महिनावारी : आउनुहोस् पुरुष सँगै छौँ .... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महिनावारी : आउनुहोस् पुरुष सँगै छौँ ….



(विश्व महिनावारी दिवस, मे २८)

उनको रक्तस्राव हुँदैन, तर महिनावारीबारे यी पुरुषलाई कति हो कति चिन्ता छ।

उनी निशान्त बान्गेरा हुन्।

निशान्त बान्गेरा महिनावारी हुने महिलाहरूका लागि चन्द्रमाको उज्यालो छर्दै समाजसुधारक भएर देखा परेका छन्।

उनलाई महिनावारी हुँदा महिलाहरूले के भोग्नुपर्छ भन्ने कुराको अनुभव हुने कुरै भएन। महिनावारीको पीडा र अप्ठ्यारोपनको अनुभव कुरा पनि त्यस्तै हो। तर उनी यस विषयलाई गोपनीयता र लज्जाले लुकाउन अस्वीकार गर्छन् र त्यसको साटो त्यसको उत्सव मनाउँछन्।

उनी भन्छन्, “यदि हामी मानिसहरूको जन्मदिन मनाउँछौँ भने, जन्म हुने कारणको उत्सव किन नमनाउने ?”

निशान्त मुम्बई नजिकको नगर थानेस्थित एउटा गैरसरकारी संस्था म्युज फाउन्डेसनका संस्थापक हुन्। यस संस्थाले महिनावारी सम्बन्धी तर्कसङ्गत सोच फैलाउनेतर्फ काम गर्छ।

उनको अ पेरियड अफ सेयरिङ अभियानले महिनावारी-स्वास्थ्यमा ध्यान दिन्छ र महिलाहरूले महिनावारीबारे खुलेर बोल्न प्रेरित गर्छ।

उनी भन्छन्, “हामीले यो अभियान दिगो महिनावारी सम्बन्धी जनतेचना सिर्जना गर्न २०१४ मा सुरु गरेका हौँ। त्यसबेला देखि हामीले महिलाहरूलाई डिस्पोजेबल न्यापकिनको साटो कपडाको स्यानिटरी प्याड प्रयोग गर्न अनुरोध गरिरहेका छौँ। डिस्पोजेबल न्यापकिनहरू प्लास्टिकले बनेका हुन्छन् र तिनमा धेरै रसायनहरू हुन्छन्। यसले महिलाको स्वास्थ्यमा मात्र नभएर वातावरणमा पनि प्रतिकूल असर पार्छ।”

महिलाहरूले महिनावारीप्रति लज्जित नभएर गर्व गर्नुपर्छ

दिगो महिनावारीबारे सचेत बनाउनका लागि एनजिओले काम गर्न थालेपछि, प्राविधिक जानकारी दिएर मात्र स्वास्थ्य व्यवस्थापनको मुद्दा समाधान नहुने उनले अनुभव गरे।

उनीहरूले मुम्बई वरिपरि धेरै स्थानहरूमा गरेको अध्ययनले महिला र महिनावारीसम्बन्धी धेरै अन्धविश्वास, संस्कार र अभ्यासहरू समाजमा व्याप्त रहेको कुरा देखायो।

निशान्त भन्छन्, “धेरै घरहरूमा अझै पनि महिनावारी हुँदा महिलाहरूले अलग्गै सुत्नु पर्छ। केही महिलाहरूलाई त खाटमा सुत्न समेत दिइँदैन। त्यस्तो बेलामा उनीहरू पोलिसिस्टिक ओभेरियन डिजिजको शिकार हुन्छन् र यसबारे उनीहरूलाई थाहा पनि हुँदैन। उनीहरूलाई महिनावारीसम्बन्धी अन्य रोगहरू लागेको पनि हुनसक्छ। उनीहरूको शरीरलाई आराम चाहिन्छ र उनीहरू पीडामा हुन्छन्। भुइँमा सुत्दा उनीहरूलाई अझ असजिलो हुन्छ। यसले महिलाहरूको स्वास्थ्यलाई धेरै तरिकाले असर पार्छ र यो विभेदकारी पनि हो। यो महिलाको आधारभूत अधिकारको ठाडो उल्लङ्घन हो।”

भारतमा महिनावारीबारे खुल्लामा छलफल गरिँदैन।

कम-सुविधायुक्त पृष्ठभूमिबाट आएका महिलाहरूलाई महिनावारी भएका बेला अनुभव गरिएको पीडा र अप्ठ्यारोबारे बोल्नु सामान्य कुरा हो भन्न लाग्दैन।

