मुना कार्की बचाउन यतिसम्म गरे डाक्टरहरूले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुना कार्की बचाउन यतिसम्म गरे डाक्टरहरूले



काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् ।

ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् ।

कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो । घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँटीमा डोरी अल्झाएर लडाएपछि प्लास्टिकको पिर्काले टाउकोमा हानेको देखिन्छ,’ उनले भने, ‘घटना घटाएपछि विक्षिप्त बनेका उनी आफैंले पनि डोरीको पासो लगाएर आत्महत्या गरेको हुन सक्छ ।’

स्टार अस्पतालका एमडी डा. शैल रूपाखेतीका अनुसार एम्बुलेन्स पठाइदिन फोन आएपछि चिकित्सकहरू पनि उपचारका लागि तयारी अवस्थामा बसेका थिए ।

‘कार्कीलाई इमर्जेन्सीमा ल्याएलगत्तै डा. मन्जिता बज्राचार्यले उहाँको पल्सलगायत जाँच गर्नुभयो, सबै नील थियो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले रिभाइभ गर्न सकिन्छ कि भनेर सीपीआर (कार्डियाक पल्मनरी रिसेस्टेसन- बन्द भइसकेको मुटुलाई पुनः चलाउने प्रयास) गर्नुभयो। त्यो उहाँहरूले लगभग ४५ मिनेटसम्म कोसिस गर्नुभयो । त्यसपछि पनि रिभाइभ भएन ।’

प्रहरीले अचेत अवस्थामा अस्पताल पठाएको भने पनि अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको डा. रूपाखेतीले बताए । अस्पताल प्रशासनले सोही आधारमा ‘ब्रट डेड’ (अस्पताल ल्याउँदा मृत्यु भइसकेको) भनेर ‘डेथ सर्टिफिकेट’ (मृत्युको प्रमाणपत्र) जारी गरेको छ।

‘पछि अस्पतालका न्युरो सर्जनले पनि आएर टाउकामा लागेको चोट हेर्नुभयो, उहाँको भनाइअनुसार कुनै धार नभएको वस्तुले टाउकामा धेरैचोटि प्रहार गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘कार्कीको घाँटीमा र हातमा डोरीले बाँधेको नीलडाम र दायाँ आँखामुनि काटेको दाग छ।’

आजको कान्तिपुरमा स्वरूप आचार्य, मातृका दाहालले लेखेको समाचार अनुसार भान्सामा पिर्काजस्तो प्लास्टिकको हरियो सानो टुल टुक्राटुक्रा भएको अवस्थामा फेला परेको घटनास्थलमा सुरुदेखि खटिएकी ललितपुर परिसरकी एसपी तथा प्रवक्ता दुर्गा सिंहले बताइन्।

‘त्यहाँ एक बन्डल नाइलनको डोरी पनि फेला परेको थियो, टेबुलमाथि दुईवटा मोबाइल र कैंची थियो,’ उनले भनिन्, ‘ग्यास स्टोभमाथि आलु बसालिएको थियो । साग पनि काटेर पकाउन ठिक्क पारिएको थियो । स्टोभमा राखेको कुकरमा पनि रगतका छिटाहरू देखिएका छन् ।’

फरेन्सिक जाँचका लागि आएका चिकित्सकले मुनाको भजाइनल स्वाब र चौधरीको वीर्यको नमुना संकलन गरेका थिए। घटनास्थलमै प्रारम्भिक जाँचका क्रममा श्रीमती कार्कीले ‘सेनेटरी प्याड’ लगाएको देखिएको छ।

कार्कीको घरमा ७÷८ महिनाअघि चोरी पनि भएको थियो । त्यसपछि उनको घर–कम्पाउन्डमा चारवटा सीसीटीभीसमेत जडान गरिएको थियो।

एसएसपी राईले कार्कीको घरमा चोरी भएका बेला ललितपुरमा कार्यरत प्रायः सबै प्रहरीहरूको सरुवा भएकाले उक्त फाइल झिकाएर अनुसन्धान गरिने बताए।

‘चोरीको घटनाबारे हामीले पनि भर्खरै थाहा पाएका छौं,’ उनले भने, ‘त्यसको पनि अनुसन्धान गर्छौं । मलाई लाग्छ बढीमा ५ दिनभित्र सबै कुरा छर्लंग हुन्छ।’