन्त तिनै युवा हुन् जसले संसदभित्र एमसीसी पास हुने दिन एमसीसीको श्राद्ध गरेका थिए । 

संसदभित्र एमसीसीको पक्ष र विपक्षमा भोट हुँदै थियो तर पन्तले संसद भवन बाहिर एमसीसीको श्राद्ध गरेका थिए । रुपन्देहीको सालझण्डी घर भएका पन्तले यस्ता धेरै सिर्जनशील आन्दोलन गरेका छन् ।

काठमाडौंस्थित बानेश्वरको संसद भवन बाहिर एमसीसी खारेज हुनुपर्छ भन्दै आन्दोलन चर्किएको थियो । प्रहरीले युवाहरूलाई लाठि बर्सारहेको थियो उनले भने एमसीसीको विरोधमा एमसीसीकै श्राद्ध गर्दै थिए ।

कलेजमै अनसन बस्नेदेखि एमसीसीको श्राद्ध गरेका पन्त अहिले लौरो अभियानको उम्मेदवार छन् । रुपन्देही २ ‘ख’ बाट उम्मेदवार रहेका पन्तले धर्म, संस्कृति, र विकासलाई सँगै लैजानुपर्ने बताउँछन् । हाम्रो धर्म र संस्कृतिको जगेर्ना गर्दै यसैलाई विकासको जग मानेर अगाडी बढ्नुपर्ने उनको तर्क छ ।

अन्य उम्मेदवारका भन्दा उम्दा एजेण्डा र मुद्दा लिएर चुनावमा होमिएका उनले आक्रामक अभियान थालेका छन् । उनी कहिले एक्लै त कहिले युवाको समूहमा मत माग्न डुलिरहेका छन् । रुपन्देही यसैपनि चुनावी चर्चाको केन्द्र बनिरहेका बेला निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध उनले संघर्ष गरेका थिए । निर्वाचन कार्यालयमा धर्ना दिनेदेखि आन्दोलन समेत गरेका थिए ।