“उनीहरूलाई महिनावारीको कुरा पतिसँग छलफल गर्न पनि लाज लाग्छ। यो परिवर्तन हुनुपर्छ र परिवर्तन त्यसबेला मात्र हुन्छ जब हामी यसबारे साँचो अर्थमा छलफल गर्न सुरु गर्छौँ। हामीले कुरामात्र गरेर मानिसहरूको सोच बदल्न सक्तैनौँ। हामीले जनचेतना पनि फैलाउनु पर्छ। करोडौँ शौचालय बनाए पनि कसरी प्रयोग गर्ने भन्ने कुरा नसिकाए, त्यो बेकार हुन्छ। त्यस्तै तपाईँले करोडौँ स्यानिटरी न्यापकिन बाँडे पनि महिलाहरूलाई स्वस्थ, सफा शौचालयको पहुँच नदिएसम्म त्यो बेकार हुन्छ। भारतीय महिलाहरूले कपडाको प्याड बाहिर घाममा सुकाउँदा जहिल्यै लज्जित अनुभव गर्छन् किनकि उनीहरूलाई मान्छेले देखेर के भन्छन् भन्ने लाग्छ। व्यक्तिदेखि सामाजिक तहमा, सबैले हातेमालो गर्नु र महिनावारीबारे छलफल गर्नु जरूरी छ।”

महिनावारीको उत्सव “मासिका उत्सव”

मासिका उत्सवको यो तेस्रो वर्ष हो। यसमा महिनावारीको उत्सव मनाइन्छ। यो अ पिरियड अफ सेयरिङ अभियान कै विस्तार हो र यसले मे २१ देखि २८ सम्म मासिका उत्सव मनाउने निधो गरेको हो। यो सप्ताहव्यापी उत्सव हो र विश्व महिनावारी दिवस मे २८ पनि यही सप्ताह मै पर्छ।

“महिलाहरू(पुरुषहरू पनि)लाई यस उत्सवका लागि घरबाट निकाल्न साह्रै गाह्रो पर्छ। त्यसैले हामी महिनावारी उत्सव नभनेर कुनै अन्य किसिमको उत्सव भन्छौँ। महिलाहरू बाहिर निस्केर जम्मा भएपछि विस्तारै हामी महिला स्वास्थ्यका विषयमा कुरा गर्छौँ।”

निशान्तले यो एनजिओ आफू २० वर्षको हुँदा स्थापना गरेका हुन्। उनी त्यसबेला कलेज पढ्थे। उनले महिनावारीका बारेमा कक्षा १० पढ्दा चाल पाएका हुन्। उनी भन्छन्, “स्कुलमा प्रजननका कक्षाहरू जहिल्यै छोडिन्थे। त्यो ठूलो गलती थियो। महिनावारीबारे खुला छलफल नगरी मानिसहरू सचेत बन्छन् भनी कसरी सोच्नु ? मेरी आमाले कहिल्यै यसबारे कुरा गर्नुभएन। अचानक नछुनू भनेपछि के रहस्य लुकाएर राख्नुभएको छ भनेझैँ लाग्थ्यो।”

निशान्तले एउटा डिजाइन एजेन्सीमा काम गर्दै गरेका बेला सो एजेन्सीका हाकिमले मुम्बईबाट ११० किमी दूरीमा रहेको तटीय नगर दहनुको स्कुलको बारेमा बताए जहाँ स्यानिटरी न्यापकिनको निमयित आपूर्ति थिएन।

उनी भन्छन्, “त्यसबेला सम्म मलाई यो खानु/पिउनु जस्तो साधारण कुरा लाग्थ्यो। मैले स्यानिटरी न्यापकिन दान गर्नका लागि सहरका मानिसहरूलाई जोड्न सजिलै हुन्छ भन्ने सोचेँ। त्यसपछि अ पिरियड अफ सेयरिङ सुरु भयो। पछि मैले स्यानिटरी न्यापकिन बारे धेरै कुरा चाल पाएँ र तिनीहरूले स्वास्थ्यमा पार्ने असरबारे पनि जानेँ।”

निशान्त एउटा ट्राभल कम्पनीका लागि काम गर्छन् र एनजिओको फन्डिङ आफैँ गर्छन्। उनी भन्छन्, “मेरा केही शुभचिन्तक पनि छन्।”

“मैले मेरो व्यक्तिगत जीवन त्यागि सकेँ। पूर्णकालीन जागिर र समाज सेवा भन्नाले धेरै कुराको त्याग बुझियो। मसँग २४ घण्टामात्र छन्। म तीन घण्टा यात्रा गर्छु, आठ घण्टा काम गर्छु, र बाँकीको समय एनजिओलाई। मसँग गर्लफ्रेन्ड छैन र म पार्टीहरूमा पनि जान सक्तिनँ। कतै न कतै मैले सम्झौता त गर्नैपऱ्यो।”

महिनावारीका मुद्दाहरू थाहा हुन थालेपछि उनलाई लाग्यो महिलाहरूलाई सामान्यीकरण गर्नु हुँदैन। उनी भन्छन्, “महिलाहरूलाई शारीरिक र मानसिक असक्तता भएको व्यक्तिका रूपमा हेरिनुपर्छ, मोटी महिला, नेत्रहीन महिला, आदि। केही सार्वजानिक शौचालयहरू यति साँघुरा छन् कि अलिक मोटी महिला छिर्न पनि सक्दिनन्, न्यापकिन फेर्न त परै जाओस्। शौचालयहरू दिसाले भरिएका हुन्छन्।”

