'नायक'का अनिल कपूर शैलीमा प्रेम आले ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘नायक’का अनिल कपूर शैलीमा प्रेम आले !



सन् २००१ को सेप्टेम्बरमा रिलिज भएको हिन्दी चलचित्र ‘नायक’को चर्चा अहिलेसम्म पनि सेलाएको छैन । चलचित्रमा अभिनेता अनिल कपूर १ दिनको मुख्यमन्त्री बन्छन् । मुख्यमन्त्री बनेको चौबिस घण्टामा उनले केके गरे, त्यो अधिकांश नेपाली दर्शकले हेरेका छन् ।

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए । एक अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री बलराज चौहानले शिवजी रावलाई एक दिन मुख्यमन्त्री बनेर काम गर्ने चुनौती दिए ।

अध्यादेशमार्फत कानूनी जटिलता फुकाएर शिवाजी रावलाई एक दिनको मुख्यमन्त्री बनाइएको थियो । मुख्यमन्त्रीका रूपमा अनिल कपूरको प्रस्तुती दमदार थियो नै, उनले आफ्नो चरित्रमार्फत भारतीय राजनीतिमा हुने सबैखालका भ्रष्टाचार, साम, दाम, दण्ड र भेदको खुलासा गरिदिए । दिन सकिनै लाग्दा भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री बलराज चौहानलाई नै जेलमा हालिदिए ।

नायक फिल्मको चर्चा नेपाली राजनीतिमा पनि बेलाबखत हुने गर्छ । शान्तिप्रक्रियामा आएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय आन्तरिक प्रशिक्षणमा आफूले चान्स पाए नायकमा अनिल कपूरले जस्तै काम गरेर देखाउने बताउने गर्थे ।

त्यसयता प्रचण्ड पटक-पटक प्रधानमन्त्री पनि भए, उनमा नायकत्व भने आएन ।

भारतमा नायक रिलिज भएको २१ वर्षपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अनिल कपूरको छबी ‘कपी’ गर्न खोजेका छन् । आइतवार उनी पशुपति क्षेत्रभित्र रहेको मैत्री धर्मशालामा निरीक्षण गर्न जाँदा धेरैले अनिल कपूरलाई सम्झेको हुनुपर्छ ।

पशुपति क्षेत्रभित्र भारतको सहयोगमा बनेको धर्मशाला निजी व्यवसायीक कम्पनी समूह बतासलाई यसअघिको सरकारले लीजमा दिएको थियो ।

तीर्थाटन गर्न आउने पर्यटकलाई सहज र सस्तो खाना र बसोबासको बन्दोबस्त गर्ने गरी भाडामा दिइएको भनिएता पनि त्यहाँ विकास गरिएका संरचना सेभेन स्टार होटेलको जस्तो रहेको आलेले निरीक्षणका क्रममा सञ्चारमाध्यमहरूलाई बताए ।

आले निरीक्षणमा जाँदा सञ्चारकर्मीहरू अघिपछि थिए । त्यही धर्मशाला छानबिन गर्न गठित समितिका प्रतिनिधिहरू दायाँ बायाँ थिए । बेलाबेलामा आलेले सोध्ने गर्थे, ‘उ त्यो संरचना कानूनी रूपमा बनाइएको हो कि गैरकानूनी ?’ कर्मचारीहरूको जवाफ हुने गर्थ्यो, ‘खै, म आउनु भन्दा अघि बनेको हो ।’

त्यसपछि आले जंगिए । ‘जसको पालामा बनेपनि त्यो कानूनी हो कि गैर-कानूनी ?’ छानबिन समितिका एक सदस्य हस्याङ-फस्याङ गर्दै नजिकै आएर भने, ‘गैर-कानूनी हो हजुर ।’

धर्मशालामा गाडीको शो-रूम देखि गहना पसलसम्म थिए । उच्च वर्गका लागि बनाइएको जस्तो देखिने संरचनाहरू देखेपछि आलेले भने, ‘यो त धर्मशाला होइन, सेभेन स्टार होटेल पो रहेछ ।’

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र बनाइएको धर्मशालालाई ‘सेभेन स्टार होटेल’मा रुपान्तरण गरेको थियो बतास समूहले । यसअघि नारायणहिटी दरबार संग्राहलयभित्र पनि आलेले यस्तै गरी निरीक्षण गरेका थिए ।

क्याफ्टेरिया संचालन गर्न लिइएको ६ आना जग्गा मात्र होइन, आलेले १४ रोपनी जग्गा अतिक्रमण भएको भेटाए । त्यसपछि उनले आफैं ती संरचना भत्काए । त्यससम्बन्धी गठन गरिएको छानबिन समितिले प्रतिवेदन दिइसकेको छ । छानबिन प्रतिवेदन सार्वजनिक भएपछि नारायणहिटी दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार रेष्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि विवादित बनेका उनले राजीनामा दिएका थिए । ठेक्का प्रकरणमा उनी सामेल रहेको प्रतिवेदनले बताएको थियो । सहसचिव लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामै गडबडी भएको निचोड निकालेको थियो ।

सो प्रकरणबारे छानबिन गर्न लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार २१ पेज लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।

पशुपति क्षेत्रमा स्थापना गरिएको धर्मशालामा अवैध संरचना स्थापना भएको भन्दै गत शुक्रवार मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो ।

नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको उक्त समितिले सोमवार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।

आज निरीक्षणका क्रममा आलेले धर्मशालाभित्र अवैध गतिविधि भएको र त्यसको छानबिन भइसकेको बताए । ‘भोलि सार्वजनिक हुने प्रतिवेदनले दूधको दूध र पानीको पानी ल्याउनेछ,’ आलेले भने ।

उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ । धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले पनि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

आलेको पूर्व पर्यटनमन्त्री योगेश भट्टराईसँग पनि टसल परेको छ । भट्टराईले आलेलाई लन्डनबाट नेपाल आउँदा रक्सी र रोलेक्स घडी ल्याएको आरोप लगाएका थिए । आलेले त्यसको प्रतिवाद गर्दै उल्टै भट्टराई हतियार तस्करीमा लागेको आरोप लगाए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालामा पशुपतिको धर्मशाला आनन्द समूहलाई भाडामा दिइएको थियो भने भट्टराई विभागीय मन्त्री थिए । भट्टराईले बतास समूहसँग आफ्नो कुनै साइनो नरहेको बताउँदै आइरहेका छन् ।
यत्तिकैमा रोकिने आलेको छाँट छैन । उनले देशभरिका ऐतिहासिक, पर्यटकीय क्षेत्रमा निजी व्यवसायीक समूहले गरेको लूटको पर्दाफास गर्ने गरी आले अघि बढेका छन् । आलेले आफ्नो पछिल्ला गतिविधिहरूबाट नायक चलचित्रका अनिल कपूरको याद दिलाएका छन् ।