शत्रु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शत्रु



~नारायण तिवारी~

तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ।

“एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ हरिया र लात खानबाट बच्‍ने प्रयत्‍नमा अत्यन्त बिस्तारोसित पैताला थिच्छ, खुट्टा थिच्छ, पिठिउँ थिच्छ।

“एइ मोरा ! तेरो हातमा बल छैन कि क्या हो ! आइमाईको जस्तो के थिच्छस् ? अलिक जोडले थिच्…!” फेरि मालिकको आदेशलाई शिरोपर गर्दै अलिक कडा पार्दछ हात……

हरिया मालिक जे भन्छन् त्यही गर्छ मानौँ हरिया हरिया नभएर स्वरचालित मेसिन हो जो मालिकको जस्तो स्वर त्यस्तै क्रिया उत्पन्न गर्न सक्षम छ। तर ‘स्वरचालित’ हरियाले कहिलेकाहीँ धेरै स्वरहरूको इच्छापूर्ति गर्नुपर्दछ। जस्तो कि मालिकका ठेट्ना छोराहरू सहरबाट गाउँ आउँछन् र अनेक स्वर उत्पन्न गर्दछन्। ती सबै स्वरहरू मानौँ स्विच हुन् जो हरियामाथि थिचिएका हुन्। हरियाले ती स्विच थिचिएपछि ‘क्रिया’ उत्पन्न गर्नुपर्दछ। कहिले दिसा गर्न जाँदा लोटा बोक्ने क्रिया, कहिले नुहाउन थाल्दा कल चलाइदिने, पानी खन्याइदिने क्रिया। सिकार खेल्न जाँदा झोला बोक्ने क्रिया। भनौँ न, ती ठेट्नाको गुहु धोइदिनेबाहेक अन्य सम्पूर्ण गर्न हुने–नहुने काम गरिदिन्छ हरिया……. त्यही पनि बेलाबेला लात्ती खाने गर्दछ हरिया।

त्यसो त लात्ती मात्र पनि खाँदैन, ‘दारु’ पनि खान्छ हरिया— कहिले जेठा मालिकसँग, कहिले ठेट्ना मालिकसँग। आज पनि जेठा मालिकले खाल उठिसकेपछि उसलाई दारु खान दिए।

“बुझिस् हरिया ! तँलाई म गाली गर्छु नि, त्यसभित्र माया पनि छ, बुझिस् ?”

“बुझैछिए हजुर !” हरियालाई पनि दारु चढ्न थाल्छ।

“हजुर मेरो माइबाप सबै हो, किन नबुझ्ने…!” ऊ चाकरीको स्वतस्फूर्त स्वर बोल्छ।

“तँ मेरो घरमा यत्रो सानो छँदादेखि बसेको होइनस् ? भन् त, कसले तँलाई खुवायो–पियायो ? तेरो बाबुको छ ताकत ?”

उसले क्षणभर आफ्नो बाबुलाई सम्झियो जो मालिकको हलो जोत्दाजोत्दा टिबी लागेर मरेको थियो। उसको कन्चटमा मानौँ रिसको वेग दौडियो। बाबुको स्मृतिले ऊ बाबुप्रति भावुक बनेन बरु कठोर भयो र बोल्यो— “आफैँ सकेन खान, के पाल्छ हामीहरूलाई….!”

“तेरो यो बलियो मोटोघाटो शरीर मेरै घरको भात लागेर त हो !” मालिक बडो शालीन मुद्रामा दारुको मातसित रम्दै आफ्नो एहसान जताउँदै थिए। हरिया स्वामीभक्त कुकुरका पाराले मानौँ ‘क्वाइँक क्वाइँक….’ गर्दै पुच्छर हल्लाउँदै थियो।

“आज तँ यहीँ भात खाएर जा बुझिस् ?”

“हुन्छ सरकार !”

मालिक धेरै खुसी भएको दिन उसलाई घरमै भात ख्वाएर पठाउँथे।

त्यो दिन रक्सीले धेरै मातेकाले उसले धेरै भात खान सकेन।

भात खाइसकेपछि दस पटकभन्दा बढी पटक उसले मालिकको खुट्टा पक्ड्यो र ढोग्यो।

मालिकले पनि अनेक पटक खुट्टा ढोगेकामा अति प्रसन्न हुँदै “भयो मोरा, भयो” भन्दै गए।

अन्त्यमा आजित भएर एक लात्ती मजाले जमाइदिए। त्यसपछि मात्र खुट्टा ढोग्न छाडेर ऊ आफ्नो झुपडीतर्फ लाग्यो। उसको आँखामा आँसु थियो। मालिकका अगाडि त चुपचाप थियो तर बाटाभरि ऊ बडबडाउँदै रह्यो— “मालिक हम्रा मार्लके, मालिकले मलाई पिटे….!”

