इतिहास बनाउने अवसरबाट नेपाल चुक्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इतिहास बनाउने अवसरबाट नेपाल चुक्यो



काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ। योसँगै पहिलो खेलमा भोगेको हारको बदला लिँदै पहिलो पटक टेष्ट राष्ट्रलाई पराजित गर्ने अवसरबाटसमेत नेपाल चुकेको छ।

जिम्बाब्वेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर मात्र १ सय २० रन बनाउन सक्यो। खराब सुरुवात गरेको नेपालले पहिलो ओभरमा टोली १ रनको स्थितीमा हुँदा पवन सर्राफलाई शुन्य रनमा गुमाएको थियो। त्यस्तै दोस्रो ओभरको चौथो बलमा नेपाल ६ रनको स्थितीमा रहँदा ४ रनमा खेलीरहेका उपकप्तान दिपेन्द्र सिंह ऐरी टेन्डै छतराको बलमा क्याच आउट हुँदै पेभेलियन फर्किए।

छैठौं ओभरको तेस्रो बलमा कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपाललाई दबाब श्रृजना भएको थियो। दशौं ओभरको तेस्रो बलमा आरिफ सेख आउट हुँदा नेपाल ५३ रनको स्थितीमा थियो। आरिफले टोलीका लागि २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए। त्यसपछि कुसल मल्ल ५, सोमपाल कामी ७, करन केसी १८ र विनोद भण्डारी ३३ रनमा आउट भए। उनले ३४ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३३ रन जोडेका हुन्। सुसन भारी शुन्य रनमा आउट हुँदा सन्दीप लामीछाने ५ र अभिनास बोहरा ३ रनमा अविजित रहे।

जिम्बाब्वेका लागि कप्तान सेन विलियम्स र टिनोटेन्डा मुटोम्बोजीले समान दुई/दुई तथा टेन्डै छतरा, विलियम मासिङ्गे, डानीयल जाकिएल र रायन बुर्लले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो। खराब सुरुवात गरेको जिम्बाब्वेका लागि कप्तान सेन विलियम्सले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। उनले टिनोटेन्डा मुटोम्बोजीसँग मिलेर ६० रनको खाझेदारी गरेका थिए। मुटोम्बोजीले २० रनको योगदान दिए।

त्यसअघि जिम्बाब्वे पाँच ओभरमा तीन विकेट गुमाएर मात्र ३८ रनको अवस्थामा थियो। पहिलो ओभरको चौथो बलमा ब्रियन चारी सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट हुँदै पेभेलियन फर्किएका थिए। चौथो ओभरमा रेगिस चकभा ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। त्यसपछि पाँचौ ओभरको अन्तिम बलमा सन्दीपले व्यक्तिगत दोस्रो विकेटको रुपमा पिटर मूरलाई २१ रनमा पेभिलियन फर्काउँदै जिम्बाब्वेलाई दबाब राखेका थिए। यस्तै रिचमन्ड मुटुम्बामी १७ रनमा आउट भए। रायन बुर्ल २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए। त्यस्तै कप्तान पारस खड्का र अविनास बोहराले समान एक/एक विकेट लिए। नेपालले सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले हार ब्यहोरेको थियो। जिम्बाब्वेसँग नेपालको यो दोस्रो हार हो।