धनगढीमा मिटर ब्याजीको जालो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनगढीमा मिटर ब्याजीको जालो



धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा केही वर्षयता फस्टाएको मिटर ब्याजीको जालोले कयौंको उठिवास लगाएको छ। कयौं व्यक्तिले आत्महत्या गरेका छन भने कयौं व्यक्तिको रहस्यमय मृत्यु भएको छ। मिटर ब्याज सञ्चालन गिरोहका नाइके राजनीतिक पहुँच, प्रहरी अधिकारीसँगको उठबसले गर्दा पक्राउ परेका थिएनन्। ‘मिटर ब्याजीको भयानक जालो र ठगीको कहालीलाग्दो अवस्था छ। आजको नागरिक दैनिकका लागि धनगढीबाट दिलबहादुर छत्यालले यो समाचार लेखेका छन् ।

कयौंले आत्महत्या गरेका छन्। कयौं घरवारविहीन भएका छन्। कयौंको घरजग्गा गुमेर सुकमबासी भएका छन्’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्,‘ जुन रुपमा प्रहरी प्रशासनबाट कारवाही हुनुपर्ने हो त्यो नहुनाले यो धन्दा मौलाएको छ।’ मिटर ब्याजबाट प्रहरी प्रशासन, केही राजनीतिक नेतालगायतलाई पनि फाइदा पुगेकाले यस्तो धन्दा चलाउनेहरु पक्राउ पर्न नसकेको उनी बताउँछन्।

यकिन तथ्यांक नभए पनि मिटर ब्याजीको गिरोहबाट ठगिएर सम्पत्ति सबै गुमाई बिजोग हुनेको संख्या सयौं रहेको जानकार बताउँछन्। ‘मिटर ब्याजीको गिरोहवाट ठगिएर आत्महत्या गर्ने, ज्यान गुमाउने, परिवारमा सम्बन्ध विच्छेद हुने, उठिवास हुने अवस्था डरलाग्दो छ। यकिन तथ्यांक नभए पनि मेरो जानकारीमा सयौं पीडित छन्’,इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी भन्छन्, ‘कम्तीमा आठदसजना पीडितले आत्महत्या गरिसकेका छन्।’ ठगी गर्ने गिरोहका कारण अझै यस्ता घटना दोहोरिन सक्ने उनले बताए। ‘समाजमा भयाभह बनेको यो समस्याबारे प्रहरी प्रशासन, राजनीतिक दलका नेता सबै जानकार छन् तर पनि दोषीमाथि कारबाही भएको छैन’, उनले भने।

धनगढीकै प्रतिष्ठित व्यापारी कामना स्टोरका सञ्चालक मानिष शर्मा मिटर ब्याजी गिरोहबाट ठगिएका कारण पलायन भएको जोशीले बताए। धनगढीकै होनहार युवा खेम रानाको रहस्यमय मृत्यु पनि मिटर ब्याजीको जालोकै कारण भएको आशंका छ। थोरै पैसा दिएर झुक्याएर घरजमिन आफ्नो नाममा बनाउने, थोरै पैसा दिएर बढी रकम लिएको भनेर औंठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने धेरै गिरोह धनगढीमा सक्रिय छन्।

‘यी गिरोहका नाइकेको प्रहरीका अधिकारीसँग, राजनीतिक दलका नेतासँग उठबस छ’, नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी यस्तो धन्दा मौलाएको हो।’

अहिले ठगी गर्ने ठूलो गिरोहका सञ्जय राणा पक्राउ परेपछि अन्य गिरोहका व्यक्ति पनि समातिनुपर्ने आवाज सर्वसाधारणले उठाएका छन्। ‘प्रहरीले सञ्जय राणालाई पक्राउ गरी हल्ला फिँजाएर नाटकमात्र गरेमा कुनै अर्थ छैन। अनुसन्धान गरेर ठगी गिरोहमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’, इन्सेकका क्षेत्रीय संयोजक जोशी भन्छन्, ‘ठगी गर्ने गिरोहमा संलग्न सबैलाई कारबाही नगरेमा केही वर्षमा धनगढीमा ठूलो नोक्सान हुने निश्चित छ।’ गभर्नर, मन्त्रालयलगायतका छाप, लालपुर्जा, तमसुक बनाएर जसरी ठगी गरेको पाइएको छ, यसले मान्छेलाई जिउँदै मर्न बाध्य बनाएको उनी बताउँछन्।