नेपाल अंक तालिकाको शीर्ष स्थानमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल अंक तालिकाको शीर्ष स्थानमा



त्रिकोणीय टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम सिंगापुरले जिम्बावेलाई पराजित गरेको छ।

आइतबार इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको हो। सिंगापुरले टेस्ट राष्ट्रलाई टी-२० मा हराएको यो पहिलो पटक हो।

हारसँगै जिम्बावे अंक तालिकाको दोस्रो स्थानमा झरेको छ भने नेपाल शीर्ष स्थानमा उक्लिएको छ। सिरिजको तीन वटै टिमले सुरुवती २-२ खेल खेल्दा १-१ जित हात पारेका छन्। पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित नेपालले शनिबार भएको खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो।

आइतबार सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १७७ रन मात्र जोड्न सक्यो।

जिम्बावेका लागि कप्तान सिन विलियन्सले ३५ बलमा ६६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा सिंगापुरका अमजाद महबुब र जनक प्रकाशले २-२ विकेट लिए।

त्यसअघि सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन जोड्यो। उसका लागि मनप्रित सिंहले २३ बलमा ४ चौका र १ छक्कासहित ४१ रनको योगदान दिए। यस्तै टिम डेभिडले २४ बलमा ४१ रन र रोहन रंगराजनले २२ बलमा ३९ रन जोडे। बलिङमा जिम्बावेका रायन ब्रुलले ३ विकेट लिए।

सिरिजअन्तर्गत नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ।