सुवास नेम्वाङको अझै बोली फुटेन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सुवास नेम्वाङको अझै बोली फुटेन



काठमाडौं- प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हुँदा समेत संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ मौन बसेकोमा उनको चर्को आलोचना भैरहेको छ।

संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङ अहिले भूमिगत जस्तै छन् । सामाजिक संजालमा नेम्वाङ हराएको सुचना निकाल्नुपर्ने सम्मको टिप्पणी भैरहँदापनि उनि सार्वजनिक रूपमा बोल्न चाहेका छैनन् ।

बुधबार मात्र उनले एक कार्यक्रममा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने बताएको पुरानो भिडियो भाइरल बनेपछि नेम्वाङ झनै चर्चा र विवादको केन्द्रमा छन् ।

बुधबार नै पूर्वमन्त्री तथा कांग्रेस नेता गगन थापाले आफैले निर्माण गरेको संविधानमाथि यति ठुलो बज्रपात हुँदापनि नेम्वाङ गुप्तबास बसेको भन्दै कडा आलोचना गरेका छन्। अन्य धेरै नेता तथा सामाजिक अभियन्ताहरूले समेत उनको मौनता रहस्यमय भएको बताएका छन्।

बिहिबार पनि नागरिक समाजका अगुवाहरुले उनको खोजि गरे । नेकपा प्रचण्ड-माधव समूहले नागरिक समाजसँग बिहीबार गरेको अन्तरक्रियामा सहभागि नागरिक अगुवाले नेम्वाङको चर्को आलोचना गरे।

उनीहरुले संविधानविपरित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको गलत कदममा नेम्वाङले समेत साथ दिएको भन्दै आलोचना गरेका हुन्।

मानव अधिकारकर्मी कृष्ण पहाडीले सुवास नेम्वाङ आफूलाई भद्र नेता लाग्ने भन्दै ओलीको पक्षमा लागेर उक्त भद्रताको हत्या नगर्न आग्रह गरे। ‘खड्गप्रसाद ओली सबैभन्दा ठूलो लोकतन्त्र विरोधी र प्रतिगामी व्यक्ति हो। अब उहाँ त जानुभयो जानुभयो। तर उहाँले आफ्नो होनाहार कार्यकर्तालाइ पनि सँगै लानू भयो,’ पहाडीले भने, ‘सुवास नेम्वाङलाई म आज पनि भद्र नेता मान्छु। प्रदीप ज्ञवालीलाई पनि भद्र मान्छु। तर भद्रता खड्क प्रसादको पछाडि बित्नु भएन।’

पहाडीले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक हो भन्ने कुरा पाँच कक्षामा पढ्ने विद्यार्थीले समेत संविधान पढेर थाहा पाउँछन् भन्दै यसको पुनर्स्थापना हुनेमा आफू ढुक्क रहेको बताए।

‘विगतको तितो अनुभवलाई मध्यनजर गरेर नै विकृति अन्त्य गर्न प्रतिनिधसभा विघटन गर्न नमिल्ने गरी संविधानमा राखिएको छ। पाँच कक्षा पढेका विद्यार्थीलाइ पनि यो कदम असंवैधानिक हो भन्ने थाहा छ। त्यसकारण सर्वोच्चले यो पुनर्स्थापना गर्छ।’ उनले दलको किचलोका कारण संसद भंग हुनु भनेको अपराध हो भन्दै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले पनि नेम्वाङको आलोचना गरे। उपाध्यायले संविधान निर्माणमा संलग्न रहेका व्यक्तिले संकटको यो घडीमा आफ्नो चेतलाई मारेर मौन बस्न नहुने बताए।

‘केही साथी स्वंय आफैं संविधानको निर्माता रहेता पनि नबोली बस्नु आफ्नै स्वार्थ होला। यो संविधानको कुरा हो। जनताको कुरा हो। सत्यको कुरा हुँदा उक्त व्यक्ति बोल्नु पर्थ्यो,’ उनले भने, ‘जो आफैँ संलग्न छ त्यही व्यक्ति आज वाध्यतावस आफ्नो चेतलाई मारेर बस्नु परेको छ। तर हामी त्यस्तो अवस्थामा छैनौँ। हामी आफ्नो चेतलाइ मार्दैनौ। यो असंवैधानिक कदमका विरुद्धमा आन्दोलनमा होमिन तयार छौँ।’

राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि नेम्वाङको मौनताका विषयमा आलोचना गरे। उनले विगतमा प्रधानमन्त्रीले संसद विगटन गर्न सक्दैन भन्दै बोलेका व्यक्ति नै अहिले उक्त गलत कदममा मौन समर्थन गरिरहेको बताए। वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि नेम्वाङको मौनता माथि प्रश्न गरे।

‘प्रतिनिधिसभाको आयु छँदै अकालमै विघटन गरियो त्यो पनि धारा ७६ को घोर उल्लंघन गरेर । तर मेरा मित्र सुवास नेम्वाङ मौन हुनुहुन्छ। उहाँ बोल्नु हुन्न। भिडियो भाइरल भएको छ। तर पनि उहाँ केही बोल्नु हुन्न,’ उनले भने।

सर्वत्र नेम्वाङको खोजि बैरहेका बेला नेम्वाङ केहि नबोल्नुलाई सबैले रहस्यको रूपमा हेरेका छन् । केहिले भने उनी केपी ओली निकट भएकैले बाहिर नबोलेको बताएका छन् । कहिले भने उनी धर्मसंकटमा परेको बताएका छन् ।