मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले गरे आक्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले गरे आक्रमण



दमौली । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले आक्रमण गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका रिजालमाथि आक्रमण भएको थियो ।

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । बाह्रखरीसँगको कुराकानीमा नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नेता डा. रिजालमाथि आक्रमण गर्दा स्थानीयले जोगाएको बुझिएको छ ।

“४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे,” उनले भने, “साथीहरुले जोगाउनुभयो । बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिए ।” नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता-कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् ।

यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।

नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख छ । “पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता-कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,” नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।