निशान्तले महिनावारीबारे बोल्दा महिलाहरू छक्क पर्दै क्वार्क्वार्ती हेर्छन्। केटाले त्यसबारे बोलेको उनीहरूलाई अनौठो लाग्छ। त्यसैले त्यस्ताबेलामा उनले महिला स्वयम्‌सेवकहरूलाई बोलाउँछन्।

उनले पुरुषहरूसँग कुरा गर्दा पनि करिब त्यस्तै स्थिति हुन्छ। तर पुरुषहरूको आश्चर्यभन्दा पनि डरलाग्दो चाहिँ उनलाई पुरुषहरूको उदासीनता लाग्छ। उनी भन्छन्, “यी पुरुषहरू कहिल्यै बिहे गर्दैनन् कि क्या हो ? कि तिनीहरूका बच्चाबच्ची हुँदैनन् कि ?”

निशान्तलाई एउटा अर्को कुराले चिन्तित बनाउँछ।

“युवतीहरू आफ्नै रगतबाट टाढा भागिरहेका छन् किनकि उनीहरूलाई रगत भनेको स्यानिटरी प्याडमा फाल्ने जिनिस लाग्छ। रगत छुन हुन्छ, रगत मेरै हो भन्ने भावना हुन जरुरी छ।”

महिनावारी बारे कुरा गरौँ

निशान्तलाई महिनावारीबारे खुला बहस हुनुपर्ने र त्यसमा सरकार, धार्मिक नेताहरू, समाज र व्यक्ति सबै संलग्न हुनुपर्छ भन्ने लाग्छ।

“धेरै महिलाहरू सरकारमा जान जरुरी छ। उनीहरूले आफ्नो स्वास्थ्यका बारेमा निर्णयहरू गर्न जरुरी छ। अनिमात्र केही हुन सक्छ। मानिसहरूलाई स्यानिटरी न्यापकिन दान गरे पुग्छ भन्ने लाग्छ। तर स्यानिटरी न्यापकिन वा प्याड लिएर घरघर पसी पुरुषहरू(पिता,पति)सँग कुरा गर्न जरुची छ। महिनावारी हुँदा पत्नीलाई छुन नहुने कुरा बेकार हो भनेर बुझाउन जरुरी छ। यसबारे चुप लागेर बस्नु भनेको महिलाहरूलाई थप समस्यामा पार्नु हो।”

“महिलाहरूलाई सफा शौचालयको व्यवस्था हुन जरुरी छ। उनीहरूलाई प्रयोग गरिएका स्यानिटरी न्यापकिन फ्याल्ने उपयुक्त ठाउँ हुनु जरुरी छ। हामीले शौचालयका झ्यालमा ती न्यापकिन देखेका छौँ। महिलाहरूलाई त्यसो गर्न मन लाग्दैन, तर उनीहरू विवश छन्।”

महिलाहरू( र पुरुषहरू) का लागि सन्देश

“म पुरुषहरूलाई उनीहरूको पहिलो घर सम्झाउन चाहन्छु – पाठेघर। तपाईँ त्यहीँबाट जन्मिनुभएको हो, जुन कुरा तपाईँले भुल्नु हुँदैन। पुरुषहरूले आफ्नी पत्नी र आफूसँग सम्पर्क राख्ने महिलाहरूका विषयमा सोच्न आवश्यक छ। महिनावारी भएका महिलाहरूलाई बुझ्नुहोस्, उनीहरूसँगै हुनुहोस्, उनीहरूका लागि हुनुहोस्। अनि मात्र तपाईँ साँचो प्रेम व्यक्त गर्न सक्नुहुन्छ।”

“म महिलाहरूलाई विज्ञापनबाट भ्रमित नहुन आग्रह गर्छु। आफ्नो शरीरका लागि ठीक हुने वस्तु छान्नुहोस्। अनुसन्धान गर्नुहोस् र आफ्ना अधिकारका लागि लड्न तयार हुनुहोस्।”

“मासिका उत्सवको अङ्गका रूपमा तपाईँले यिनै शब्दहरू फैलाउन सक्नुहुन्छ। समुदायमा जान सक्नुहुन्छ। कार्यशाला गर्न सक्नुहुन्छ। सत्रहरू चलाउन सक्नुहुन्छ।”

“समय छैन भने महिलाहरूसँग कुरा मात्र गर्न त सक्नुहुन्छ। त्यही गर्नुहोस्। राम्ररी गर्नुहोस्। महिलाहरूले केही गलत गरेको देखे सच्याउनुहोस्।”

(विश्व महिनावारी दिवसका अवसरमा, rediff.com बाट सामग्री लिई  कुमुद अधिकारीले तयार पारेको सामग्री)

तस्बिर स्रोतः   www.rediff.com