दुध उत्पादक किसानको सरकार ढाल्ने चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दुध उत्पादक किसानको सरकार ढाल्ने चेतावनी



काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दूधको मुल्य बढाउन सरकारसँग माग गरेका छन ।  शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । 

विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । आफुहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशत भन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मुल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ । 

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाँ रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खर्बको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।  

अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।

भारतमा महात्मा गान्धीले जनतालाई आफुले भात खाने थाल हातमा समातेर विहान उज्यालो भएदेखि बेलुका, साँझसम्म चम्चाले ठटाई विरोध जनाउन अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिसहरु लज्जित भएर भारत छोडेको इतिहास आफूहरुको सामु रहेको पनि उनले सुनाए । नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुशासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टिक्ने उनको चेतावनी रहेको छ ।