'जबज'मै पिएचडी गरेका बेदुराम नेकपा एसको महासचिव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘जबज’मै पिएचडी गरेका बेदुराम नेकपा एसको महासचिव



काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बेदुराम भुसाल बनेका छन् । लामो समय एमाले स्कुल विभाग हाँकेका नेता भुसाललाई नवगठित नेकपा एएसले पार्टी महासचिव बनाएपछि उनको अहिले चर्चा भैरहेको छ ।

२०११ साल असार १५ मा अर्घाखाँचीमा जन्मिएका भुसालले १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा लागेका थिए । उनी २०४७ सालमा तत्कालीन मालेको जिल्ला सचिव हुँदै नेतृत्वमा आएका हुन् । तत्कालीन माले र मार्क्सवादी एकीकरणपछि बनेको एमालेको केन्द्रीय विभागमा सचिव रहँदै आएका भुसाल नवौँ महाधिवेशनमा सचिवमा पराजित भए पनि पोलिटब्युरो सदस्य चयन भएका थिए ।

२०५८ र २०७६ मा गरी दुई पटक राष्ट्रियसभा सदस्य बनेका उनी २०६३ मा अन्तरिम विधायकसमेत रहेका थिए । मार्क्सवादको अध्येताका रूपमा परिचय बनाएका उनीसँग पाँच वर्ष एमालेको स्कुल विभाग हाँकेको अनुभव छ ।

१९ वर्षको उमेरमा ८ कक्षा पढ्दै गर्दा जेल परेका भुसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे । साढे १२ वर्ष जेल बस्दा उनले एसएलसीदेखि एमएसम्मको पढाइ पूरा गरे । जेलमा पढाइको व्यवस्था थिएन । आफैँ पढेर उनले एमए उत्तीर्ण गरेका हुन् ।

भुसालले जबजको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका छन् । संयोग, जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्ने भेनेको एकीकृत समाजवादीले जबजको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका भुसाललाई महासचिव चयन गरेको छ । एमालेको नवौँ महाधिवेशनमा सचिवमा पराजित भुसाल एमाले-माओवादी केन्द्र एकतापछि स्थायी कमिटी सदस्य बनेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका खास सल्लाहकार बनेर चिनिएका भुसाल नयाँ पार्टी गठनलगत्तै राष्ट्रियसभा दलका नेता चयन भएका थिए ।

नेता भुसालले दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका छन् । मार्क्सवादको विकास कसरी भयो, प्रयोग कसरी गरिएको छ ? नेपालमा कसरी आइपुग्यो ? जनताको बहुदलीय जनवाद के हो ? नेपाली राजनीतिमा यसको कस्तो प्रभाव छ ? भन्नेमा आफ्नो शोध केन्द्रित रहेको उनी बताउँछन् ।