नयाँ संक्रमितमा जटिल लक्षणहरू भेटिए, अवस्था चिन्ताजनक छ: प्रवक्ता गौतम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नयाँ संक्रमितमा जटिल लक्षणहरू भेटिए, अवस्था चिन्ताजनक छ: प्रवक्ता गौतम



काठमाडौं- सरकारले पछिल्लो समय देखिएका नयाँ भेरियन्टका कोरोना संक्रमित व्यक्तिहरूमा जटिल लक्षणहरू देखिएकोले अवस्था चिन्ताजनाक बनेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अहिले संक्रमण भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेका छन् । त्यसैले बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

गौतमले भनेका छन्, ‘उस्तै भए पनि संक्रमितहरूलाई जटिल लक्षण देखिराखेको छन् । संक्रमण भएकाहरूमा जटिल लक्षण धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका व्यक्तिहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

प्रवक्ता गौतमले गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि बताए । गतवर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको स्मरण गर्दै उनले अहिले सबैलाई रोगको संक्रमण, उपचारको बारेमा थाहा भएकाले समस्या नहुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रवक्ता गौतमले भिडभाडले कोरोना संक्रमण फैलिने भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुने रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)लाई सिफारिस गरेको बताए । विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस पनि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनको भनाइ छ ।