स्वास्नी उसको बाटो हेरिरहेकी थिई— स्वास्नीका नजिक त ऊ भक्कानो फुटाएर नै क्वाँक्वाँ रोयो— “मेरो मालिकले माऱ्यो…!”

स्वास्नी रामवतीले पहिले त आँखा तरी तर फेरि उसको टाउकोमा हात फिराउँदै बोली— “किन जान्छौ त त्यहाँ, नजाऊ न !”

“कथि कर्बे नइँ ज्याके, के हम्रा खाइला देते ?” (नगएर के गर्नु, कसले मलाई खान दिन्छ ?)

“खाइला होइन, पिइएला भन न….!” रामवतीले आँखा तर्दै भनी।

“हो…. हो….. ! पिउन कसले दिन्छ ?” हरियाको रुवाइको वेग मत्थर हुँदै थियो तर रुवाइ रोकिइसकेको थिएन।

“त्यो मालिक होइन, शत्रु हो हाम्रो…. !” रामवतीले गम्भीर भएर भनी।

तर यो कुराले हरिया सन्कियो— रुनधुन छोडेर अब त उल्टै स्वास्नीलाई भकुर्न पो थाल्यो।

“तैँले के देखेर शत्रु भनिस् हँ मालिकलाई ? भन् राँडी ! तेरो आज ढाड नभाँची छाड्दिनँ।”

रामवती चुपचाप कुटाइ खाँदै रही तर मुखबाट एक शब्द निकालिन। अन्त्यमा थाकेर हरिया आफैँ ढल्यो। त्यहीँ ढलेकै ठाउँमा केहीबेरपछि हरिया फ्वाँफ्वाँ गर्न थाल्यो।

रामवती छोराछोरीनजिक गई। छोराछोरीका टाउकामा हात पुऱ्याई र बल्ल आँखाबाट आँसु झारी। बाबुको आतङ्कबाट ब्यूँझिएका छोराछोरी अवाक् थिए— रुनुपर्ने हो कि होइन— किंकर्तव्यविमूढ थिए।।। !

बिहानैदेखि तासको खाल चालू थियो। आज जेठा मालिक मात्र होइन, उनका छोरा मालिक, छोराका साथी मालिक र वरपर गाउँका सज्जनवृन्दहरू क्रमशः आउँदै खालको शोभा बढाउँदै थिए। हरिया पहिले त जेठा मालिककै तलुवा थिच्तै (चाट्तै) थियो तर जेठा मालिकको इसारा पाएपछि साना मालिकहरूको हातखुट्टा मालिस गर्न थाल्यो। त्यसपछि बेलाबेला साना मालिकका साथी मालिकहरूको पनि हातखुट्टा थिचिदिने गर्न थाल्यो। तासको पत्ती फ्याँक्तै शालीन मुद्रामा जीउ, हातखुट्टा तेर्स्याएर मालिस गराउनु पनि यी मालिकहरूलाई क्या मजा !

तास खेलिरहेको ठाउँदेखि अलि पर आँगनको एक छेउमा कल थियो;  कलमा रामवती थिई। रामवती भाँडा मोल्दै थिई, लुगा धुँदै थिई। साना मालिक, साना मालिकका साथी मालिक रामवतीतिर नजर डुलाउँदै थिए— आँखा सन्काउँदै थिए।

करिब एक–डेढ बजेको हुँदो हो— साना मालिक, साथी मालिकहरू खाल छाडेर उठे।

“अब हामी सिकार खेल्न जाने !” साना मालिकले जेठा मालिकको आँखामा हेर्दै बोले।

सिकार त के भुत्रो खेल्थे— जङ्गल भए पो सिकार खेल्नु ! यसो झाडी, पोथ्रापोथ्री भएतिर चराचुरुङ्गीहरूको सिकारचाहिँ खेल्ने नै परे। जेठा मालिकले हरियालाई अराए— “तँ जा उनीहरूको टहल गर्…..!”

त्यसपछि लागे सबै सिकार खेल्न…….. बाटामा साथी मालिकले साना मालिकलाई सोधे— “त्यो अघि आँगनमा भाँडा माझ्ने आइमाई…..?”

साना मालिकले सङ्केतले चुप लाग्न भन्दै बीचैमा बोले— “त्यो त हाम्रो हरियाकी स्वास्नी हो, राम्री छ नि मोरी, हगि……?”

हरियाले आफ्नी स्वास्नीको रूपको प्रशंसामा खुसीसाथ आँखा तल झुकायो तर प्रशंसाभित्रको दुराशयको चाहिँ उसले सम्भवतः भेउ पाउन सकेन वा भेउ पाएर पनि अरूले स्विच थिच्दा चल्ने ऊ बहिरो बन्यो।

“एइ हरिया ! छोड् सिकार, आज बसेर मजाले दारु खाऔँ……!”

हरियाको मुखबाट पानी आयो। जेठा मालिकले लात्ताले गोदेपछि र उसले स्वास्नीलाई भकुरेको दिनदेखि आजसम्म उसले दारु मुखमा लगाएको थिएन। धेरै दिन भएकाले उसलाई पनि तलतल लागेको थियो।

उनीहरू हिँड्दाहिँड्दै भीमपुर चोकमा पुगे। अरू चीज नपाउन सक्छ तर दारु नपाउने ठाउँ हाम्रो नेपालमा सायदै कहीँ होला। साना मालिकका साथी मालिकको निधारमा यो चिन्ता देखिए पनि समाधान तुरुन्तै भेटियो। भीमपुर चौकमा दारुका घरेलु पसलहरूको कमी थिएन। पसे एउटा घरेलु पसलभित्र !

अरू पसलमा होस्नहोस्, दारुपसलमा बिक्रेता केटीहरू बसेकै हुन्छन् हाम्रो नेपालमा। साना मालिक, साथी मालिक, हरिया सबैसबैले दिल खोलेर खाए रक्सी, मासु। मालिक खाल केटीहरूसित ठट्टा गर्न, केटीहरूका हात समात्न, मौका परे अर्थोक पनि समात्ने प्रयत्नमा लाग्दा भए। हरिया भने दारुको हरहर मेट्नमा तल्लीन थियो। मालिकहरू आज हरियाप्रति अलि बढ्ता नै उदार बनेका थिए। आफूहरूले संयमपूर्वक पिए पनि हरियालाई धोक्नसम्म धोक्न दिनबाट रोकेनन्, बरु प्रेरित गर्दा भए।

साँझसाँझ पऱ्यो, उनीहरू उठेनन्। रातरात पऱ्यो, उनीहरू उठेनन्। होला करिब नौ बजेतिर मात्र उनीहरू उठेका…!

“एइ हरिया ! तँलाई धेरै लागेछ, हिँड् हामी पुऱ्याइदिन्छौँ।” हरिया लल्याकलुलुक थियो— एउटा खुट्टा यहाँ अर्को खुट्टा उहाँ टेक्थ्यो। साना मालिक र साथी मालिकहरूले पालैपालो हरियाको पाखुरा पक्रिएर डोऱ्याए।

हरियाको शरीरमात्र शिथिल थियो, हृदय शिथिल थिएन। त्यसैले ऊ भावुक हुँदै बोल्दै थियो— “मालिक ! आहाँ सब हम्रा खूब माया करैछिए। और रहतिए त हम्रा छोड् देतिए। अहीँ सब छिए जे हम्रो बोएक के घर पुँगादेइछिए…..!”

रामवतीले टाढैबाट देखी हरियालाई। साना मालिक, साना मालिकका साथी मालिकहरूले हरियालाई मानौँ घिसार्दै छन्— रामवतीले देखी।

‘आज पनि धोकेर आयो।’ रामवती चिन्तित थिई।

“एइ हरिया ! तेरो घर आइपुग्यो।” साना मालिकले बोले। साना मालिकले रामवतीलाई निलुँलाजत्तिकै गरी हेरे। रामवतीलाई डर लागेन। जसरी लोग्नेले उसलाई पिट्दा उसमा प्रतिक्रिया उत्पन्न हुँदैन त्यसै गरी मालिकको डरलाग्दो हेराइमा पनि ऊ प्रतिक्रियाविहीन थिई।

“ला, तेरो लोग्नेलाई सुता।” हरियालाई झुपडीभित्र साना मालिकले नै डोऱ्याए। साथसाथै डोऱ्याउने रामवतीलाई पनि च्याप्तै थिए साना मालिक !

साना मालिकका साथी मालिक पिँढीमा बसे जहाँ हरिया र रामवतीका छोराछोरी पनि सुतिरहेका थिए।

भित्र हरिया उत्तानो पल्टियो। उसका आँखा खुला थिए। बोल्दाबोल्दा उसको स्वर नातागत मधुरो भइसकेको थियो। उसले जे बोले पनि कसैले सुन्न सक्ने अवस्था थिएन। साना मालिक रामवतीमाथि सवार भइसकेका थिए। रामवती पुनः प्रतिक्रियाविहीन थिई र घरीघरी हरियाको आँखामा आँखा गाडेर हेर्दथी, मानौँ सोध्न खोजिरहेकी होस्— ‘भन ! तिम्री स्वास्नी लुटिँदै छे— तिम्रो मालिक शत्रु हो कि मित्र हो ? भन, किन बोल्दैनौ— तिम्रै अगाडि तिम्रो स्वास्नीको बलात्कार हुँदै छ ! अझै किन जाग्दैनौ…..?’

-0-