मोर्गनले तोडे धोनीको कीर्तिमान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मोर्गनले तोडे धोनीको कीर्तिमान



एजेन्सी- इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मोगर्नले धोनीले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट (टेस्ट, ओडीआई र टी–२०)मा प्रहार गरेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका हुन् ।

मोर्गनले आयरल्यान्डविरुद्ध ८४ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १ सय ६ रन बनाएका थिए । मोर्गनले १२औं ओभरको पाँचांै बलमा जोस लिटिललाई पुल सटमा उत्कृष्ट छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । धोनीले ३ सय ३२ अन्तर्राष्ट्रिय खेलमा २ सय ११ छक्का प्रहार गरेका थिए । तर, मोर्गनले मात्र १ सय ६३ अन्तर्राष्ट्रिय खेलमा उक्त कीर्तिमान तोडेका हुन् ।

आयरल्यान्डविरुद्ध अन्तिम खेलमा चार छक्का प्रहार गरेसँगै मोर्गनले कप्तानको रूपमा अन्तर्राष्ट्रिय क्रिकेट २ सय १५ छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ । गेलले ४ सय ६२ अन्तर्राष्ट्रिय खेलमा कुल ५ सय ३४ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीको नाममा छ । अफ्रिदीले ५ सय २४ अन्तर्राष्ट्रिय खेलमा ४ सय ७६ छक्का प्रहार गरेका छन् ।

तेस्रो स्थानमा भारतीय ओपनर रोहित शर्मा छन् । शर्माले ३ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ४ सय २३ छक्का प्रहार गरेका छन् । धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा पाँचांै स्थानमा छन् । ५ सय ३८ अन्तर्राष्ट्रिय खेलमा धोनीले ३ सय ५९ छक्का प्रहार गरेका छन् । मोर्गन सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानमा आठौं नम्बरमा छन् । उनले कुल ३ सय ४३ अन्तर्राष्ट्रिय खेलमा ३ सय २४ छक्का प्रहार गरेका छन् ।