चुच्चे नक्सा बिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चुच्चे नक्सा बिना छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्सा नराखेर पुरानो नक्सा छापेर बजारमा ल्याइएका पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बुधबार सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्र गर्ने प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्साअंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई भनेका छन्।

प्रकाशक र बिक्रेताले पुरानो पुस्तकको कभर परिवर्तन गरी बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘तपाईहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाईए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ मन्त्री श्रेष्ठको निर्देशन थियो।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए। उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौ।’ उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।

अधिकांस बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने जानकारी दिए।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापेको जानकारी पाएका छौं, तीमध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौं।’

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पूरानै नक्सा राखेर छपाई गरेको पाईएको छ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन र सूचीकृत प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिनसमेत निर्देशन दिए। बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ।