बैंकको 'टर्चर'का कारण अर्का व्यापारीले पनि गरे आत्महत्या - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बैंकको ‘टर्चर’का कारण अर्का व्यापारीले पनि गरे आत्महत्या



विराटनगर- व्यवसायमा लगातार असफलता पाएर संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको समाचार सेलाउन नपाउँदै अर्का व्यापारीले पनि आत्महत्या गरेका छन् ।

मोरङका व्यवसायी मोहन न्यौपानेले बैंकको ऋणका कारण आत्महत्या गरेका हुन् । विराटनगरमा व्यापार गर्दै आएका विराटनगर-३ का ५७ वर्षीय न्यौपानेले बुधबार आत्महत्या गरेका थिए ।

इलामका प्रेमप्रसाद आचार्यले व्यवसायमा एकपछि अर्को असफलता र ऋणको चपेटाको कारण देखाउँदै आत्मदाहको घटना सेलाउन नपाउँदै उनको घटनाले सनसनी मच्चाएको छ ।

व्यवसायसम्बद्ध संगठनका पदाधिकारीले न्यौपानेले बैंकका कर्मचारीले दिएको दबाब थाम्न नसकेर आत्महत्या गरेको बताएका छन् ।

आत्महत्या गरेका न्यौपानेले लामो ‘सुसाइड नोट’ मा आत्महत्या गर्नुको कारण बैंक दबाब भएको उल्लेख गरेका छन् । उनले बैंक र सहकारीको ऋण र नियमित किस्तासमेत गरेर एक करोड ७५ लाख जतिको हिसाब उल्लेख गरेका छन् ।

नोटमा उनले लेखेका छन्, ‘म यो धर्तीमा बाँच्च लायक छैन । साग्रिला बैंकको १.४५ करोड ऋण छ । किस्ता करिब ५ लाख गरेर १.५० करोड छ । सहकारी ५ लाख +५ लाख गरी १० लाख छ । नमस्ते सहकारीमा करिब २.५० दिनु छ । क्रेडिट कार्डको बाँकी करिब ४५००० सिद्धार्थ बैंकमा छ । २ ओटा फर्म छ । अडिटर प्रकाश भट्टराईलाई भनेर बन्द गराउनू । शिखर इलेक्ट्रिक बुबाको नाममा छ । बुबाको रकम फिक्सड डिपोजिटबाट निकालेर अन्यत्र राख्नू । बैंकले रोक्का गर्नसक्छ । शिखर इलेक्ट्रिकको नगरपालिकामा बुझाउन बाँकी छ । करिब ३ लाखको शेयर छ । १० लाखको इन्स्योरेन्स पोलिसि छ । पाँचौ किस्ता बाँकी छ ।’

बैंकले दिएको मानसिक तनावका कारण न्यौपानेले आत्महत्या गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

मुलुकभित्रै रोजगारीको सिर्जना र निर्यात प्रवर्द्धनमा योगदान गरिरहेका उद्योगी, व्यापारी र व्यवसायीहरूलाई कामै गर्न नदिने अवस्था राज्यले नै सिर्जना गरेका कारण उनीहरूले आत्महत्याको बाटो रोज्न थालेको रिजालको दाबी छ ।

अध्यक्ष रिजालले बैंकको चर्को ब्याज र किस्ता समयमा भुक्तानी नभएको भन्दै परिवारका सबै व्यक्तिको नाम सञ्चारमाध्यममा सार्वजनिक गरिदिने धम्की बैंकले दिएका कारण न्यौपानेले आत्महत्या गरेको बताए ।

उनले मुलुकमा अहिलेकै प्रणालीका बैंकहरू रहिरहे अर्थतन्त्र सीमित व्यक्तिको हातमा पुग्ने र राष्ट्रिय अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने भन्दै सबै बैंक राष्ट्रियकरण गर्नुपर्ने बताए ।

विराटनगरमा एक दशकयता विद्युतीय सामग्रीको व्यापारमा संलग्न रहेका न्यौपानेले घटनाको अघिल्लो दिन सोही बैंकका कर्मचारीहरू उनको पसल शिखर इलेक्ट्रिकमा आएर केही कागजातमा सहीछाप गराएर गएको बताइएको छ ।

बुधबार बिहान न्यौपाने झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । न्यौपानेले बैंकबाट लिएको उक्त ऋण रकम कुन कामका लागि खर्च गरेका छन् भन्ने खुलिसकेको छैन ।